News 24 Television
कुलमानदेखि जेनजीसम्मको चुनावी दृष्टि : कसको कस्तो तयारी ?

काठमाडौं । तोकिएको समयमा निर्वाचन होला ? संशयकाबीच राजनीतिक गतिविधि बढिरहेका छन् । निर्वाचन आयोग दल दर्तादेखि विभिन्न विषयको तयारीमा जुटिरहेको छ भने दलहरु समेत अनेक तयारीमा जुटिरहेका छन् । 

वैकल्पिक शक्ति निर्माणदेखि नयाँ दलहरुले गर्न थालेका अभ्यासले समेत चुनावी रौनकता भने थपिदिएको छ । तर, केहि राजनीतिक दलहरुमा मूल नेतृत्वको सवाललाई लिएर रोचक बहस समेत शुरु भएको छ । 

चुनाव फागुन २१ गतेका लागि तोकिएको छ । सरकारले विभिन्न दल, जेनजी प्रतिनिधि, पूर्वराष्ट्रपति, प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीहरुसँग सघन सम्वाद गरिरहेको छ । 

अन्तरिम सरकारले गरिरहेको चुनावी अभ्यासले नै निर्वाचन तोकिएको समयमा सम्पन्न गराउन खास समस्या देखिन्न । तर, राजनीतिक दलहरु यसका लागि तयार छन त ? प्रश्न भने उठेका छन् । यद्यपी निर्वाचन आयोगले भने निर्वाचनको तयारीदेखि विदेशमा रहेका मतदातालाई निर्वाचनमा सहभागी गराउने विषयमा मिहिन जानकारी दिन थालेको छ । 

निर्वाचन आयोगले फागुनका लागि तोकिएको निर्वाचनको ६० प्रतिशत काम सकेको दाबी गर्दै विदेशमा रहेकालाई मतदानमा सहभागी गराउन कठिन हुने बताइरहेको छ । 

यता, राजनीतिक दलमा पनि चुनावी उत्साह देखिन थालेको छ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन र नेताहरुको आवतजावतले पनि निर्वाचनको माहोल बन्दै गएको छ । 
यद्यपी दल दर्ताका लागि निर्वाचन प्रक्रियालाई बहिस्कारको रणनीति अख्तियार गर्दै आएका विप्लवले समेत समर्थन गर्नु र निर्वाचनको माहोल बन्न नसकेको टिप्पणी गर्नुले रौनकता थपिदिएको छ। 

उनले यस्तो जिकिर गरिरहँदा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताको प्रमाणपत्र नै बुझिसकेका छन भने अन्य केहि दलहरु दर्ताको तयारीमा छन् । 

दल दर्ताको रौनकता कस्तो छ त ?

१. कुलमान घिसिङ पक्ष

ऊर्जामन्त्री कुलमान घिसिङले पनि उज्यालो नेपाल पार्टीको नाममा दल दर्ताको अन्तिम तयारी गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्ने चाहना राखेका कुलमानलाई रास्वपाले ढोका बन्द गरिदिएपछि उनी आफै दल दर्ताको अन्तिम तयारीमा छन् । 

कुलमानलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’, रास्वपा छाडेकी सुमना श्रेष्ठ लगायतले साथ दिने बताइन्छ । तर यो पा्र्टीको प्रमुखमा तत्काल कुलमान नहुने समेत बताइन्छ । 

२. खगेन्द्र सुनार

खगेन्द्र सुनारले समेत निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगमा  हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन दिएका छन् । 

अन्तरिम सरकारको मन्त्री समेत बन्नलाई राष्ट्रपति कार्यालयमा सिफारिस भएर पुगेका सुनार अन्तिममा आएर मन्त्री बन्न भने पाएनन् । सामाजिक सञ्जालमा भाइरल सुनारले समेत दल दर्ता गराउँदैछन् । 

३. जेनजी दल दर्ताको प्रयास

जेनजी प्रतिनिधिहरुले समेत दल दर्ताको प्रयासहरु गरिरहेका छन् । छिन्नभिन्न रहेका उनीहरुले एकीकृत हुने प्रयास गरिरहेका छन् । 

यस्तोमा रक्षा बमको नेतृत्वमा जेनजी फ्रन्टको घोषणा समेत गरिएको छ । यसैलाई दलको मान्यता दिने वा कसैसंग सहकार्य गर्ने भन्ने छलफल चलिरहेको छ । तर, जेनजी आन्दोलनका एजेण्डा पुरा नभए निर्वाचन नै हुन नदिने चेतावनीहरु समेत सतहमा देखिन्छन् ।

वैकल्पिक शक्ति संघर्ष

वैकल्पिक राजनीतिक अभ्यासमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफुलाई अगुवा ठान्ने गरेको छ । 
चितवनमा बैठकमा जुटेको रास्वपाले राजनीतिक प्रतिवेदनमार्फत आफ्ना धारणा सार्वजनिक गरेको छ । 

जसमा रास्वपा सभापति रवि लामिछानेले जेलबाटै अघि सारेका एजेण्डालाई पछार्दै कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । जसमा अर्यालले संविधान संशोधन र प्रदेश संरचनाको पुनर्संरचना गर्ने भनेका छन् ।

रविले भने संविधान पुनर्लेखन र प्रदेश खारेजीको विषयमा वकालत गरेका थिए । यस्तै, वैकल्पिक शक्ति निर्माणका लागि भन्दै रास्वपाले गरेको छलफलको निष्कर्ष समेत सार्वजनिक भएको छ । 

रास्वपाको नेतृत्वमा आउन कुलमानदेखि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसम्मले गरेको अभ्यासमा ब्रेक लागेको छ । वैकल्पिक शक्ति निर्माण गर्न भन्दै नेतृत्व आयात गर्न नसकिने रास्वपाले भनेपछि कुलमानदेखि अन्य विषय समाधानमा गएका छन । यता रास्वपाले आगामी चुनावमा गठबन्धन समेत गर्ने भनेको छ । 

विप्लवदेखि जनार्दनसम्म

विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले समेत शक्ति निर्माण गर्ने दाबी गरिरहेको छ । जसमा माओवादी केन्द्र छाडेका जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी छाडेका घनश्याम भुसालसंग राजनीतिक सहकार्यको मोडालिटीमा काम गरिरहेको छ । 

यसले पनि एउटा राजनीतिक शक्तिको निर्माण विप्लव, जनार्दन र घनश्याम भुसाल वरिपरि केन्द्रित हुने संकेतहरु देखिएका छन् । यसरी हेर्दा निर्वाचनको माहोल बन्न थालेको देखिन्छ । तर, पुराना दलमध्ये एमाले प्रतिकुल अवस्थाका कारण निर्वाचनमा जान चाहेको देखिन्न भने कांग्रेसमा अलमल जारी देखिन्छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update