News 24 Television
अझै उठ्न सकेन सुुदूरपश्चिम प्रदेशसभा, बैठक नबस्दा काम प्रभावित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । जनजी अन्दोलनका क्रममा आगजनी र तोडफोडमा परेको प्रदेशसभा भवनसहित अन्य संरचना मर्मत नगरिएकाले प्रदेशसभा बैठक सञ्चालन अनिश्चित बनेको हो ।

गएको भदौ २४ गने जेनजी आन्दोलनका क्रममा जलेको सुदूरपश्चिम प्रदेशसभा भवन अझै मर्मत हुन सकेको छैन । यसको धक्का प्रदेशसभा बैठकलाई परिरहेको छ । आन्दोलनका क्रममा सभाभवनसहितका संरचना जलाइएपछि बैठक अहिलेसम्म बस्न सकेको छैन । 

प्रदेशसभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारी साधनहरुमा आगजनी भएपछि यहाँ अर्बौंको क्षति भएको छ ।  

यो विध्वंशपछि अनिश्चित कालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक अब कहिले बस्ने भन्ने अझै टुंगो लगाउन सकिएको छैन । न त, कुनै वैकल्पिक व्यवस्थाप्रति प्रदेशसभा सचिवालले न त, प्रदेश सरकारले तदारुकता देखाएको छ । त्यसैले पनि अहिले प्रतिपक्ष दलले तत्कालका लागि वैकल्पिक उपाय अपनाएर भएपनि बैठक संचालन गनुपर्ने माग गरिरहेका छन् ।  

प्रदेशसभा सचिवालयका अनुसार युएनडिपी र युएनएफपिएले बैठक हलमा आवश्यक पर्ने माइक, टिभी, क्यामेरा लगायतका उपकरणको लागि ४३ लाख रुपैयाँ सहयोग गर्ने भएका छ । यस्तै, फलसिलिङका लागि सहरी विकासले १० लाख बराबरको लागत इस्टिमेट गरेको छ ।

बाँकी संरचना मर्मत तथा पुनर्निर्माणका लागि सचिवालयले फर्निचर बाहेक ५१ लाख रुपैयाँको इस्टिमेट निकालेको छ । भवनभित्र रहेका फर्निचर, प्राविधिक उपकरण लगायत सबै सामग्री जलेका कारण तत्काल उक्त भवनमा बैठक सञ्चालन गर्न सकिने अवस्था छैन् । आगजनीमा जलेर ध्वस्त भएका संरचनाको पुनर्निर्माण तथा मर्मतमा अझै समय लाग्ने भएकाले बैठक तत्काल सम्भव नभएको बताइएको छ ।  क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण र मर्मत सम्पन्न गर्न अझै कम्तीमा एक महिना लाग्ने देखिन्छ । पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको बैठक हल पुनर्निर्माणका लागि विभिन्न संघ–संस्थाको सहकार्यमा प्रक्रिया अघि बढाइरहेको बताइएको छ । 

करिब १ करोड ४ लाख रुपैयाँ लागतमा पुनर्निर्माणको तयारी भईरहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको  छ । आगजनी र तोडफोडबाट प्रदेश सभाका ९० प्रतिशत संरचना नष्ट भएको छ । मर्मत नगरी बैठक सञ्चालनको अन्य कुनै विकल्प नरहेका कारण प्रदेश सभा बैठकको सम्बन्धमा अझै एक महिना लाग्ने बताएको छ । मंसिरभित्रै पुनर्निर्माण काम पूरा गरी बैठक बोलाउने लक्ष्य राखिएको सभामुख भिम बहादुर भण्डारीको भनाइ छ ।   

प्रदेशसभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो । त्यसयता प्रदेशसभा बैठक अवरुद्ध हुँदा प्रदेशको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभाव परिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update