काठमाडौं । नेपाली कांग्रेस भित्र, नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बिषयमा सहमति जुट्न नसक्दा कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठक स्थगित भयो ।
नियमित महाधिवेशन गरे मंसिर भित्रै गर्नु पर्ने नत्र पुस भित्र विशेष महाधिवेशन गर्नु पर्ने भन्दै कांग्रेस महामन्त्री गगन थापाले अडान कायमै राखेपछि शुक्रबारको बैठक बस्न सकेन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनको माग गरेको थापा समुहलाई संस्थापन समुहले महाधिवेशन गर्ने समय भएकाले विशेष महाधिवेशन गर्न नपर्ने जवाफ फर्काइ सकेको छ । शुक्रवार बिहानैदेखि भएको प्रयासले सार्थकता नपाएपछि आइतवार दिउँसोका लागि बैठक बोलाइएको छ ।
बिहिबारको कन्द्रीय समिति बैठक बस्नु अगाडि भएको छलफलमा नियमित महाधिवेशन गर्ने भए मंसिर भित्र गर्नु पर्ने, नत्र पुस भित्र विशेष महाधिवेशन गर्नु पर्ने र बैठकबाट नै निर्वाचनको तालिका तोक्नु पर्ने माग कांग्रेस महामन्त्री गगन थापाले गरेका थिए ।
थापाले पछिल्लो समय कांग्रेसको संस्थापन पक्षलाई महाधिवेशन वा विशेष महाधिवेशनको मिति तोक्न दाबब बढाई रहेका छन् । तर संस्थापन समुहले थापालाई मंसिर भित्र महाधिवेशन गर्न नसकिने र नियमित महाधिवेशन गर्ने समय भएकाले विशेष महाधिवेशनको आवश्यकता नै नभएको बताएको छ । त्यसपछि थापा केन्द्रीय कार्यालयबाट बैठकमा प्रवेश नगरी बाहिरिए । थापा बाहिरीए पछि बिहिबारको बैठक केहि समय मात्रै बसेर शुक्रबारका लागि सारियो ।
शुक्रबार १ बजेका लागि बैठक डाकेपनि थापाले शुक्रवारको बैठक बहिस्कार गरे । बरु शुक्रबार बिहान उपसभापति धनराज गुरुङ सहित शेखर कोइराला समुहसँग गुटको बैठक बसे । त्यसपछि अर्का महामन्त्री विश्वप्रकाश शर्मासंग पनि छलफल गरे ।
शुक्रबारको बैठकमा थापा मात्रै होइन विश्व प्रकाश समेत उपस्थित भएनन् । कांग्रेसको अर्को बैठक आइतबार बस्ने गरी तय भएको छ । पार्टी भित्र देखिएका अन्तविरोधलाई छलफलका माध्यमबाट हल गर्ने गरी आइतबारका लागि बैठक सारिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
शुक्रबार गगन शेखर समुहका केहि नेताहरुसँग कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छलफल गरेका थिए । खड्काले छलफलमा मंसिर भित्र महामन्त्री थापाले महाधिवेशनको मिति तोक्नु पर्ने भनेको र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ गतेदेखि महाधिवेशन गर्न प्रस्ताव गरेको भए पनि महाधिवेशनको तयारीका लागि समय नपुग्ने भएकाले फागुन ७ गते वा बैशाखमा महाधिवशेन गर्न सकिने बताएका थिए ।
खड्काले फागुन वा बैशाखमा महाधिवेशन गर्न सकिने बताएपछि गगन–शेखर समुह थप चिढिएको हो । यो समूहले विशेष महाधिवेशनको माग राखेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना विपरीत संस्थापन पक्षले काम गरेको बताएका छन् ।
गगन शेखरसँगै कांग्रेस भित्र तेस्रो गुटका रुपमा रहेको कुन्दनराज काफ्ले लगायतको समुह पनि सक्रिय बन्दै । काफ्ले समूहले भने जलेको र ढलेको कांग्रेस र कांग्रेसको विरासतलाई कसरी उठाउने भन्दा पनि त्यसमाथि चढेर को कुर्सीमा बस्ने भन्ने प्रतिस्पर्धा भएको भन्दै उनीहरुको कदमको बिरोध गरिरहेको छ ।
कांग्रेस निर्माणका बेला पार्टी भित्र संकट ल्याउने काम भएको भन्दै पदाधिकारी सबैले राजीनामा दिएर नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बहस काफ्लेले चर्काइ रहेका छन् ।
कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुको ५४ प्रतिशत पु¥याएर विशेष महाधिवेशनको माग गरेपछि गगन र शेखर समुह अगाडि बढेपनि संस्थापन समुहको केन्द्रीय समितिमा स्पष्ट बहुमत रहेका कारण उनीहरु अल्पमतमा पर्ने देखिन्छ । चाँडै महाधिवेशन हुने र नेतृत्व परिर्वतन गर्ने महामन्त्री थापाको हुटहुटी संस्थापन पक्ष टसमस नहुँदा व्यर्थैको दौडधुप मात्रै हुने त होइन भन्ने आशंका थपिएको छ ।
