News 24 Television
नेता केसीद्वारा नेपाली कांग्रेसभित्र र राष्ट्रिय नीतिमा आमूल सुधारको माग

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीले पार्टीका कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै देशको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका छन् । उनले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको भर्त्सना गरेका छन्।

नेता केसीले बिहीबार एक विज्ञप्ती जारी गर्दै देश असाधारण परिस्थितिमा र गृहयुद्धउन्मुख रहेको भन्दै जेनजी प्रदर्शनका त्रफममा २८ घण्टाभित्र भएका अभूतपूर्व विध्वंशको गहिराइमा पुगेर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सत्ता र शक्ति केन्द्रमा रहनेहरूले आमजनताको निराशा, उपेक्षा र असन्तुष्टिबारे समयमै ध्यान नदिएकोले वर्तमान अवस्था आएको आरोप लगाएका छन्। पार्टीले विगतका गम्भीर त्रुटिहरू स्वीकार गर्दै क्षमा याचना गर्नुपर्ने उनको माग छ।

भ्रष्टाचार, दण्डहीनता र कुशासनको अन्त्य गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले पहल गर्नुपर्ने उनको प्रस्ताव छ। उनले पाँचसय र हजारका नोट बन्देज (Demonetise) गर्न र विदेशी बैंकमा रहेको अवैध सम्पत्ति राष्ट्रियकरण गर्न समेत माग गरेका छन्।

केसीले जेन जी आन्दोलनका न्यायोचित मागहरू (सुशासन, भ्रष्टाचारमुक्त समाज) लाई पूर्ण समर्थन गर्दै पार्टीका हरेक तहमा यो उमेर समूहलाई २५ प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने समेत बताएका छन्। साथै संवैधानिक राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद र प्रदेशसभाको सदस्य संख्या आधा घटाउने र निर्वाचन पद्धतिमा सुधार सहितको शासकीय सुधारमा कांग्रेसले अगुवाइ गर्नुपर्ने बताएका छन्।

उनले आगामी चुनावमा कांग्रेसको मार्गचित्र (Roadmap) सार्वजनिक गर्नका लागि नियमित महाधिवेशन वा विशेष महाधिवेशनको अनिवार्यतामा जोड दिएका छन्। नेता केसीले यी विषयहरूमा तत्काल सुधार नगरे देशको अवस्था झनै भयावह हुनसक्ने चेतावनी दिएका छन्, र मुलुकलाई बहुआयामिक द्वन्द्वबाट जोगाउने ऐतिहासिक नेतृत्व कांग्रेसले नै लिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update