News 24 Television
ओलीको दम्भ बढेको बढ्यै, कार्यकर्तालाई मैदानमै उत्रन आदेश !

काठमाडौँ । जेनजी आन्दोलनको भार थेग्न नसकेर पदच्युत भएका एमाले अध्यक्ष केपी शर्मा ओली फेरी उत्तेजित र भड्किलो अभिव्यक्ति दिन थालेका छन् । गत भदौ २४ मा जेनजी आन्दोलनले उत्कर्ष रुप लिँदै गर्दा ओली प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकप्टरबाट भाग्नु परेको थियो । त्यसपछि ओली करिब २ साता भूमिगत नै रहे । तर आफ्नै कारण सृजित जेनजी आन्दोलनबाट भएको जनधनको क्षतिप्रति ओलीले कुनै आत्मआलोचना र नैतिक जिम्मेवारी लिने छाँट देखाएनन् । बरु उनी अझ दम्भ र उत्तेजनापूर्ण अभिव्यक्ति दिइनै रहेका छन् । उनको यो दम्भ पार्टीभित्र मात्रै होइन, सार्वजनिक मुद्धाकै सवालमा समेत झल्किन थालेका छन् । उनले सरकार र पार्टीका नेतामाथि दिनानुदिन चुनौती पेश गरिरहेका छन् । 

अनुमति नपाए पनि प्रदर्शन गर्न उर्दी 

सरकार फागुन २१ को आम निर्वाचनको तयारीमा छ । र, यसै प्रयोजनका लागि शान्ति सुरक्षा कायम गर्न सरकारले कुनैपनि समूहलाई प्रदर्शनका साथै जुलुसका कार्यक्रम नगर्न निर्देशन दिएको छ । एमालेसहितका अन्य दलहरुले पनि निर्वाचको वातावरण निर्माण गर्न सुरक्षाको प्रत्यभूति माग गरिरहेका छन् । तर ओली भने यही काक्तिक अन्तिमदेखि मंसिरभरी देशव्यापी प्रदर्शन गर्ने तयारीमा जुटेका छन् । यसै सन्दर्भमा ओलीले कार्यकर्ताहरुलाई सरकारले अनुमति नदिएपनि प्रदर्शनका लागि सडक ओर्लन उर्दी नै जारी गिरेका छन् । 

जलाउने र चलाउने एउटै ! 

ओलीले पार्टी निकट युवा संघलाई उत्तेजित पार्दै भिड्नका लागि अब सडकमै ओर्लन भनेका छन् भने, सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाममा देश जलाउने काम गरेको गम्भीर आरोप पनि लगाएका छन् । 

पार्टीमा पनि उस्तै दम्भ 

एमालेको महाधिवेशन यही मंसिर अन्तिम साता सम्पन्न हुँदैछ । महाधिवेशनले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीमा ओलीको विकल्प खोजिनुपर्ने विषयमा केन्द्रीय कमिटि तथा सचिवालय बैठकमा पनि चर्को रुपमा बहस भयोे । तर ओलीले यो बहसलाई सँधै दवाउँदै आए । उनी अझै आफूविरुद्ध पार्टीमा बोल्नै नपाइँने तथा फरक मत राख्नै नदिने अडानमा छन् । उनले सार्वजनिक मञ्चबाटै आगामी महाधिवेशनमा आफूबाहेक कसैले बोल्न नपाउने तथा आफ्नो निर्देशनात्मक सम्बोधन बाहेक अरु कार्यसूची नै नहुने भनिरहेका छन् ।  

ओलीको यो घोषणाले के एमालेमा आन्तरिक लोकतान्त्रको अभ्यास समाप्त भइसकेको हो ?  एमालेभित्र फरक मत राख्ने सुविधा रहँदैन ? यतिका वर्ष देशकै नेतृत्व गरेको दलको महाधिवेशन यसरी नै सम्पन्न हुन्छ ? भन्ने प्रश्न फेरि उठेका छन् । अर्कोतर्फ आम जनता र कार्यकर्ता स्तरबाटै पनि ओलीको निरंकुश चरित्रबारे आलोचना बढ्दो छ । 

जेनजी आन्दोलनका बखत ओली नै प्रधानमन्त्री हुनुले आन्दोलनबाट भएका सबै जनधनको क्षतिको नैतिक जिम्मेवारी लिँदै पश्चताप व्यक्त गर्ने अपेक्षा लिइएपनि ओलीले यस्तो कुनै संकेत देखाएका छैनन् ।  बरु उनी अझै दम्भसहित भड्किलो अभिव्यक्ति दिनमा व्यस्त छन् । जेनजी आन्दोलनको कारण नै आफू भएको भनेर राजनीतिबाट सन्यास घोषणा गर्नुपर्ने ओलीले अझै राज्यको निर्देशन नमान्ने भन्दै धम्किपूर्ण अभिव्यिक्ति दिनु कहिँ कतैबाट जायज देखिँदैन ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update