काठमाडौं । पछिल्ला महिनाहरूमा भड्काउने अभिव्यक्ति, आधारहीन आरोप र समाजमा त्रास फैलाउने गतिविधिका कारण विवादको केन्द्रबिन्दु बनेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईं फेरि हिरासतमा परेका छन् ।
देश ठप्प पार्ने ठूलो आन्दोलनको घोषणा गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने, सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने र राज्यविरुद्ध उत्तेजना सिर्जना गर्ने वक्तव्यले उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा कानुनी कारबाही अघि बढेको छ ।
बारम्बारको हिरासत बसाईपछि पनि उही शैलीमा सक्रिय भइरहनु कानुनी कठोरता, राजनीतिक मौनता र सामाजिक सञ्जालमा अनियन्त्रित प्रचारप्रसारबीचको कमजोर संयोजनले देशमा बढ्दो अस्थिरताभाव र सूचना संकटलाई झनै उजागर गरेको छ ।
दुर्गा प्रसाईंले पछिल्ला महिनाहरूमा समाजमा भय, भ्रम र अस्थिरता बढाउने उद्देश्यले निरन्तर भड्काउने प्रकारका अभिव्यक्ति दिँदै आएका थिए । देशै ठप्प पार्ने ठूलो आन्दोलनको तयारी रहेको र रासनपानी जोहो गरेर राख्नु भन्ने जस्ता वक्तव्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदा आम नागरिकमा त्रास र अनिश्चितताको भावना बढेको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका भिडियोहरूलाई आधार मानेर कतिपयले सम्भावित अशान्ति वा बन्द अवरोधको आशंका समेत गर्न थालेका थिए ।
राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउँदै, पुष्टि नभएका सूचनालाई सत्यका रूपमा प्रस्तुत गर्दै र तथ्यहीन तथा भ्रमपूर्ण टिप्पणीमार्फत राज्यअंगहरूमाथि अविश्वास फैलाउने गतिविधि उनको पहिचानजस्तै बन्दै आएको छ ।
स्वयंलाई ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक संरक्षण’का नाममा अभियान चलाउने व्यक्तिको रूपमा प्रस्तुत गर्ने प्रसाईंका यस्ता गतिविधिले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनबीचको सीमारेखाबारे पुनः प्रश्न खडा गरेको छ ।
प्रसाईंलाई चार दिनको हिरासत
सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई चार दिनसम्म हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप अनुसन्धान आवश्यक रहेको भन्दै प्रशासनले प्रहरीले माग गरेको हिरासत म्याद स्वीकृत गरेको हो । प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गर्दै सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक अभिव्यक्तिमार्फत समाजमा उत्तेजना र अस्थिरता निम्त्याउने प्रकारका टिप्पणी गरेको आरोप प्रहरीले लगाएको छ ।
उनका भड्काउने अभिव्यक्तिहरूले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया तथा आलोचना उत्पन्न गरेपछि प्रहरी प्रशासनले कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । प्रसाईंले पछिल्ला दिनमा बम विस्फोटदेखि राजमार्ग बन्द गराउनेसम्मका अभिव्यक्ति दिँदै आएका थिए ।
अन्तिम एक सातामा उनले अन्तर्वार्ता, सामाजिक सञ्जाल र युट्युबमार्फत क्रमशः अराजक र उत्तेजक टिप्पणी गरेका छन् । केही दिनअघिमात्र उनले बम पड्किनेसम्मका योजना रहेको जस्तो अभिव्यक्ति दिएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दूतावासमा बम विस्फोट गराउने योजना बनाएको समेत दाबी गरेका उनलाई जेनजी आन्दोलनमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको संलग्नताबारेका भिडियो सामग्री नै बनाएर सार्वजनिक गरेपछि पक्राउ गरिएको हो ।
के हुन्छ सजाय ?
सार्वजनिक शान्तिविरुद्धको कसुरका लागि मुलुकी अपराध संहिताले कडा सजायको व्यवस्था गरेको छ । विद्यमान कानुन अनुसार यस प्रकारको कसुर साबित भएमा ६ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।
यदि यस किसिमको गतिविधिमा हातहतियार बोकेर सहभागी भएको पाइएमा सजाय थप कडा हुन्छ । मुलुकी अपराध संहिताको दफा ६० को उपदफा (३) अनुसार यस्तो अवस्थामा एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय लागू गर्न सकिने कानुनी व्यवस्था छ ।
पक्राउपछिको तरंग : समाजमा परेको प्रभाव
पक्राउपछि उत्पन्न भएको सामाजिक तरंगले प्रसाईंको प्रभाव कति बहुआयामिक बनिसकेको छ भन्ने स्पष्ट देखाएको छ । सामाजिक सञ्जालमा तत्कालै दुई ध्रुवीय प्रतिक्रिया देखा परेका छन् । एक समूहले उनलाई उत्तेजनाको स्रोत ठान्दै गिरफ्तारीलाई अनिवार्य र ढिलो गरिएको कदमका रूपमा प्रस्तुत ग¥यो भने अर्को समूहले यसलाई राज्यको कठोरता र अभिव्यक्ति नियन्त्रणको उदाहरण भन्दै आलोचना गरिरहेको छ ।
कतिपय नागरिकले प्रसाईंका अभिव्यक्ति लोकतान्त्रिक मर्यादाभन्दा धेरै पर पुगेको र तथ्यहीन प्रचारमार्फत सार्वजनिक शान्ति जोखिममा पारेको भन्दै कानुनी कारबाहीलाई उचित ठहराए । तर अर्कातर्फ, उनको अभियानलाई समर्थन गर्नेहरूले यो प्रक्रियालाई राजनीतिक प्रतिशोधको आधारमा व्याख्या गर्दै प्रसाईको रिहाईको माग गरेका छन् ।
भड्काउने प्रवृत्तिको दोहोरिँदो चक्र
माओवादी र एमालेजस्ता दलसँग कहिले निकटता बनाउने अनि फेरि केही समयपछि राजावादी प्रचारतर्फ उन्मुख हुने प्रसाईं पछिल्ला वर्षमा विवाद र गिरफ्तारीबीच नै घेरिइरहेका छन् ।
आन्दोलन भड्काउने अभिव्यक्तिका कारण उनी पक्राउ परेको यो चौथो पटक हो । यसअघि उनी बारम्बार पक्राउ परे पनि धरौटीमा छुट्दै पुनः त्यही शैलीमा सक्रिय हुँदै आएका छन् ।
- २०८१ असोज ६ गते– राजसंसथा पुर्नस्थापनाका लािग अभियान सञ्चालन गरिरहँदा उनी घरबाटै पक्राउ ।
- २०८१ मंसिर ४ गते– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा पक्राउ ।
- २०८१ चैत १५ गते– काठमाडौंको तीनकुने आन्दोलनपछि फरार रहेका उनी भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।
- २०८२ मंसिर १ गते– भक्तपुरस्थित निवासबाट पुनः पक्राउ ।
बारम्बार पक्राउ र रिहा हुँदै गरेको यस चक्रले कानून कार्यान्वयन निकायहरू प्रसाईंको गतिविधिलाई अल्पकालीन नियन्त्रण र दीर्घकालीन समाधानको दृष्टिकोणबाट सम्बोधन गर्न असफल भएको विश्लेषण पनि हुँदै आएको छ ।
समाजमा बढ्दो अस्थिरता र राज्यको चुनौती
प्रसाईंका अभिव्यक्ति र गतिविधिले समाजमा सिर्जना गरेको डर, त्रास र विभाजन केवल व्यक्तिगत व्यवहारको परिणाम मात्र होइन ।
लोकतान्त्रिक समाजमा आलोचना र असहमति स्वाभाविक भए पनि उत्तेजना, हिंसामा उक्साउने सम्भावना र तथ्यहीन प्रचारले लोकतान्त्रिक मूल्य र सामाजिक स्थिरतामा सीधा आघात पु¥याउने राजनीतिक विश्लेषकहरूको तर्क रहँदै आएको छ ।
राज्यले बारम्बार पक्राउ गरेर मात्र नभई कानुनी स्पष्टता, सामाजिक शिक्षा र दिगो नियन्त्रण संयन्त्रमार्फत यस्ता प्रवृत्तिलाई सम्बोधन गर्नुपर्ने माग बलियो बन्दै गएको छ । तात्कालिक रूपमा विवाद थामे पनि दीर्घकालीन समाधानका लागि राज्य र समाज दुवैले अभिव्यक्ति स्वतन्त्रताभित्रका दायित्व, कानुनी सीमा र तथ्यआधारित सार्वजनिक संवादको आवश्यकता बुझ्नुपर्ने आवश्यकता झनै स्पष्ट बन्दै गएको छ ।
