News 24 Television
वाम ध्रुवीकरणले शक्तिशाली बने प्रचण्ड, असली परीक्षा निर्वाचन नै !

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको सहायतामा पुष्पकमल दाहाल प्रचण्ड पुनः शक्तिको केन्द्रमा पुगेका छन् । प्रचण्ड नै संयोजक रहनेगरी १० दलिय वाम घटकहरुले एकता गरेपछि पुनः प्रचण्डलाई कम्युनिष्ट दलको प्रमुख पात्र र शक्तिशाली स्थानमा पु¥याएको हो । यो एकतापछि अझै दलहरु ध्रुविकृत हुने चरणमा हुँदा प्रचण्ड थप शक्तिशाली बन्ने निश्चित छ । यही कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । नेपाली कम्युनिष्ट पार्टीमा यसका अलावा अन्य दलहरु पनि समाहित गराउने नेताहरुको योजना छ । 

मुख्यतः नेपाली कम्युनिष्ट पार्टीको वृहत एकताप्रति सुरुमा विमत्ति राखेका पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनाल अन्तिम समयमै एकतामा आउनु प्रचण्ड–माधव लगायत नेताहरुले ठूलो सफलताको रुपमा लिइरहेका छन् । लामो समयको राजनीतिक अनुभव संगालेका नेताहरु सामेल भएका कारण पनि नेपाली कम्युनिष्ट पार्टी खास बन्ने देखिन्छ । यो पार्टीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा एमालेको विभिन्न संगठनको कमाण्ड सम्हालेका नेताहरु सम्बद्ध रहेकाले पनि यो पार्टीलाई अनुभव र निखारताको रुपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । अर्कोतर्फ यो एकताकै कारण प्रचण्डले आफ्ना केही सारथी गुएपनि विगतमा साथ छाडेका गोपाल किराँती लगायतका प्रभावशाली नेताहरुको पुनरागमनले भने उनलाई थप राहत मिलाएको छ । 

भीम रावलको आगमन, अशोक भने छलफलमै 

नेकपा एमालेमा आबद्ध रहेर लामो समय संघर्ष गरेका डा. भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमै समाहित भएका छन् । डा. रावल नेतृत्वको मातृभूमि जागरण अभियान बुधबार एक कार्यक्रमकाबीच नेपाली कम्युनिष्ट पार्टीमै समाहित भएको हो । यो एकतासँगै भीम रावलले पार्टीमा छैटौ वरियता प्राप्त गरेका छन् । त्यस्तै एमालेमै रहेर लामो समय संघर्ष गरेका अशोक राई पनि नेपाली कम्युनिष्ट पार्टीमै समाहित हुने तयारी छ । यसका लागि आवश्यक छलफल भइरहेको नेताहरुले दावी गरिरहेका छन् । एमालेबाट विभाजित भएसँगै जसपा नेपाल हुँदै (जसपा) गठन गरेका राईले एकीकृत पार्टीमा सामेल हुने तयारी गरिरहेपनि यसको पूर्ण निर्क्यौल हुन सकेको छैन । यद्यपि पछिल्लो समय भइरहेको एकताको लहडमा उनी छुट्ने संभावना न्यून छ । 

नेताहरुको पनि नेता प्रचण्ड !

राजनीतिक रुपमा दलिय एकता सहज विषय होइन् । यसमा पनि विगतमा विभिन्न चरणमा विभाजित र असन्तुष्ट दलहरुलाई एकताको प्रकृयामा ल्याउनु प्रचण्डको खुबीको विषय हो । त्यसमा पनि प्रचण्डले विभिन्न समयमा एमाले पार्टी र सत्ताकै नेतृत्व गरेका नेताहरुलाई पार्टीभित्र आफू अण्डरमै रहनेगरी भित्र्याउनुलाई कम आँक्न सकिन्न । नेतृत्व र कम्युनिष्ट दलहरुको हिसाबले हेर्ने हो भने पनि प्रचण्ड तत्कालीन नेकपा कालका बखत देखिएका शीर्ष नेताहरुको तुलनामा शक्तिशाली बनेका छन् । 

तत्कालीन नेकपा कालमा ९ सदस्सीय सचिवालय थियो । जसमा अहिले प्रचण्डको पक्षमै ५ जना छन् । प्रचण्डले नेपाली कम्युनिष्ट एकताको सुत्रमार्फत नै पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाललाई नै नेतृत्व गरेर नेताको पनि नेता बन्ने अवसर सृजना गरेका छन् । नेकपा र व्यक्तिगत राजनीतिमा प्रचण्डले तत्कालका लागि यो दख्खल राखेपनि उनको असली राजनीति जनता र देशको हितसँग नै जोडिने विषय हो । यसका लागि उनले पार्टी र राजनीतिसँगै देश र जनमताको हितमा मन जित्न आवश्यक छ । 

पछिल्लो बदलिँदो राजनीतिपछि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले निर्वाचनमा कस्तो मत परीणाम ल्याउँछ ? यो प्रश्नकै विषय हो । तर तत्कालका लागि प्रचण्डले यत्रतत्र छरिएका नेतालाई एकीकृत गरेर आफूलाई राजनीतिमा अब्बल सावित गराएकै छन । यद्यपि राजनीतिको अन्तिम र  असली परीक्षण निर्वाचनले नै गर्दछ । यो परीक्षामा पनि प्रचण्ड सफल भए उनको नाम राजनीतिमा अझ कहलिनेछ । नत्र यो नेपाली कम्युनिष्ट एकतालाई इतिहासले नेताहरुको आश्रय सृजनाको रुपमा मात्रै बुझ्ने निश्चित छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update