News 24 Television
जनार्दनदेखि रास्वपालाई एक ठाउँमा ल्याउने प्रयास

काठमाडौं । जेनजी आन्दोलनअघि सम्म मिशन ८४ अभियानमा रहेका प्रमुख राजनीतिक दलहरुको यतिबेला माथा खराब भएको छ । जेनजी विद्रोहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको विकल्प खोज्नुपर्नेदेखि भ्रष्टाचारको विरुद्ध शंखघोष गरिदिएको छ । 

जसले गर्दा राजनीतिक दलहरु शक्ति सञ्जयमा लागिरहेका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १० वटा दल तथा समूहहरुले एकता घोषणा गरे लगत्तै अन्य विभिन्न विभिन्न दल तथा समूह वैकल्पिक शक्ति निर्माणमा जुटेको छ । 

कुनै पनि शक्तिले हल्लाउन नसक्ने भन्दै हुँकार दिँदै आएका केपी ओली नेतृत्वको तत्कालिन सरकारलाई मात्र होइन, जेनजी आन्दोलनले लामो समयदेखि सत्ता राजनीतिमा रमाइरहेका राजनीतिक दलहरुलाई एकै साथ हल्लाइ दियो । अहिले ती सबै दलहरु आ–आफ्नो शक्ति सञ्चयको प्रयासमा छन् । 

राजनीतिक दलहरु भित्र पुनर्गठन तथा रुपान्तरणका साथै आन्तरिक लोकतन्त्र बहस उत्कर्षमा छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन घोषणा भइसकेको र नयाँ दल दर्ता गरिसक्नुपर्ने अवधि १० दिन मात्रै बाँकी रहेको अवस्थामा कसरी अघि बढ्ने भन्ने शक्ति सञ्चय गर्ने भन्ने ध्याउन्नमा नेताहरु छन् । जसले गर्दा दलहरुबीचको ध्रुवीकरण प्रक्रिया तीब्र बनेको छ । 

अघिल्लो निर्वाचनमा एक आपसमा गठबन्धन गरेर अघि बढेका विभिन्न दलहरु विशाल शक्ति निर्माण गर्ने राजनीतिक दाउपेचमै छन् । 

यहि मेसोमा बुधबार मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न दलहरुबीच एकताको घोषणा गरी प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु एउटै पार्टीमा पार्टीमा गोलबन्ध भएका छन् । 

नयाँ वैकल्पिक शक्ति निर्माणमा जुटे बाबुराम 

प्रचण्डले १० दलबीच एकता घोषणा गरी आफूलाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने अभिब्यक्ति दिएपछि १० वर्षअघि उनैसँग छुट्टिएर वैकल्पिक शक्ति निर्माणको पहल गर्दै आएका डा. बाबुराम भट्टराई फेरि पनि नयाँ अभियानमा जुटेका छन् ।

जेनजी आन्दोलन लगत्तै अन्तरिम सरकारसँग नजिक रहेका भट्टराई जेनजीसँग पनि पनि नजिक हुने प्रयत्नमा छन् । त्यसैले जेनजी अगुवाहरुसँग अनौपचारिक संवाद गर्दै आएका भट्टराईले विहीबार जेनजी युवाहरुसँग अन्तरसंवाद आयोजना गरे । 

जहाँ उनले विगतमा आफू सरकारको नेतृत्वमा हुँदा गरेका कामको फेहरिस्त सुनाउनेदेखि भुराजनीतिक अवस्थाको बारेमा समेत चर्चा गर्न भ्याए । सबै दृष्य मात्रै नहुने र अदृष्य शक्तिहरुले काम गरिरहने भन्दै भट्टराईले युवाहरुलाई सचेत राजनीतिक पहलकद्मीका साथ अघि बढ्न सुझाए । 

जनार्दनदेखि रास्वपालाई एक ठाउँमा ल्याउने प्रयास 

भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थितिका बाबजुद जेनजी पुस्ताको माग सम्बोधन गर्ने ध्ययले भट्टराईले आफूले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नृेर्तत्व छाडेको घोषणा गरेका थिए । 

त्यस लगत्तै नयाँ शक्ति निर्माणको प्रयासमा रहेका भट्टराई जेनजी अगुवाहरुलाई मात्र  होइन, प्रचण्ड–माधवसँगको एकता अस्वीकार गरी छुट्टै अभियान घोषणा गरेका जनार्दन शर्मादेखि ७९ सालको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, पहिलो संविधानसभाको निर्वाचनपछि उदाएको विवेकशील पार्टी लगायतका शक्तिहरुलाई समेत एक ठाउँमा उभ्याउने प्रयासमा लागेका छन् । 

वैकल्पिक राजनीतिक ध्रुवीकरणको पहल स्वरुप विहीबार बाबुरामको संयोजनमा वृहत्तर ध्रुवीकरण, त्यसको स्वरुप र कार्यान्वनयका विषयमा छलफलको थालनी भएको छ ।

जहाँ प्रचण्डबाट अलग भएर प्रगतिशील अभियान घोषणा गरेका जनार्दन शर्मा र सुदन किराँती, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, कुलमान घिसिङको उज्यालो नेपाल अभियानका तर्फबाट गणेश घिसिङ, नेसपा नयाँ शक्तिकी दुर्गा सोब, बाबुराम पुत्री मानुषी भट्टराई, विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटा लगायत छलफलमा सहभागी भए । 

जेनजी आन्दोलत लगतै वैकल्पिक शक्ति निर्माणको लागि भएको प्रयासलाई सार्थकता प्रदान गर्न भट्टराईले यी शक्तिलाई एक ठाउँमा ल्याउन सकेमा अर्को बैकल्पिक शक्ति बन्ने निश्चित छ । जो ठूला राजनीतिक दलहरुका लागि चुनौति बन्ने छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update