काठमाडौं । फागुन २१ का लागि तय भएको निर्वाचनका लागि दल दर्ताको समयावधी सकिएपनि आयोगले अनौठा निर्णय गर्न थालेको छ । मतदाता नामावली संकलनको समयलाई बढाएको निर्वाचन आयोगले अन्तिम दिन पारेर नयाँ दल दर्ताको समय समेत बढाएको छ ।
केहि जेनजी अगुवा र प्रभावशाली व्यक्तिहरुको प्रभावपछि आयोगले समयावधी लम्ब्याएको आरोप लागेको बेला आयोगको निष्पक्षतामाथि प्रश्न उठ्ने क्रम बढ्ला वा घट्ला ? यो चासो बढेको छ ।
फागुन २१ का लागि तय निर्वाचनका लागि कात्तिक अन्तिम दिनसम्म निर्वाचन आयोगमा १ सय २२ दल दर्ता भएका छन् । नयाँ ७ वटा दल थपिएका छन भने ७ वटाकै दर्ता खारेज भएको छ ।
निर्वाचन आयोगले कात्तिक मसान्तसम्मका लागि दल दर्ता गर्नका लागि समय छुट्याएको थियो । जसमा ७ वटा राजनीतिक दल नयाँ दर्ता भएका छन् भने ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको जानकारी दिएको थियो ।
उसोतः दल दर्ताको समय भने मंसिर ६ गतेसम्मका लागि थप गरिएको छ । जसले आयोगमाथि प्रश्न र शंका भने बढाइदिएको छ ।
दुर्गा प्रसाईंको पनि दल !
दुर्गा प्रसाईं संरक्षक रहेको नागरिक बचाउ दलले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको छ । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका हुन् । प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि कल्पितले सनाखत गरेका हुन् ।
प्रसाईले यसअघि पनि सरकारविरुद्ध आन्दोलन गर्ने भन्दै आएका छन् । अन्तरिम सरकार र नेतृत्वप्रति आक्रामक शैली अपनाउदै आएका प्रसाईंले दल दर्ता गरेरै निर्वाचनमा जाने मनशाय बनाएका हुन वा आन्दोलन तोकिसकेको बेला उनले के गर्छन भन्ने विषय भने चासोमा छ ।
समय बढाउँदै आयोग
मतदाता नामावली संकलनमा समय बढाएको निर्वाचन आयोगले दल दर्ताको समय समेत बढाएको छ । राजनीतिक दलहरुसंग सल्लाह गरेर वा अन्य कारण नभई आयोगले दल दर्ताको समयलाई कात्तिक ३० बाट बढाएर मंसित ६ गतेसम्म पु¥याएपछि शंकाहरु भने उब्जिएका छन् ।
जेनजीहरुको प्रतिनिधित्व हुने गरि नयाँ दलको अभ्यास राम्ररी हुन नसकेपछि आयोगमाथि बढेको दबाबका कारण यस्तो निर्णय भएको कतिपयको आरोप छ ।
दल दर्ताका लागि गरिएको आह्वानको समयावधीभित्र केहि व्यक्ति र समूहहरुको सहमति जुट्न नसकेपछि समय बढाइएको आरोप लागिरहेको छ । भने आयोगका अनुसार अब मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो ।
सहज कसलाई ?
निर्वाचन आयोगले दल दर्ताको समयावधी राजनीतिक दलहरुसंगको सम्वाद, सरकारसंगको सहकार्यमा गर्नुपर्नेमा एकाएक गरेपछि यसले संसय पैदा गर्ने स्थिति बन्न पुगेको छ ।
नेकपा एमालेले अहिलेको सरकार विघटनसहित संसद पुनस्र्थापनाको मागमा जोड लगाइरहेको बेला आयोगले सचेत कदम चाल्न नसक्दा मात्रै समेत प्रश्न र द्वन्द्ध थप बल्झिने खतरा रहन्छ । जुन विषयमा एमालेले पहिलेदेखि नै निर्वाचनको विषयमा कडा रुपमा पेश हुने गरेको देखिन्छ ।
एमालेले यसैपनि यो सरकारबाट निर्वाचन भएको हेर्न चाहन्न । देशभरको आन्दोलन, प्रदर्शन र सभापछि काठमाडौंमा मंसिर ६ गते प्रदर्शन गर्न लागेको एमालेलाई आयोगको निर्णयले समेत थप बल पु¥याउनेछ ।
रवि, बालेन, कुलमान र हर्कलाई मिल्न सुझाव
जेनजी आन्दोलनमा पानी बाँड्दा बाँड्दै स्टेकहोल्डरको रुपमा अघि सरेका हामी नेपालका सुदन गुरुङले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’, उज्यालो नेपाल पार्टीका अघोषित नेता तथा ऊर्जामन्त्री कुलमान घिसिङ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई मिलेर अघि बढ्न सुझाव दिएका छन् ।
वैकल्पिक शक्ति निर्माणको अभ्यास गर्न खोजिएपनि एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्दा छुट्टाछुट्टै दल दर्ता भएका छन् । जसमा बालेनले भने कुलमानलाई नै मौन समर्थन गर्छन वा के गर्छन भन्ने चासो देखिन्छ । यद्यपी रविदेखि हर्कसम्मको राजनीतिक मिलाप सुदनको अपिल जसरी सहज नहुने अनुमान भने चलिरहेको छ ।
