News 24 Television
संयमता गुमाउँदै जेनजी, नेताहरुका बोली पनि उस्तै, सक्किने कि सच्चिने ?

काठमाडौं । जेनजी आन्दोलनपछि पछिल्लो समय अराजकता त मच्चिदैन ? धेरै डरहरु सिर्जना भएका छन् । युवाहरुको कुनै जमात सरकारी कार्यालय पुग्ने अनि जेनजी भन्दै अल्टिमेटम दिने  गर्छ । कोही मन्त्रीहरुमाथि समेत दबाब पुग्ने सोझो बाटोको खोजीमा देखिन्छन् । 

जेनजीका नाममा पछिल्ला समय भइरहेका गतिविधिले आन्दोलनको उद्देश्यभन्दा पनि डर सिर्जना गर्ने र निषेधको राजनीति त बढ्दैन ? यस्ता खतरा सिमरामा देखिएपछि स्थिति थप बिग्निने चिन्ता बढेको छ । 

जेनजीका नाममा पछिल्ला दिनहरुमा धाकधम्कीदेखि अशान्त वातावरण बनाउने गतिविधि बढिरहेका छन् । सरकारलाई जेनजी प्रतिनिधिभन्दै भेट्ने, अल्टिमेटम दिनेदेखि मन्त्रीहरुलाई खुलेआम चेतावनी दिनेक्रम रोकिएको छैन् । 

अन्तरिम सरकार निर्माणदेखि अहिलेसम्म पुग्दा अचम्म र रोचक घटनाहरु चलिरहेका छन् । केहिदिन पहिले मात्रै शिक्षामन्त्री महावीर पुनलाई एक जेनजी टोलीले पुगेर मागपत्र बुझायो । मन्त्री पुनलाई झोक चलेछ– सायद उनले भनिदिए– चुनावमा गएर आउनु अनि सबै माग पुरा गर्नु । म सक्दैन् । 

सरकारले हैरानी खेपिरहेकै छ । प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा पनि जेनजी प्रतिनिधिको बाक्लो उठ्बस चलिरहेको देखिन्छ । उनीहरुले अनेक माग राख्ने गरेका छन् । 

सरकारसंग आफ्ना माग र मुद्दा राख्ने विषय स्वभाविक भएपनि टुक्रा–टुक्रा पुगेर हैरानी नै दिनेक्रम बढेपछि सरकरले के गर्ला भन्ने चिन्ता देखिन्छ । यद्यपी सरकारले भने निर्वाचन सम्पन्न गराउनुलाई नै मूल कामको रुपमा लिएको दाबी गर्ने गरेको छ । 

सरकारले निर्वाचन सम्पन्न गराउने दाबी गर्दै आएपनि जेनजीका नाममा भइरहेका गतिविधिका कारण स्थिति सहज नहुने खतरा बढ्दै गएको छ । 

बारामा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई निषेध गर्ने भन्दै नाराबाजी नै चलेपछि सुरक्षा खतरा बढेको भन्दै पर्सा जिल्लाले कफ्र्यू नै लगाएको छ । कफ्र्यु लगाउने स्थिति बनेपछि एमालेले आफ्नो पार्टीका नेताहरुलाई कार्यक्रममा जान नदिएर गराउने चुनाव कस्तो हुन्छ भन्दै प्रश्न गर्न थालेको छ । 

एमाले आफू नेतृत्वको सरकार बाहिर आउनुपर्दा एकखाले रन्थनीमा छ । अन्तरिम सरकारले बनाउने चुनावमा भन्दा संसद पुनस्र्थापनामा जोड दिइरहेको छ । तर, जेनजीका नाममा चल्न थालेका निषेधका घटनाले एमालेलाई थप बल पुगेको छ । जसले निर्वाचनको स्थिति थप बिग्रिनेमा शंका छैन् ।

चौतर्फी विरोध

बारा जानबाट एमाले नेताहरु रोकिएपछि राजनीतिक दलहरुले समेत विरोध गरेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सिमरामा भएको प्रदर्शन र नेताहरु कार्यक्रममा जान नपाउनुले निर्वाचन हुन कठिन हुने भन्दै आपत्ति जनाएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सिमरा प्रकरणमा आपत्ति जनाएको छ । जेनजीको नाममा सिमरामा एमाले नेताहरुलाई अवरोध गर्नु आपत्तिको विषय भन्दै रास्वपाले निषेधको राजनीति गर्न नहुने भनेको छ ।  

यस्तै, एमाले नेताहरुमाथि जेनजी प्रतिनिधिको नाममा भएको विरोधलाई चौतर्फी विरोध गरिएको छ । तर, एमाले नेताहरुले दिने अभिव्यक्तिले समेत यस्तो वातावरण निर्माण भएको भन्दै कतिपयले भने संयमता सबैले अपनाउनुपर्नेमा जोड दिएका छन् । 

यद्दपि, जेनजी भन्दै जथाभावी गर्ने र कार्यालयमा पुगेर हप्कीदप्की गर्ने प्रचलन बढ्न थालेपछि सरकारले समेत यस्तो विषयमा ध्यान दिनुपर्नेमा जोड दिन थालिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update