News 24 Television
कांग्रेस विवाद विथोलियो ! गगनको ‘नो कम्र्पमाइज मुड’, अब एक्सन !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि अनिर्णयको दलदलमा फसेको छ । महाधिवेशनको मिति तय गर्न नसकिँदा पार्टीभित्र गहिरो विवाद र असहमति झन् तीव्र बनेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पटक–पटक बैठक स्थगित गर्दै छुट्टै छलफल गरि पार्टीका शीर्ष नेताबीच सहमतिको प्रयास गरिरहे पनि अझैसम्म सफल हुन सकेको छैन । अहिले त झन् शीर्ष नेताहरु एक्सन केन्द्रित बन्न थालेका छन् । 

नेपाली कांग्रेसमा पन्ध्रौं महाधिवेशन कहिले गर्ने भन्ने विषयले नै रडाको मच्चाइरहेको छ । गएको असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले अझै कुनै निर्णय गर्न सकेको  छैन । 

पटक–पटक बैठक स्थगित गरेर छुट्टै छलफल गर्दै सहमतिको प्रयास गरिरहेपनि अब नेताहरु रणनीतिक रुपमै अघि बढेर एक्सनमा उत्रिन थालेका छन् । केही समय पहिले फागुनको निर्वाचन पहिले नै नियमित महाधिवेशनप्रति केही लचक देखिएका महामन्त्री गगन थापा अहिले विशेष महाधिवेशनको विकल्पबाहिर जानै नहुनेमा प्रष्ट हिडिरहेका छन् । 

संस्थापन पक्षले निर्वाचन पहिले महाधिवेशन गर्नै नदिने रणनीति बनाएपछि गगन थापा पनि अब एक्सनमै उत्रिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू सहमतिको प्रयासमा रहे पनि गगन थापा नेतृत्वको समूह अब नियमित महाधिवेशन सम्भव नभएको जिकिर गर्दै विशेष महाधिवेशनको विकल्प बाहिर नरहेको अडानमा छन् । 

थापा समूहले औपचारिक रुपमा पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेको छ भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्ने वैकल्पिक कार्यतालिका अघि सारेका छन् । तर, संस्थापन पक्षमा रहेका पूर्वपदाधिकारीहरू निर्वाचन अगाडि महाधिवेशन असम्भव भएको भन्दै केन्द्रीय कार्यसमितिको म्याद वैशाखसम्म थप्नुपर्ने पक्षमा छन् । त्यसैले पनि महामन्त्री गगन अब नियमित भन्दा पनि विशेष महाधिवेशनको लाइन अख्तियार गरिरहेका छन् । यसले पार्टीभित्र गम्भीर ध्रुवीकरण र विवाद निम्त्याएको छ ।विशेष महाधिवेशनको पक्षधरहरूले असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइसकेका छन् । 

जसअनुसार विधानअनुसार पुस २९ गतेभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता छ । तर, संस्थापन पक्षले प्रतिनिधिसभा चुनाव फागुन २१ मा भएकाले महाधिवेशन स्थगित गरी वैशाखमा गर्ने प्रस्ताव अघि सारेका छन् । 

नेपाली कांग्रेसको अधिकांश संस्थापन पक्षका नेताहरू चुनावअघि महाधिवेशन गर्न नसकिने अडानमा छन् भने सभापति देउवाको नजिकका करिब २५ केन्द्रीय सदस्य भने चुनावअघि महाधिवेशन गर्ने पक्षमा छन् । मितिमा सहमति नजुट्दा पार्टी केन्द्रीय समितिको बैठक बारम्बार स्थगित हुँदै आइरहेको छ । 

नियमित कि विशेष महाधिवेशन ?

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र अन्य नेताहरु पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा भए पनि संस्थापन पक्ष यो प्रस्ताव स्वीकार्न तयार छैन । 

सहमहामन्त्री महेन्द्र यादवले आफूसहित प्रकाशमान सिंह, कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, शशांक कोइराला, एनपी साउद र विजय गच्छदारसहित केन्द्रीय सदस्यहरूको समर्थन रहेको समेत उल्लेख गरेका छन् । 

नजर अब शनिबारको बैठकमा

पार्टीभित्रको यो अस्थिरता र विवादले आगामी प्रतिनिधिसभा चुनाव र कांग्रेसको पार्टी एकतालाई गम्भीर असर गर्ने सम्भावना बढेको छ । 

विगत केही महिनादेखि महाधिवेशन विवाद उत्कर्षमा पुगेको छ भने पार्टीका शीर्ष तहका नेताहरूबीच सहकार्य र सहमतिको प्रयास जारी भए पनि ठोस नतिजा अहिलेसम्म आउन सकेको छैन ।

विश्लेषकहरूका अनुसार नेपाली कांग्रेसको यो अस्थिरता आगामी राजनीतिक परिदृश्य र आगामी चुनाव परिणाममा निर्णायक भूमिका खेल्न सक्छ । अब आउने शनिबार बोलाइएको केन्द्रीय समिति बैठकले विवादको समाधानका लागि नयाँ बाटो देखाउन सक्छ कि ? 

वा पार्टी अझ गहिरो संकटमा फस्ने सम्भावना बढी होला त्यो आगामी दिनहरूमा नेपाली कांग्रेसले लिने निर्णयले देखाउने छ । साथै कांग्रेसको निर्णयले नै देशको राजनीतिक दृष्यलाई कति प्रभावित पार्छ त्यो सबैको नजरमा रहनेछ ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update