काठमाडौं । नेकपा एमाले संसद पुर्नस्थापनाको पक्षमा रहेको भएपनि एमाले निर्वाचनबाट टाढा नभएको नेताहरुले बताइरहेका छन् । सरकारले निर्वाचनको वातावरण सिर्जना गर्न नसकेको उनीहरुको तर्क छ । सरकारले जेनजीको मागसमेत सम्बोधन गर्न नसक्ने भएकाले संसद पुर्नस्थापना हुनुपर्ने अडान एमालेको छ । संसद पुर्नस्थापना गरेर मात्रै जेनजीको माग सम्बोधन गर्न सकिने एमाले नेताहरुले बताइरहेका छन् ।
नेकपा एमालेले संसद पुर्नस्थापना गरेर मात्रै जेनजीको माग सम्बोधन गर्न सकिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सडक आन्दोलनतर्फ धकेलिरहेका छन् । एमालेका पदाधिकारी र स्थायी समितिका अधिकांश नेताहरुले ओलीको अभिब्यक्तिमा होमा हो मिलाइरहेका छन् । तर एमालेकै कतिपय नेता कार्यकर्ताहरु पार्टी पुर्नगठनमा जोड दिएका छन् ।
संसद पुर्नस्थापनाको मुद्दालाई अदालतमा लैजाने र सडकबाट एक साथ दबाब दिने भन्दै ओलीले दुई दिनअघि मात्रै पार्टीका विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । संसद पुर्नस्थापनाको ओलीको अडानका कारण फागुनमा निर्वाचन हुने संशय कायमै छ ।
ओलीले जर्बजस्त रुपमा उठाएको संसद पुर्नस्थापनाको मुद्दाका कारण एमाले निर्वाचनबाट भागेको आरोप लाग्न थालेको छ । यहि आरोपबाट बच्न एमालेका ओलीका प्रियपात्रहरुले पनि पार्टी निर्वाचनबाट भाग्न नखोजेको बताइरहेका छन् ।
सरकारले नै निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै उनीहरुले निर्वाचनको वातावरण बनेमा एमालेले चुनावमा भाग लिने उनीहरुको भनाई छ । निर्वाचनको वातावरण नबनेको बताइरहँदा केही घटनाले एमालेलाई झनै बढी झस्काइदिएको छ ।
बाराको सिमरामा पार्टीको कार्यक्रममा सहभागी हुन आफ्ना नेताहरुलाई रोकिएको विषय एमाले नेताहरुले उठाउन थालेका छन् ।
मुलुकमा देखिएको अवस्थाका कारण निर्वाचन हुने चुनौति देखिएकाले संसद पूर्नस्थापना गर्ने र संसद पुर्नस्थापना गरेर जेनजीका माग सम्बोधन गरी निर्वाचनमा जानुपर्ने आफुहरुको भनाइ रहेको एमाले नेता ठाकुर गैरेको भनाइ छ । एमालेले निर्वाचन नचाहेको भन्दै बजारमा हल्ला फैलाएर बद्नाम गर्न केही शक्तिहरु लागि परेको उनको आरोप छ ।
तर पछिल्लो समय राजनीतिक दलहरुबीच सहकार्यको विषय पनि उठ्न थालेको छ । राजनीतिक दलका नेताहरुलाई नै निषेध गर्ने पछिल्लो घटनाले सहमति र सहकार्यको विषय अपरिहार्य बन्न थालेको छ । त्यसैले एमालेकै कतिपय नेताहरुले सहमति र सहकार्यमा जोड दिन थालेका छन् ।
एमालेमा संसद पुर्नस्थापनाको मुद्दा केही नेताहरुले मात्रै उठाएको एमाले नेतृ उषाकिरण तिम्सिनाको भनाई छ । नागरिकको आवाजलाई पनि हेर्नुपर्ने उनको तर्क छ । एमाले एक्लै संसद पुर्नस्थापनाको मुद्धा चर्काे बनाएर जानु भन्दा अन्य दलहरुसंग पनि सहकार्य गरेर अगाडी बढ्नु पर्ने अन्यथा निर्वाचनबाट अघि बढ्नुपर्ने तिम्सिनाको सुझाव छ ।
संसद पुर्नस्थापनाको मागसँगै एमाले पार्टी पुनर्गठनका विषयमा पनि एक कदम अगाडि नै देखिएको छ । उसले मंसिर २७ देखि २९ गते महाधिवेशन गर्ने निर्णय गरि नै सकेको छ । कम्युनिस्ट पार्टीमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने भनेको महाधिवेशनबाट हो ।
महाधिवेशनबारे नै छलफल गर्न विहीबार बसेको पार्टी सचिवालय बैठकमा महाधिवेशनको तयारीबारे गम्भीर छलफल मात्रै भएको छैन, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अगामी महाधिवेशनमा आफु अध्यक्षको उम्मेदवार बन्ने संकेत समेत गरेका छन् ।
आफू पार्टी नेतृत्वमा आउनकै लागि पार्टी सदस्यता नविकरण गरेको भनी पूर्व राष्ट्रपति विद्य भण्डारीको अभिब्यक्ति सार्वजनिक भएपछि ओलीले पार्टी सदस्यता नै रोकेका थिए । ईश्वरको हकमा ओली कसरी अघि बढ्छन् हेर्न बाँकी छ । तर एमाले लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनमा विधानअनुसारको मापडण्ड पुग्ने जो कोही पनि नेताहरु उम्मेद्वार बन्न सक्ने एमालेका अर्का नेता बिशाल भट्टराईको तर्क छ ।
संसद पुर्नस्थापनाको मुद्दा उठाएर सडक आन्दोलन एमालेको चुनावी तयारी पनि हो । आन्दोलनमा नेता कार्यकर्ताको साथ कस्तो रहन्छ भन्ने कुराले पनि फागुनको निर्वाचनमा जाने नजाने निक्र्योल एमालेले निकाल्ने छ ।
