News 24 Television
गगनविरुद्ध सिण्डिकेट, निर्वाचन कि महाधिवेशन, कांग्रेस अलमलमा !

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र महाधिवेशनको मात्रै होइन संसद पुर्नस्थापना कि निर्वाचन भन्ने बिषयले समेत प्रवेश पाईरहेको छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शंखर भण्डारी सहित विगतमा देउवा पक्षमा रहेका नेताहरु र संसदहरुले संसद पुर्नस्थापना गर्नु पर्ने मुद्दालाई चर्काे बनाउँदै गएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा कांग्रेस नेता शंखर भण्डारीले संसद पुर्नस्थापना गर्नु पर्ने भन्दै चर्काे स्वर उठाए । 

भण्डारी बोल्नुभन्दा अगाडी बैठकमा महाधिवेशन र विशेष महाधिवेशनका बिषयमा चर्काे बहश भइरहेको थियो भने सानो स्वरमा संसद पुर्नस्थापनाको बिषय समेत उठ्ने गरेको थियो । जब भण्डारीले सरकार गठन संविधानको विपरीत भएको र संसद पुर्नस्थापना गरेर अगाडी बढ्नु पर्ने बैठकमा धारणा राखे त्यसपछि बोल्ने कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले संसद पुर्नस्थापना गर्नु पर्ने पक्षमा धारणा राख्दै गएको बैठकमा सहभागी नेताहरुको दाबी छ । 

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत कांग्रेस पनि संसद पुनस्थापनाको पक्षमा आउने दाबी गरिसकेका छन् । विघठित प्रतिनिधिसभाको कांग्रेसका मुख्य सचेतक रहेका श्याम घिमिरे पनि संसद पुर्नस्थापना गर्नु पर्नेमा कांग्रेसका अधिकांश निवर्तमान सांसदहरुको धारणा रहेको बताउँछन् । यसले पनि कांग्रेसभित्र पनि संसद पुनस्थापनाको मुद्दा बलियो बन्दै गएको देखिन्छ ।  

जेनजी आन्दोलन पछिको शुरुको अवस्थामा कांग्रेसका धेरै नेताहरुको मत निर्वाचनमा जानु पर्ने थियो । तर केन्द्रीय समिति बैठक बस्नु भन्दा अगाडी बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सरकार संविधान विपरीत गठन भएकाले संसद पुर्नस्थापना हुनु पर्ने र निर्वाचन भएमा त्यसमा पनि सहभागी हुने निर्णय भयो ।

त्यसपछि कांग्रसका देउवा पक्षका नेताहरुले संसद पुर्नस्थापनाको पक्षमा पार्टी भित्र लबिङ गरेका थिए । पूर्वगृहमन्त्री रहेका रमेश लेखक, चन्द्र भण्डारी, श्याम घिमिरे सहित देउवा पक्षका नेताहरुले संसद पुर्नस्थापनाको लबिङमा छन् । 

यसै बिचमा नेकपा एमालेको केन्द्रीय समितिको बैठकबाट पनि संसद पुर्नस्थापना हुनु पर्ने निर्णय भयो भने तत्कालिन माओवादी केन्द्र र नेकपा एसले पनि संसद पुर्नस्थापना हुनु पर्ने निर्णय गर्याे । त्यसपछि भने कांग्रेसका नेताहरुले पनि खुलेरै संसद पुर्नस्थापना हुनु पर्ने आवाज उठाउन थालेका हुन् । तर कांग्रेसमा निर्वाचन पक्षधरहरु पनि उतिकै छन् । 

कांग्रेसमा यतिबेला देउवा समूह संसद पुर्नस्थापना र महामन्त्री गगन थापा समूह निर्वाचनको पक्षमा देखिएको छ । डा. शेखर कोइराला समूह भने निर्वाचन कि संसद पुर्नस्थापना ? दोधारमा छ । तर महामन्त्री थापा भने कांग्रेस निर्वाचनमै जाने दाबी गर्छन् । 

कांग्रेसमा महाधिवेशनको मिति तत्काल तोक्नु पर्ने नभए विशेष महाविधेशन गर्नु पर्ने गगनको प्रस्तावमा महाधिवेशन प्रतिनिधिहरुको पनि समर्थन छ । तर प्रतिनिधिसभा पुनस्थापना कि निर्वाचन भन्नेमा सवालमा भने महाधिवेशन प्रतिनितिहरुले गगनलाई साथ नदिने कतिपयको दाबी छ । त्यस्तै कतिपय विश्लेषकहरु भने कांग्रसले अहिले महाधिवेशनभन्दा पनि कसरी अगाडि बढ्ने भन्नेतर्फ केन्द्रीत हुने पर्ने बताउँछन् । 

गगन र विश्वप्रकाशले यसभन्दा अघि प्रधानमन्त्रीसंग निर्वाचनको वातावरण बनाउनु पर्ने भन्दै कांग्रस निर्वाचनको पक्षमा हुने र एमालेलाई पनि मनाउन आफुहरुले पहल गर्ने बताएका थिए ।

तर पछिल्लो समय कांग्रेसमा देउवा पक्षका नेताहरुले संसद पुर्नस्थापना हुनु पर्ने आवाज बलियो बनाउँदै लगेका छन् भने डा. शेखर कोइरालालाई समेत मनाउने कसरत गरीरहेका छन् । यस्तो हुनुमा उपचारका लागि सिंगापुर गएका भनिएका पार्टी सभापति शेरबहादुर देउवाको कुटिल चाल भन्नेहरु पनि छन् । यी र यस्ता परिस्थितिका बाबजुद कांग्रेसले कस्तो रोडम्याप तय गर्छ भन्ने सर्वत्र चासो बढेको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update