News 24 Television
जनार्दन फेरि खैलाबैलामा, प्रचण्ड बम्किए, विप्लव कनेक्सनले लफडा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा केहि शालिनता र केहि तनावपूर्ण स्थिति बन्यो । उपमहासचिवको भूमिकामा समेत रहिसकेका महाधिवेशन आयोजक समिति सदस्य जनार्दन शर्माले नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकता मान्य नहुने भन्दै आफ्ना कुरा राखेर बाहिरिए । तर, माओवादी केन्द्रले सांगठनिकबाहेकका विषयमा एकता निश्चित भएको भनेको छ । यो सबै अवस्थाले के माओवादी केन्द्रभित्र पनि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ? 

माओवादी केन्द्रसंग पार्टी एकता गर्ने भन्दै नेकपा एकीकृत समाजवादीले निर्णय गर्दा यसको सकारात्मक र नकारात्मक दुवै प्रभाव माओवादीमा देखिन थालेको छ । नेकपा एसले माओवादी केन्द्रसंग पार्टी एकताको निर्णयले नेकपा एसको विभाजन औपचारिक रुपमा हुनमात्रै बाँकी छ, भने माधव नेपाले पार्टी एकताको निर्णय गराइसकेका छन् । 

नेकपा एसले यस्तो निर्णय गरेपछि विवाद माओवादी केन्द्रमा समेत फैलिएको छ । नेकपा एससंगको पार्टी एकतालाई माओवादी केन्द्रका उपमहासचिव नै रहेका अर्थात हाल महाधिवेशन आयोजक समिति सदस्य जनार्दन शर्माले मान्य नहुने चेतावनी दिदै बाहिरिए । 

जनार्दनले लिखित प्रस्ताव नै राखेका छन् । उनले लिखित प्रस्तावमा माओवादी विचारधारा छाड्ने विषयलाई समेत केन्द्रमा राखेका छन् । यता, आफ्ना कुरा राखेर सचिवालय बैठकबाट बाहिरिएका जनार्दनबारे संयोजक प्रचण्डले तीतो टिप्पणी गरेका छन् । 

आफैले तितो टिप्पणी गरेपनि जनार्दन सहमतिमा आउने विश्वास पनि देखिन्छन्, प्रचण्ड ।  पार्टी एकतालाई निर्णायक मोडमा लैजान माओवादी केन्द्रले कार्तिक १७ गतेका लागि विघटित केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकले आवश्यक निर्णय लिने बताइएको छ । नेकपा एससहितका अन्य पार्टी, घटक, समूह र व्यक्तिलाई समेटेर एकतामा जाने माओवादीले जनाएको छ । तर, माओवादी भित्र जनार्दन शर्मासहितका केहि नेताहरुले भने विद्रोह गर्ने तयारी गरिरहेको दाबी गरिएको छ । 

के गर्लान् जनार्दन ?

जनार्दन शर्माले माओवादी केन्द्रभित्रको आन्तरिक राजनीतिमा हंगामा नै मच्चाइदिएका   छन् । शुरुवाती समयमा माओवादी केन्द्रको उपमहासचिव पद नै लामो समयसम्म अस्वीकार गरेका उनले अचेल फेरि पार्टीभित्र अनेक प्रयास गरिरहे पनि शनिवार बसेको सचिवालय बैठकको मान्युटमा भने हस्ताक्षर गरेका छन् । 

केन्द्रीय समिति बैठकमा उपस्थिति हुने भन्दै बाहिरिएका जनार्दनलाई पार्टी विभाजनमा नै जाने स्थिति बनेमा सुदन किरातिसहित उनका नातेदार तथा भाइहरुले समर्थन गर्ने दाबी गर्ने गरिएको छ । 

उसोतः जनार्दनसहित घनश्याम भुसाल, विप्लवसहितका नेताहरुले वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै आन्तरिक छलफल गरिरहेको र पार्टी विभाजनमा समेत जाने खतरा रहेको समेत भन्ने गरिन्छ । यद्दपि, जनार्दनले निराशा र महत्वकांक्षामा ठेस लागेको महशुस गरेमाबाहेक पार्टीभित्रै प्रतिपक्षीको सानो भूमिका निर्वाह गर्ने विश्लेषण समेत भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update