News 24 Television
कांग्रेसभित्र नेताहरु घम्साघम्सीमा, पार्टी नै दुईतिर जाने संकेत !

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद कसरी समाधान होला ? के महाधिवेशनको विवादमा रुमल्लिएको कांग्रेस विभाजनतर्फ जान पनि सक्ला त ? तमाम प्रश्न उठिरहेको बेला कांग्रेसले आफूलाई सम्हाल्दै विवाद समाधानको बाटो खोजिरहेको छ । तर, कांग्रेसमा महाधिवेशनको समयलाई लिएर चलिरहेको विवाद र हस्ताक्षरले राजनीतिक संकट भने निम्त्याइदिएको छ । 

जेनजी आन्दोलनपछि राजनीतिले कोल्टे फेरेको छ । राजनीतिक वातावरणले कोल्टे फेरेपनि राजनीतिकर्मीहरु भने प्रभुत्व जमाउने प्रयासमा जुट्दा राजनीति संक्रमणकालीन अवस्थामा जस्तै देखिन थालेको छ । कांग्रेसमा जेनजी आन्दोलनपछि शेरबहादुर देउवाले विश्राम लिएका छन् । 

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर भावुक सम्बोधनमार्फत एउटै मुली भइरहन नसक्ने भनेका देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेपनि कांग्रेसको आन्तरिक विवाद र महाधिवेशनको समय तोक्ने विषयले केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित हुन पुग्यो । 

विवाद चलिरहेको बेला महाधिवेशनको समयावधी तोक्ने विषयलाई सहमति जुटाउने काम गर्नुपर्नेमा जोड दिन थालिएको छ । छलफल तीब्रताका साथ क्यालेन्डरको पर्खाईमा  देखिन्छ । 

अहिले पनि इतर पक्षले पुस १६ गतेलाई प्राथमिकताका साथ महाधिवेशनको उचित समय भनिरहेको छ । यता, संस्थापन पक्षले आगामी वैशाख महिनामा मात्रै महाधिवेशन उचित हुनेगरि छलफल अघि बढाइरहेको छ । तर, सहमति जुट्नै सकिरहेको छैन ।

महाधिवेशन फागुनमा गर्ने गरि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गर्ने भनेपछि महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समिति बैठक नै बहिस्कार गरे । बैठक बहिस्कार गरेपछि उनी पक्षका नेताहरुले पनि यसलाई मलजल गर्ने कोसिस भने गरिरहेका छन् । 

महाधिवेशन निर्वाचन अघि वा पछि भन्ने विवाद चलिरहेकै बेला जारी बैठकले निष्कर्ष निकाल्न भने सकेको देखिन्न । यस्तोमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि अधिकत्तम प्रयास गर्ने भन्दै निर्णय केन्द्रीय समितिबाट हुनेमा विश्वास व्यक्त गर्छन् । कांग्रेसमा सहमतिको प्रयासले सार्थकता पाउला ? आम चासो बढिरहेको बेला कतिपयले त यहि गतिमा परिस्थिति रहिरहे कांग्रेस नै फुट्नसक्नेसम्मको चर्चा समेत गरिरहेका छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन वा निर्वाचन अघि नियमित महाधिवेशन गर्नुपर्ने भन्दै दबाब बढाइरहेकाबेला कांग्रेस विभाजनको विषय सम्भव नरहेको दाबी शर्माले गरिरहेका छन् । 

कांग्रेस लोकतान्त्रिक विधिबाट चल्ने दाबी गरिन्छ । यस्तोमा कांग्रेसले नियमित महाधिवेशन गर्ने समय समेत नजिक आइसकेको छ । तर, विशेष परिस्थितिमा विधानले नै दिने समय थपेर केहि समय घर्काउने र निर्वाचनपछि महाधिवेशन गर्ने विषयले संस्थापन पक्षलाई लाभ हुने स्थिति देखिन्छ । यता, इतर पक्षले निर्वाचन अघि नै महाधिवेशन गर्नसके लाभ हुने र शक्ति सञ्चयमा समेत अघि बढ्न सकिने देखेकाले महाधिवेशनको विषयलाई जोड दिइरहेको छ । 

जेनजी भावनाको राजनीति

जेनजी आन्दोलनपछि महामन्त्रीद्वयले राजनीतिक लाभ लिने प्रयासलाई जोड दिन थालेका छन् । कांग्रेस सभापति देउवाले नै आफू अर्को महाधिवेशनमा नेतृत्व गर्ने दाबी नगर्ने भन्दै भनिसकेको बेला अहिले महामन्त्रीद्वयलाई जेनजीको भावना समेट्ने नाममै भएपनि राजनीतिक लाभ लिने अवसर देखिन्छ । तर, यहि विषय बुझेको संस्थापन पक्षले महाधिवेशन धकेल्ने र आफ्नो बसमा पार्ने गरि अघि बढ्न खोजेको देखिन्छ । 

यसरी हेर्दा कांग्रेसमा विभाजन समेत हुन सक्ने चेतावनी र हल्लाहरु चलाउने गरिन्छ । यद्दपि, कांग्रेस प्राय संस्थागत बोलबोलाई अनुसार चल्ने प्रवृतिको पार्टी भएकाले अब परिस्थिति ठ्क्कै के कस्तो बन्ने छ भन्ने कुरा संस्थापनको कदमले निक्र्यौल गर्ने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update