News 24 Television
शेखर–गगनको पार्टीभित्रै विद्रोह, चुनावपछि महाधिवेशन अस्वीकार्य

काठमाडौं । जेनजी आन्दोलनपछि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्दै नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गरेपनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन वा बैशाखमा नियमित महाधिवेशन हुने बताएपछि कांग्रेसमा किचलो जारी छ । 

शेखर–गगन समूहले निरन्तर बहिस्कार गर्दै आएको केन्द्रीय समिति बैठक मंगलवार बस्दै गर्दा महाधिवेशन प्रतिनिधिहरुले छुट्टै भेलामार्फत् चाँडै मिति तोक्न वा विशेष महाधिवेशनमा जान चेतावनी दिए । 

थापागाउँमा मंगलबार नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर संकलन गरी बुझाएका महाधिवेशन प्रतिनिधिहरु भेला भए । 

थापागाउँमा महाधिवेशन प्रतिनिधिहरुको भेला हुँदै गर्दा सानेपास्थित कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा भने केन्द्रीय समितिको बैठक बसिरहेको थियो । 

शुक्रबारदेखि निरन्तर स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक मंगलबार मात्रै बस्यो । तर महाधिवेशन प्रतिधिहरुले भने थापागाउँबाट मंसिर भित्रै नियमित महाधिवेशन गर्न वा पुस भित्र विशेष महाधिवेशन गर्नु पर्ने सन्देश पठाए । 

थापागाउँमा भएका महाधिवशेन प्रतिनिधिहरुको भेलामा समेत विशेष महाधिवेशन ७० दिन भित्र लेखेको ब्यानर झुण्ड्याउँदै अप्रत्यक्ष दबाब सिर्जना गर्न खोजिएको देखिन्थ्यो । 

भेलामा सहभागी भएका प्रतिनिधिहरुले समेत केन्द्रीय समिति महाधिवेशन प्रतिनिधिको भावना अनुसार चल्नु पर्ने बताएका छन् ।  

उता मंगलबार बसेको कांग्रेस केन्दीय समिति बैठकमा मंसिर भित्रै नियमित महाधिवेशन गर्नु पर्ने प्रस्ताव राखेका महामन्त्री गगन थापाले चुनाव अगाडि नै जसरी पनि महाविधेशन गर्नु पर्ने अडान राखेका छन् । 

उनले जेनजी आन्दोलन अघि र पछिको नेपालमा ठूलो अन्तर आइसकेको जिकिर गर्दै उक्त आन्दोलन नेपाली कांग्रेसविरुद्ध पनि भएको बताए । 

त्यसैले निर्वाचन अघि नै महाविधिवेशनभन्दा अरु सोच्न नसकिने उनको भनाइ छ । त्यस्तै उनले पुस १६ गते देखि १९ गते सम्म १५ औं महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गरे । तर कांग्रेसका सहमहामन्त्री महिन्द्र यादवले भने निर्वाचन पछि बैशाखमा २७ देखि २९ गते सम्म गर्न सकिने भन्दै कार्यतालिका पेश गरेका छन् । 

यो बिषयमा बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी नै छ । तर थापागाउँमा भेला भएका महाधिवेशन प्रतिनिधिहरुले भने निर्वाचनपछि महाधिवेशन गर्दा पार्टीले क्षति व्यहोर्ने भन्दै तत्काल महाधिवेशनको मिति तोक्नु पर्ने होइन भने विशेष महाधिवेशन गर्नु पर्ने अडान लिएका छन् ।

विशेष भेला आयोजना गरेर तत्काल महाधिवेशनको मिति तोक्न वा विशेष महाधिवेशन गर्न दबाब दिएका महाधिवेशन प्रतिनिधिहरुले केन्द्रीय समितिले महाधिवेशन प्रतिनिधिको भावना विपरीत निर्णय गरेर अगाडी बढेमा यसले कांग्रसलाई ठूलो क्षति पुग्ने चेतावनी दिएका छन् । उनीहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिलाइ पन्छाएर अगाडि बढ्ने कल्पना पनि नगर्न केन्द्रीय समितिलाई सुझाव दिएका छन् । 

केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहित डा. शेखर कोइराला समुहले महाधिवेशन प्रतिनिधिले राखेको मागलाई बैठकमा बटमलाइन बनाएर अगाडि बढिरहेको छ भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विगतमा देउवा गुटमा रहेका नेताहरुले फागुन वा निर्वाचन पछि महाधिवेशन गर्ने बिषयलाई बटमलाइन बनाएका छन् । यसले पनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्व झन चर्केर जाने स्पष्ट देखिएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update