रौतहट । किसानहरु यस वर्ष पनि प्राकृतिक प्रकोपबाट पीडित भएका छन् । असार–साउनमा धान रोप्ने बेला सुख्खा लागेपछि बढो मुस्किलले रोपेको धान असोज र कार्तिक महिनामा वर्षा भइदिँदा खेतमै डुबेर नष्ट हुँदा किसानलाई बज्रपात परेको छ ।
खेतमा धान उब्जाएर परिवार पाल्ने किसानहरु अब के गर्ने भन्ने तनावमा रहेका छन् । उनीहरुको चिन्ताको कारण हो, वेमौसमी वर्षा र वर्षाले डुबाइदिएको धानबाली ।
देशका अन्य जिल्लाहरुमा जस्तै रौतहटमा पनि गएको असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वेमौसमी वर्षाले यहाँको खेतीबालीमा धेरै ठुलो नोक्सान पुर्याएको छ ।
रौतहटमा खेतीबालीमा भएको क्षतिको ग्राफ
- कृषि ज्ञान केन्द्र रौतहटको तथ्याङक अनुसार १९ हजार ७६५ हेक्टर खेतीबाली नष्ट
- वर्षाबाट सबैभन्दा बढि धानबालीमा असर
- १७ हजार ६ सय ३८ हेक्टर क्षेत्रफलमा लगाएको धानबाली नष्ट
- १ हजार ८ सय ४ हेक्टरमा लगाएको उखुँ, ६ सय ८५ हेक्टरमा
लगाएको तरकारी, ४ सय ७ हेक्टर क्षेत्रफलमा लगाएको फलफूल नष्ट
लगातारको वर्षापछिको करिब एक हप्तैसम्म पनि धान लगायतका बालीहरु डुबेका थिए । जसले गर्दा अधिकांश बाली खेतमै काम नलाग्ने भए ।
रौतहटमा रहेका १८ वटा पालिकाहरु मध्ये सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गा भगवती गाउँपालिका लगायतमा क्षति पु¥याएको छ ।
खेतमा पानी निकासको व्यवस्था नहुँदा हिलोमा बाली ढलेर सडेको ,धानको बालामा दाना नलाग्ने, काट्न अघि नै बिग्रिएको थियो ।
यसले किसानहरूको वर्षभरको परिश्रम र लगानीमा ठूलो नोक्सान पु¥याएको छ । यस वर्ष असार श्रावण धान रोप्ने बेलामा पानी नपरेपछि किसानहरु पैसा खर्च गरेर पम्पसेट, मोटर आदिको प्रयोग गरेर खेतमा पानी लगाएर धान रोपेका थिए । जसले गर्दा किसानहरुको लगानी बढेको थियो ।
लगानी बढेपनि बाली उब्जाएर परिवार चलाउने किसानहरुको सपनालाई वर्षाको पानीले डुबाएको छ । किसानहरुले थोरैथोरै भएपनि काम लागि हाल्छकि भनेर डुबेकै धान काटेर घाममा सुकाउनु परेको थियो ।
किसानहरुले आफ्नो बालीमा क्षति पुर्याएपनि तीनै तहको सरकारले अहिलेसम्म कुनैपनि राहत तथा क्षतिपूर्तिको प्रबन्ध नगरेको गुनासो गरेका छन् ।
धेरै किसानहरुले ऋण सापटी लिएर खेतीबाली लगाएपनि बाली नष्ट भएपछि कसरी तिर्ने भनेर चिन्तामा छन् । बाली नष्ट भएपछि पशुपालनका लागि दाना र घाँसको समेत अभाव हुने किसानहरूमा चिन्ता छ ।
यस वर्ष रौहतटमा ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । वर्षाले पुर्याएको क्षतिबाट यो वर्ष जिल्लामा ४२ प्रतिशत कम धान उत्पादन हुने कार्यालयको अनुमान रहेको छ । कार्यालयका अनुसार अहिले सबै पालिकाहरुबाट समग्र क्षतिको विवरण लिइसकेको र अब प्रत्येक किसानको क्षतिका विवरण संकलन गरेर माथिल्लो निकायमा पठाउने तयारी भइरहेको छ ।
अन्न उत्पादन गरेर देशलाई पाल्ने किसान अहिले आफैं आर्थिक र मानसिक रूपमा पीडित भएका छन् । उनीहरुको यो पिडामा मलम लगाउने काम आजसम्म कुनै पनि तहको सरकारले गरेको छैन् ।
किसानको लागि सँधै अपायक रहेका राज्यका निकायले किसानहरुलाई संकटको बेला साथ दिनुपर्नेमा अहिलेसम्म ठोस राहत प्याकेज आएको छैन ।
सरकारले वेमतलबीपन तत्काल बन्द गरि किसानहरूको दिगो जीविकोपार्जनका लागि सरकारले दीर्घकालीन कृषि योजना बनाउनुपर्ने उनीहरुको माग रहेको छ ।
