काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलहरु पुर्नगठन र रुपान्तरण अभियानमा छन् । दलहरुबीच एकता र ध्रुवीकरण तीब्र छ ।
यहिबीचमा नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी माओवादीसँग एकताको घोषणासँगै झलनाथ खनाल समूह अलग भएका छन् भने एकताको निर्णयले माओवादी केन्द्रमा पनि खैलाबैला भएको छ । यहिबीचमा नेकपा एमालेले भने पार्टीको आगामी ११ औं महाधिवेशनको तयारी थालेको छ ।
जेनजी आन्दोलनले राजनीतिक परिस्थिति नै बदलिएको छ । दलहरुलाई रुपान्तरण र पुर्नगठनको बाध्यता छ । जेनजी आन्दोलनको मर्मअनुसार अघि बढ्नै पर्ने बाध्यतामा दलहरु छन् । यहिबीचमा आगामी फागुन २१ गते निर्वाचन लक्षित संगठन निर्माण तथा गठन पुर्नगठन गर्नैपर्ने अवस्थामा दलहरु छन् ।
दलहरु पुनर्गठन र रुपान्तरणको बहसकाबीच प्रमुख तीन ठूला दलहरु नै आन्तरिक विवादको चपेटामा छन् । एकता र ध्रुवीकरणको क्रम चलिरहँदा दलहरुको एकतासँगै फुटको खतरा पनि उत्तिकै छ । यद्यपि तीन ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र पार्टीको नयाँ नीति र नेतृत्व चयनका लागि महाधिवेशनको बाटोमा छन् ।
महाधिवेशनकै रस्साकस्सीले नेपाली कांग्रेसभित्र बबण्डर मच्चिएको छ । माओवादी केन्द्र महाधिवेशनसँगै विभिन्न दलहरुलाई एकतामा ल्याउने प्रक्रियामा छ । एकतामा ल्याउने प्रक्रियाका क्रममा माओवादीभित्र पनि लफडा उस्तै छ । सबै भन्दा पहिले ११ औं महाधिवेशनको निर्णय गरेको एमाले भने महाधिवेशनको तयारीमा जुटिसकेको छ । आगामी मंसिर २७ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको एमालेले महाधिवेशन प्रतिनिधि छनोट कसरी गर्ने भन्ने समेत निर्णय गरिसकेको छ ।
महाधिवेशन काठमाडौंमा, १२ सय सदस्य बराबर एक प्रतिनिधि
शनिवार बसेको एमाले सचिवालय वैठकले महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौंमा नै गर्ने निर्णय गरेको छ ।बैठकमा महाधिवेशनको एजेण्डा, प्रतिनिधि छनोट, संसद पुर्नस्थापना, एमालेलाई मुल घर मानेर विगतमा राजनीति गरेका नेता कार्यकर्ताहरुलाई एमालेमा फर्कीन अपिल गर्ने लगायतका बिषयमा छलफल भएको छ । बैठकले महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड बनाएको छ । १२ सय पार्टी सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने एमालेले निर्णयको छ ।
पार्टीका अनुसार हाल देशभर ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्य छन् । एमालेले प्र्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिवार देशभर एकैसाथ गर्ने र, मंसिर १५ गते साँझसम्म प्रतिनिधिहरुको विवरण केन्द्रिय कार्यालयमा पठाइसक्नुपर्ने निर्णय गरेको छ ।
माधव माओवादीसँग, एमालेतिर हात बढाउँदै झलनाथ
एमालेबाट फुटेर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एस र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र बीच एकता हुने भनिएको छ । यस बिषयले पनि एमाले सचिवालयको छलफलमा प्रवेश पाएको छ । सचिवालय बैठकबाट एमालेमा नै फर्कीनका लागि अपिल गर्ने समेत निर्णय भएको छ । समाजवादीका नेताहरु मात्रै नभएर विगतमा एमालेमा रहेका र पार्टी निर्माणमा योग्न पु¥याएका तर अहिले विभिन्न वामपन्थी दलहरुमा रहेका वामपन्थी नेताहरुलाई एमालेमा ल्याउने बिषयमा समेत छलफल भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत शुक्रबार बेलुकी समाजवादीमा रहेका नेता तथा कार्यकतालाई एमालेमा फर्कीन समाजिक सञ्जालबाटै अपिल गरेका थिए । ओलीको अपिल पछि विगतमा एमालेमा रहेका तर अहिले अरु दलमा रहेका नेताहरुले एमालेमा फर्क भनेर मात्रै नहुने ढोका राम्रो संग खोल्नु पर्ने र उचित वातावरण बनेमा फर्किन सक्ने झलनाथ खनालको भनाई छ ।
यस भन्दा अगाडी भएको एमाले केन्द्रीय समिति बैठकमा पार्टीले संसद पुर्न स्थापनाका लागि पहल गर्ने र निर्वाचनको तयारीका लागि पनि लाग्ने निर्णय भएको थियो । तर पछिल्लो समय निर्वाचन बहिस्कार गर्दै संसद पुर्न स्थापना गर्ने भनेर कतिपय जिम्मेवार नेताहरुले समेत बोल्दै हिडेको भन्दै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले बैठकमै असहमति राखेका थिए ।
पोखरेलले निर्वाचन भएमा निर्वाचनमा एमाले जानुपर्ने धारणा राखेका थिए । बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण गर्नुपर्ने, आगामी महाधिवेशनबाट नेतृत्व परिर्वतनको सन्देश दिनु पर्ने बिषयले समेत प्रवेश पाएको थियो । एमाले सचिव योगेश भट्टराईले बैठकमा जनता माझ एमालेको बिषयमा गलत सन्देश गैरहेको भन्दै यस बिषयमा गम्भिर हुनु पर्ने बताएका थिए ।
