काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय जेनजी र सरकार माथि मात्रै होइन पार्टी भित्र नेतृत्व परिर्वतनको बहस चलाउनेहरु माथि पनि आक्रमक बनिरहेका छन् । उनले आफूबिरुद्ध आलोचना गर्नेहरुलाई पार्टी छोड्न नै चेतावनी दिएका छन् । तर एमालेका तेस्रो पुस्ताका नेताहरुले ओली प्रवृत्तिको आलोचना गर्दै काउन्टर जवाफ थालेका छन् ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी र सरकार माथि मात्रै होइन पार्टी भित्र नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको पैरवी गर्नेहरुमाथि समेत रुखो सुनिन थालेका छन् । जेनजी आन्दोलनको २ हप्तापछि सार्वजनिक भएदेखि नै जेनजी आन्दोलनलाई प्रतिक्रान्ति भनिरहेका छन् ।
जेनजी आन्दोलनमा सहभागीहरुलाई अपराधी करार गर्न खोजिरहेका उनले सरकारलाई पनि ‘हा हा र हु हु’ को सरकार भन्दै आलोचना गरिरहेका छन् ।
जेनजी र सरकारप्रति आक्रामक बनिरहेका ओलीले पछिल्लो पटक पार्टीको पुनर्गठन र रुपान्तरणको आवाज उठाउनेहरुविरुद्ध पनि खरो उत्रिन थालेका छन् । शुक्रबार विद्वत वर्ग संगको संवादमा उनले नेतृत्व परिर्वतनको मुद्धा उठाएकाहरुलाई लक्षित गर्दै पार्टी छाड्न समेत चेतावनी दिएका थिए ।
जेनजी आन्दोलनमा युवा विद्यार्थीहरुमाथि गोली वर्षाएको भन्दै त्यतिबेला प्रधानमन्त्रीको हैसियतमा रहेका ओलीलाई कारबाही गनुपर्ने माग जेनजीको विभिन्न समूहले गरि नै रहेको छ ।
यता, एमाले भित्रै पनि आन्दोलन अगाडी पार्टी भित्र ओलीको आलोचना गर्न र फरक मत राख्न डराएका नेताहरुले आन्दोलनपछि एमाले पुर्नगठन र नेतृत्व परिर्वतन नभए जनतामाझ जान नसकिने भन्दै नेतृत्व परिर्वतनको बहसलाई तिव्र बनाएका छन् ।
पार्टी पुनर्गठन र रुपान्तरणको आवाज उठाएकाहरुलाई पार्टीबाटै निस्कन पार्टी अध्यक्षले चेतावनी दिएकोमा युवा नेता कार्यकर्ताहरु ओलीप्रति रुष्ट छन् ।
पार्टी संकटको अवस्थामा पुगेको बेलामा विगतमा एमाले निर्माणमा योग्दान पु¥याएकाहरुलाई समेत छाति ठुलो बनाएर संगै लैजानु पर्ने बेला उनीहरुको योगदानको अवमुल्यन गर्नु गलत भएको उनीहरुको भनाई छ ।
पार्टी नेतृत्व संकटमा परेका बेला समेत साथ दिएका पार्टीका तेस्रो पुस्ताका नेताहरुले गत भदौं २९, ३० र ३१ गते बसेको केन्द्रीय समिति बैठकमा नेतृत्व परिर्वतनका मुद्धा उठाएका थिए ।
उनीहरुलाई समेत लक्षित गरेर ओलीले पछिल्लो समय असन्तुष्टिको अभिब्यक्ति दिन थालेका छन् । आगामी महाधिवेशनबाट पनि ओलीलाई नै अध्यक्ष बनाउन तयार देखिएका नेताहरुलाई नै नेतृत्वको कार्यशैलीले निरुत्साहित बनाएको छ ।
अध्यक्ष भनेको पार्टीको अभिभावक हो तर विचार, सिद्धान्त र पार्टी पुर्नगठनका कुरा गर्दा पार्टी छाड्नु भनी नेतृत्वबाट आएको अभिब्यक्ति जायज नभएको युवा नेता कार्यकर्ताको भनाई छ । पार्टी नेतृत्वको अभिब्यक्ति र प्रवृत्तिका कारण सिङ्गो एमाले नै आलोचित बनिरहेको छ ।
जेनजी पुस्ता, आम नागरिकको आकांक्षालाई समेत लत्याएर अघि बढ्दा आगामी दिनमा जनता माझ पुग्न समेत समस्या हुने भन्दै एमालेका युवा पुस्ताका नेता कार्यकर्ताहरु चिन्तित भएका छन् । त्यसैले पार्टी नेतृत्वमा रहेको ब्यक्तिले पार्टी भित्र र बाहिर रहेका जो कोहीलाई पनि सम्मान गर्न सक्नुपर्नेछ । जसले गर्दा सिङ्गो पार्टीले नै क्षति ब्यहोर्ने अवस्था आउने छ ।
