काठमाडौं । जेनजी आन्दोलनपछि साना ठूला सबै जसो राजनीतिक दलहरुले पुनर्गठन र रुपान्तरणको बहस मात्रै चलाएका छैनन, राजनीतिक दलहरुमा एकता र ध्रुवीकरणको प्रक्रिया तीब्र रुपमा अघि बढेको छ ।
जेनजी आन्दोलन पछि बदलिएको राजनीतिक कोर्षमा नेपाली कांग्रेस भने पार्टी भित्रैको विवादमा अल्झिएको छ । पार्टीभित्रको गुटबन्दीका कारण केन्द्रीय समिति बैठक महिनौदेखि अनिर्णित छ । कांग्रेस महाधिवेशनकै विवादमा छ । महाधिवेशन कहिले र कस्तो गर्ने विवादमा अल्झिएको कांंग्रेसमा महामन्त्री गगन थापा भने पार्टीमा पनि राजनीतिक कोर्ष बदल्ने प्रयासमा छन् ।
नेपालको सात दशक लामो राजनीतिक यात्रामा जनआन्दोलन र राजनीतिक परिवर्तनका धेरै महत्वपूर्ण अध्याय पूरा भएका छन् । २००७ सालको प्रजातान्त्रिक आन्दोलनले निरंकुश शासनविरुद्ध चेतना जागृत गरायो भने २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुर्नस्थापना भयो । तर पञ्चायती ब्यवस्थाको अन्त्य भई प्रजातन्त्रको पुर्नस्थापना भए पनि नागरिकले खासै उपलब्धी हासिल गरेको महशुस गर्न सकेनन् ।
यही मौकामा तत्कालिन माओवादीले ५२ सालमा सशस्त्र युद्धको थालनी गर्यो । सशस्त्र युद्धका क्रममा झण्डै १७ हजारले ज्यान गुमाए ।
सशस्त्र युद्धको रापतापकैबीच ६२\६३ मा दोस्रो जनआन्दोलन भयो । नेपालमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता संरचनागत परिवर्तनहरू ल्यायो ।
संविधानसभासभाबाटै २०७२ मा नयाँ संविधान जारी गरियो । तर, ती भव्य परिवर्तनका बाबजुद पनि जनजीवनमा अपेक्षाकृत सुधार नआएपछि २०८२ भदौमा जेनजी विद्रोहले फेरि सामाजिक विस्फोटको संकेत दियो । सडकदेखि संसदसम्म फैलिएको असन्तुष्टिले नेतृत्व, नीति र संरचनागत सुधारमा गम्भीर पुनर्विचार अनिवार्य भएको स्पष्ट पारेको छ ।
जसले गर्दा दुई दशकदेखि सत्ताको रापतापमा रहेका राजनीतिक दलहरुलाई रुपान्तरण गर्नुपर्ने बाटोमा पुर्र्याको छ । जसले गर्दा सबै जासो दलहरु पुर्नगठन र रुपान्तरणको बहसमा छन् । तर नेपाली कांग्रेस भने पार्टी भित्रैको शक्ति हत्याउने होडबाजी तीब्र बनेको छ ।
जेनजी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने भनी कांग्रेस महामन्त्री गगन थापा लगायतले जोड गरिरहँदा पुराना पुस्ताका नेताहरु पुर्नगठनका लागि सहज देखिएका छैनन् । पार्टी भित्रको गुटबन्दी, पुराना नेताहरूको संकुचित नियन्त्रण र संगठनात्मक क्षयले कांग्रेस नेतृत्वलाई संकटमा धकेलेको छ । तर थापा भने पार्टीलाई कुनै पनि हालतमा पुर्नसंरचना गराएरै छाड्न जोडबल गरिरहेका छन् ।
कांग्रेसको संकट केवल नेतृत्व परिवर्तनमा सीमित छैन । यो गहिरो वैचारिक र नैतिक संकटमा पनि छ । देउवा, शेखर कोइराला, विश्वप्रकाश शर्मा र गगन थापासहित विभाजित गुटहरूले पार्टीको मूल राजनीतिक लक्ष्यभन्दा सत्ता र पदको व्यापारलाई प्राथमिकता दिएका छन् । यस्तो अवस्थाले जनता भित्रको निराशा अझ गहिरो बनाएको छ । यही कारण जनताले आज सोधिरहेका छन् ।
- कांग्रेस कुन बाटोमा छ ?
- जनताको निराशा बुझ्ने क्षमता बाँकी छ कि छैन ?
जेनजी पुस्ताको चर्किएको असन्तोष र परिवर्तनको चाहनाले कांग्रेसलाई संरचना, नीतिगत दिशा र नेतृत्व प्रणाली नै पुनर्संरचना गर्न बाध्य बनाएको छ । तर अहिलेसम्म पुरानो नेतृत्व यसलाई खतरा ठान्दै आएको छ ।
यसमा गगन थापा कांग्रेस भित्र मात्र होइन, राष्ट्रिय नेतृत्वमा सम्भावित परिवर्तनको संकेत बनेका छन् ।
उनी स्पष्ट बोल्ने, नीतिगत रूपमा संगठित, युवा पुस्तामा लोकप्रिय र सुधारवादी छविका कारण अहिले व्यापक आकर्षणका केन्द्र बनेका छन् । थापा, पार्टीमा एक्ला यस्ता नेता हुन् जो बारम्बार भनिरहेका छन्, ‘पुरानै शैलीले अब काम चल्दैन ।’
किन गगन थापा राजनीतिक केन्द्रमा परे ?
- संगठन पुनर्गठनको एजेन्डा
- पारदर्शिता र भ्रष्टाचार विरोधी योजना
- स्वतन्त्र सम्पत्ति छानबिन आयोगको प्रस्ताव
- उमेर, ऊर्जा र वैकल्पिक नेतृत्वको छवि
- संसदमा प्रभावकारी वक्तृत्व र प्रतिवाद
- मिडियामा व्यापक फेस र भिजिबिलिटी
उनी पार्टीका संभावित सभापति मात्र नभई आगामी प्रधानमन्त्रीका दाबीदारका रूपमा पनि देखिन्छन् । तर, उनको सुधारवादी प्रस्तावहरूले पुराना शक्ति संरचनाहरूको अस्तित्वलाई संकटमा पार्ने भएकाले पार्टी भित्र तीव्र विवाद र सम्भावित टकरावको सम्भावना बलियो छ । थापाको सम्भावित नेतृत्वले दशकौंदेखिको पद, टिकट, संसाधन र गठबन्धनमा आधारित पुरानो एकाधिकारलाई भत्काउने छ ।
युवा नेतृत्व र नव संगठन निर्माणले कांग्रेसलाई पुनः मुख्य राजनीतिक विकल्प बनाउन सक्छ । तथापि, यस्तो परिवर्तनले पार्टी भित्र अस्थिरता र सम्भावित विभाजनलाई निम्त्याउन सक्ने खतरा पनि छ । थापाको राजनीतिक भूकम्पले पार्टीलाई बलियो बनाउने वा फुटाउने दुबै सम्भावना कायम राखेको छ ।
थापाका सार्वजनिक कामहरू उल्लेखनीय छन् । स्वास्थ्य मन्त्रालयमा ल्याएको सुधार, प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको उपलब्धता, औषधि खरिद प्रक्रियामा पारदर्शिता, निशुल्क डायलासिस सेवा, अंग प्रत्यारोपण नियमावली, सरकारी अस्पताल व्यवस्थापन सुधारजस्ता पहलहरूले उनको नेतृत्व क्षमतालाई देखाउँछन् । तर, उनी स्वास्थ्य क्षेत्रमा सफल भए तापनि संघीयता, आर्थिक संकट, बेरोजगारी, कूटनीति र सुरक्षा जस्ता जटिल क्षेत्रहरूमा उनको अनुभव सीमित छ ।
आलोचकहरूले उनको कार्यान्वयन क्षमतामा शंका व्यक्त गरेका छन् र व्यवहारिक नेतृत्वको नमूना देखाउन अझै उनले प्रमाणित हुनुपर्ने बताउँछन् ।
राष्ट्रिय नेतृत्वमा थापाका जटिल चुनौती
राजनीतिक गठबन्धनको जटिलता थापाका लागि अर्को चुनौती हो । वर्तमान राजनीतिक परिदृश्यमा कुनै दलले एक्लै बहुमत ल्याउनु सम्भव छैन ।
जसलाई उनी आलोचना गर्छन्, त्यही दलसँग सरकार बनाउनुपर्ने बाध्यता उनको राजनीतिमा ठूलो द्वन्द्व हो । यसले उनको प्रधानमन्त्री बन्ने आकांक्षालाई चुनौती दिनेछ । थापालाई चीन, भारत र अमेरिका त्रिकोणमा कूटनीतिक सन्तुलन कायम गर्ने चुनौती पनि छ । उनलाई अमेरिकी प्रभावमा बढी झुकेको आरोप पनि लाग्दै आएको छ ।
जुन उनीलाई राष्ट्रिय स्वाधीनताको पक्षधर भनेर हेरिएका लागि प्रश्नचिन्ह हो । लोकप्रियता र सामाजिक सञ्जालमा प्रभावशाली ब्रान्ड थापाको अर्को ठूला पक्ष हो । तर राजनीतिक नेतृत्वमा लोकप्रियता एक मात्र मापदण्ड होइन ।
कांग्रेस भित्रका केही नेताहरूको भनाइ अनुसार थापा प्रष्ट बोल्ने भए पनि व्यवहारिक जोखिम लिन र संगठनात्मक बलियो आधार बनाउन सकेका छैनन् । सुधारवादी ब्रान्डको धेरै प्रभाव छ । तर कार्यान्वयन क्षमता अझै कमजोर छ ।
गगनको राजनीतिक यात्रा फर्केर हेर्दा !
नेपाली काँग्रेस संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरिरहँदा थापा सडकमा गणतन्त्रको नारा लगाउने मात्र होइन त्यस्तो समुहको नेतृत्व गर्ने युवा नेता हुन् । लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व अनि लोकप्रिय छविको जताततै प्रशंसा भयो ।
हुँदा हुँदै उनी लोकतन्त्रकै नायक बन्न सफल भए । त्यस समयमा उनलाई विभिन्न सञ्चार माध्यमले पनि लोकतन्त्रकै नायकको रुपमा हेरिएको थियो ।
देशको समसामयिक बिषयका साथै पार्टीभित्र पनि आफूलाई उचित लागेको विषयमा प्रखर रूपमा आवाज उठाउने थापा चुनौति मोल्न सक्ने नेताका रुपमा परिचित छन् । २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए ।
दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका थिए । संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम उनले गर्दै आएका छन् । उनी २०७४ र २०७९ मा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
अब के ?
नेपालको राजनीतिक संक्रमण अझै अपूर्ण छ । जनता पुराना नेताहरूको गुटबन्दी, अपारदर्शिता र पुरानो शैलीबाट थाकिसकेका छन् । त्यसैले कांग्रेसले नेतृत्व, नीति र संरचनाको गम्भीर पुनःनिर्माण नगरेसम्म निराशा र अस्थिरता बढ्ने निश्चित छ ।
गगन थापाको नेतृत्व सम्भावनाले नयाँ आशा जगाएको छ भने त्यहीसँगै पुराना संरचनासँगको द्वन्द्व र राजनीतिक जोखिमले कांग्रेसलाई अझ संवेदनशील मोडमा ल्याएको छ ।
