News 24 Television
बाबुरामदेखि समीक्षा बास्कोटासम्मः नयाँ शक्ति निर्माणको दौडमा

काठमाडौं । जेनजी आन्दोलनपछि ठूला दलसँगै वैकल्पिक शक्ति निर्माणमा लागेका साना दलहरू पनि ध्रुवीकृत भइरहेका छन् । बुधबार माओवादी केन्द्र, नेकपा (एस) सहित १० वामदलले एकीकृत नेपाली कम्युनिष्ट पार्टी घोषणा गरे । त्यसपछि बिहीबार बाबुराम भट्टराई, डिपी अर्याल, जनार्दन शर्मा, समीक्षा बास्कोटालगायतका नेताहरूले वैकल्पिक शक्ति निर्माणका लागि अनौपचारिक संवाद सुरू गरेका छन् । उनीहरूले साना दल र समूहसँग मिलेर नयाँ शक्ति निर्माणको बहस अघि बढाइरहेका छन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजनमा वैकल्पिक राजनीतिक शक्तिहरुबिच ध्रुवीकरण गर्नु पर्ने भन्दै अनौपचारीक संवाद शुरु भएको छ । जेनजी आन्दोलनपछि मुलुकमा भएको थप राजनीतिक उथलपुथलले दलहरुको धु्रविकरणको बहसलाई चर्काे बनाइ रहेको छ ।

बिहिबार बानेश्वरमा भएको छलफलमा प्रगतिशील अभियानका संयोजक जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डि.पी अर्याल, कुलमान घिसिङको उज्यालो नेपाल अभियानका तर्फबाट गणेश घिसिङ, नेसपा नयाँ शक्तिकी दुर्गा सोब, मानुषी भट्टराइ, विवेकशील साझा पार्टी अध्यक्ष समीक्षा बास्कोटा लगायतका नेताहरु अनौपचारीक छलफलमा जुटेका हुन् ।

संविधान निर्माण लगत्तै माओवादी छाडेका डाक्टर बाबुराम भट्टराईले लामो समय देखि बैकल्पिक शक्तिहरु धु्रविकृत हुनु पर्ने बताउँदै आएका छन् । 

भट्राई मात्रै नभएर विवेकशील साझा पार्टीले समेत यहि बिषयलमा वकालत गरिरहेको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आगामी निर्वाचनमा जाँदा जनतामा प्रभाव पार्ने खालका नयाँ अनुहारलाई पार्टी भित्र ल्याउने प्रयास गरिरहेको छ । एकता प्रक्रियमा सहमति नभई आफुले नयाँ शक्ति निर्माण गरेर अगाडी बढ्ने जनार्दन र सुजन किरातीहरुको भनाइ छ । 

पुराना दलको बिकल्प खोज्नु पर्ने जनताले बताई रहेका बेला कसरी नयाँ शक्ति निर्माण गरेर अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा सामान्य छलफलको शुरुवात भएको छलफलमा सहभागीहरुले बताएका छन् । तत्काल पार्टी एकता गरेर जानु पर्ने भन्दा पनि बिचार र सिद्धान्तका रुपमा छलफल गरेर अगाडी बढ्ने र साझा धारणा निर्माण भएमा एक भएर अगाडी बढ्ने उनीहरुको भनाइ छ । 

जनेजी आन्दोलन पछि नयाँ शक्ति निर्माणको बाटोमा सानादेखि ठुला दल र स्वतन्त्र समुह लागि परिरहेका छन् भने अर्काेतर्फ मुलुकमा देखिएको राजनीतिक समस्या समाधान गर्नका लागि पनि बहस केन्द्रीत गर्न पनि खोजीरहेका छन् ।  

जेनजी र दलका दोस्रो तहका नेताहरुबीच बहस 

यसैबीच पछिल्लो समय जेनजी र दलका दोस्रो तहका नेताहरुले समेत मुलुकमा देखिएको राजनीतिक समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफललाई अगाडि बढाई रहेका छन् । 

बिहिबार नै बालुवाटारमा आयोजित एक कार्यक्रममा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र जेनजी समुहका प्रतिनिधिहरु बिच मुलुकमा देखापरेको राजनीतिक समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा बहस भयो । 

बहसमा जेनजीका प्रतिनिधिहरुले आन्दोलनबाट बनेको सरकार भएका कारण यो सरकारसंग निर्वाचन गराउने म्यान्डेट मात्रै नभएर सुशासनको थिति बसाल्ने म्यान्डेट पनि रहेको तर्क गरेका छन् । 

दलका दोस्रो तहका नेताहरु समेत यस बिषयमा सहमत नै देखिन्छन् । मुलुकलाई भु–राजनीतिक द्वन्द्वको चपेटाबाट कसरी जोगाउने भन्नेमा जेजनी प्रतिनिधिहरु सजग हुनु पर्ने दलका दोस्रो तहका नेताहरु बताउँछन् । 

 बहसका क्रममा जेनजी प्रतिनिधिहरुले भदौँ २३ र २४ गतेको आन्दोलनलाई नजरअन्दाज नगर्न दलहरुलाई सुझाव दिएका छन् । निर्वाचनको माहोल बनाउन सरकार र जेनजी जिम्मेवार हुनुपर्नेे दलका दोस्रो तहका नेताहरुको भनाइ छ । 

जेनजी आन्दोलन पछि राजनीतिक दलका शीर्ष नेताहरु जेनजी विरुद्ध कडा रुपमा प्रस्तुत भइ रहेपनि दोस्रो तहका नेताहरु भने नरम छन् । 

पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक समस्या समाधानका लागि पनि दलका दोस्रो तहका नेताहरुले जेनजी बिरुद्ध आगो ओकल्ने नेतृत्वलाई नै पार्टी भित्रैबाट निगरानी गरिरहेका छन् । तर अझै पनि जेनजी प्रतिनिधि र दलका दोस्रो तहका नेताहरुबीच भ्रष्ट्राचारको छानबिन सहित राज्यका निकायहरुको पुनर्गठनका बिषयमा भने सहमति हुन सकिरहेको छैन । 

उनीहरुले छलफल गरेर सहकार्यका माध्यमबाट दलका जरो गाडेका र जनताले बिकल्प खोजेका नेतृत्वलाई बिदाइ गर्न, भ्रष्ट्राचार नियन्त्रण, दोषीलाई कारबाही र सुशासन कसरी ल्याउने भन्ने बिषयमा निचोड निकालेर सहकार्यका माध्यमबाटै अगाडी बढ्नु पर्ने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update