News 24 Television
सर्वोच्चमा सोमबार छिनोफानो, कांग्रेस एमाले सहकार्य खतरामा !

काठमाडौं । मधेश सरकार निर्माणको विषयलाई लिएर विवाद उत्कर्षमा पुग्न थालेको छ । मधेश सरकार गठनमा किन अनौठो अभ्यासलाई निरन्तरता दिन खोजियो ? के एमालेले संविधानको रक्षा गर्ने दाबी गर्दै गर्दा राजनीतिक अस्थिरतालाई नै केन्द्रमा राख्नुपर्ने हो ? 

असंवैधानिक र अवैधानिक रुपमा महोत्तरीको बर्दिवासस्थित जंगलमा रहेको पानस रेष्टुरेन्ट एण्ड होटेलमा एकाबिहानै प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएपछि उनलाई संघीय सरकारले तत्कालै बर्खास्त गर्दै सो ठाउँमा डा. सुरेन्द्र लाभलाई नियुक्त गरिएको छ । 

मधेश प्रदेशमा मुख्यमन्त्री यादवको नियुक्ति र संवैधानिक प्रक्रियालाई लिएर सात दलीय गठबन्धनले आन्दोलन जारी राखेको छ । मुख्यमन्त्री यादवको नियुक्ति र संवैधानिक प्रक्रियालाई लिएर सात दलीय गठबन्धनले आन्दोलन जारी राखेको छ । भने सात दलीय गठबन्धनका नेताहरुले जंगलको रेष्टुरेन्टका मुख्यमन्त्रीको संज्ञा दिन थालेका छन् ।

यता पूर्वमुख्यमन्त्री समेत रहेका जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव अहिले निकै पीडित बनेका छन् । उनको नाम र अहिलेको मुख्यमन्त्रीको नाम पनि सरोजकुमार यादव नै रहेकाले कतिपय मिडियामा पूर्वमुख्यमन्त्रीको फोटो हालेर सम्प्रेषण हुँदा निकै तनावमा छन् । उनले सक्कली सरोजकुमार यादव आफू रहेको भन्दै सच्याउन आग्रह गरेका छन् ।

मधेशमा एमाले नेतृत्वको सरकार निर्माणपछि राजनीतिक संकट गहिरिदै गएको छ । मधेश सरकार गठनपछि सात राजनीतिक दलहरुले विरोध गरिरहेका छन भने प्रदर्शन समेत चलिरहेको छ । मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन् ।

७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

अब सुनुवाई सोमबार हुने 

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनुवाई सोमबार मात्रै हुने भएको छ । आइतबारका लागि तय गरिएको सुनुवाई स्थगित भएको छ भने सोमबारका लागि सरेको सर्वोच्चले जनाएको छ। मधेश सरकार गठनको विषयमा सर्वोच्चको निर्णयले समेत ठूलो प्रभाव पार्नेछ । तर, सुनुवाई नै सोमबारका लागि सारिएपछि मधेशमा विपक्षी दलहरुले प्रदर्शनलाई भने जारी राखेका छन् । मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध गत मंगलबार सर्वोच्च अदालतमा दर्ता गराएका थिए । 

कांग्रेस एमाले सहकार्य के होला ?

मधेश प्रदेशको सरकार निर्माणमा एमालेले असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले आन्दोलन गरिरहेको छ । यस्तोमा अन्य प्रदेशमा चलिरहेका कांग्रेस एमाले गठबन्धनका सरकार के होलान ? चासो बढेको छ । 

कांग्रेस एमालेले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशमा सत्ता सहकार्य गरिरहेका छन् । प्रदेश सरकारको नेतृत्वमा भागबण्डा गरेका कांग्रेस एमालेले मधेशको सत्ता उथलपुथलपछि पनि सहकार्य कायम राख्लान ? मधेशको सरकार कांग्रेसलाई नेतृत्व दिएर अन्य प्रदेशबाट एमालेलाई सरकारबाट बाहिर निकाल्ने प्रयास समेत चल्न थालेको बताइन्छ । 

यस्तोमा मधेशको सरकारका लागि एमालेले चालेको कदममा चलिरहेको आन्दोलनले समेत राजनीतिक प्रभावमा नयाँपना देखिने संकेतहरु देखिन थालेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update