News 24 Television
निर्वाचनबारे कांग्रेस–एमालेका गोप्य योजना ! प्रचण्ड मुडमा, अन्य दल सुरमा!

काठमाडौं । फागुन २१ का लागि तय भएको निर्वाचनका लागि दलहरुले आफ्ना तयारीहरु गरिरहेका छन् । चुनावमा सहभागी हुने–नहुने विषयलाई लिएर विवाद देखिएपनि मुख्यतः एमालेले के गर्छ भन्ने चासो देखिन्छ । तर, चुनाव हुन्न भन्दै सार्वजनिक रुपमा उत्रिएको एमालेले निर्वाचन आयोगमा दिएको दल दर्ताको निवेदनले निर्वाचन गराउन सरकारको क्षमता र दक्षतामा धेरै विषय भर पर्ने स्थिति देखिन्छ । 

फागुन २१ का लागि तय गरिएको निर्वाचन कसरी सम्पन्न होला ? यो चासो धेरै देखिन्छ । जसमा सरकारले समेत राजनीतिक दलहरुसंग सम्बाद गरेर मार्गनिर्देश बनाउन तयार रहेको दाबी गर्दै आएको छ । 

जसमा सरकारले तीन चरणमा निर्वाचन सम्पन्न गराउने भनिरहेको छ, भने नेकपा एमालेले सरकारले नेताहरुलाई सार्वजनिक कार्यक्रममा जानै नदिएर गराउने निर्वाचन भन्दै राजनीतिक एजेण्डा बनाउन खोजिरहेको छ । 

यतिमात्रै नभई निर्वाचन आयोगमा दर्ता भएका दल सम्मिलित बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस–एमालेको अपमान गरेको आरोप ओलीले लगाएका छन् । 

ओलीले यस्तो आरोप लगाउनुको कारण हो– दलहरु फागुन २१ को निर्वाचनमा नगए अराजकता निम्तिने भन्दै प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्ति । यस्तो अभिव्यक्तिले दलहरु भड्किएपनि सरकारले निर्वाचनको माहोल भने बनिरहेको दाबी आइरहेका छन् ।

यसरी चलिरहेको विवादलाई समाधानमा लैजान राष्ट्रपति रामचन्द्र पौडेलले समेत अग्रसरता देखाएका छन् । जेनजी आन्दोलनपछिको स्थितिलाई केन्द्रमा राख्दै राष्ट्रपतिले निर्वाचनको माहोल बनाउने प्रयास गरिरहेका छन् । 

राजनीतिक रुपमा एमालेबाहेकका दलहरु निर्वाचनमा जाने खुला रुपमै भनिरहेका छन् । तर, निर्वाचन कुनै दलमा बार्गेनिङको अस्त्र बन्न पुगेको छ भने कुनै दलमा निर्वाचन होला र भन्ने भय बढ्न थालेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि केहि मुख्य दलको अवस्था के छ त ? 

१. नेपाली कांग्रेस

कांग्रेसमा संस्थापन इतरपक्ष निर्वाचनमा जानुपर्ने बलियो मत राख्नेमा पर्छ । यहि कारण संसद विघटनको मुद्दालाई समेत फरक ढंगले हेरिरहेको कांग्रेसको संस्थापन पक्ष पुनस्र्थापना हुनसक्ने भन्दै पर्ख र हेरको स्थितिमा छ। अझं रोचक विषय त आगामी निर्वाचनलाई लिएर कांग्रेसमा एकखाले बार्गेनिङ नै चलिरहेको छ । 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन निर्वाचनअघि नभए निर्वाचनमा उम्मेदवार नै नबन्ने धम्की दिएका छन् । 

शर्मा र थापाले निर्वाचन जित्ने आधार कति र कस्तो ? यी विषयमा समेत कांग्रेसमा जुहारी चलिरहेको छ । तर, पनि महाधिवेशनलाई सार्ने र छिटो गर्ने पक्षबीच निर्वाचन अस्त्र बन्न पुगेको छ । उसोतः कांग्रेसमा निर्वाचनमा जानुपर्ने मत बलियो देखिन्छ ।

२. नेकपा एमाले

नेकपा एमालेले निर्वाचन हुनै नसक्ने र अन्तरिम सरकारले गराउन नसक्ने दाबी गर्दै आएको छ । एमाले नेताहरुले निर्वाचनमा जाने गरि आन्तरिक तयारीस्वरुप निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएपनि शान्ति सुरक्षादेखि कैदीबन्दी फरारको विषयलाई समेत जोडेर उनीहरुले निर्वाचन हुन नसक्ने दाबी गर्दै आएका छन् । तर, एमालेले आगामी निर्वाचनमा सरकारले सम्पन्न गराउने कदम चालेमा भने निर्वाचनमा जानेमा शंका देखिन्न ।

३. नेपाली कम्युनिस्ट पार्टी

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्तामा समेत अग्रसर देखियो । आगामी निर्वाचनलाई जेनजीको म्याण्डेट अनुमोदन गराउने समय भन्दै नेताहरुले निर्वाचन केन्द्रित बन्ने दाबी गरिरहेका छन् । तर, उनीहरुमा समेत निर्वाचन नहुने भय देखिन्छ । यद्यपी उनीहरुले अहिले निर्वाचनलाई नै केन्द्रमा राखेर विभिन्न एकता तथा मोर्चाबन्दीका प्रयासलाई जोड दिन थालेका छन् ।

४. राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा सहभागी हुनका लागि अग्रसर बनिरहेको छ । पार्टी सभापति रवि लामिछाने जेलमा रहेका कारण केहि हच्किएको रास्वपाले सकेसम्म नयाँ अनुहार र व्यक्तिलाई ल्याउने प्रयास गरिरहेको छ । तर, यो सम्भव नभएपनि निर्वाचनलाई उपयोग गर्ने र नयाँ रणनीति तयार पार्ने भनिरहेको छ। उसोतः रास्वपामा केहि नेताहरुले पार्टी छाडेपछिको स्थितिलाई साम्य पार्ने चुनौती समेत रास्वपालाई आइलागेका कारण तयारीमा केहि सुस्तता भने देखिन्छ ।

५. राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको आन्तरिक कलह झांगिदै गएको छ । महामन्त्री धवलशमशेर जबरा पक्ष र राजेन्द्र लिङ्देन पक्षबीचको घोचपेच र विवादकाबीच आगामी निर्वाचनमा जाने भनेपनि अलमल देखिन्छ । पार्टी विभाजनको खतरा समेत रहेका कारण पनि निर्वाचनमा जाने प्राविधिक विषयबाहेक राप्रपा आन्तरिक द्वन्द्ध र विवादमा देखिन्छ ।   

६. मधेश केन्द्रित दलहरु

मधेश केन्द्रीत दलहरु एकता, मोर्चाबन्दीदेखि अन्य विषयमा छलफलमा जुटेका छन् । शक्ति संघर्षका कारण टुटफुटमा सक्रिय भइरहने मधेस केन्द्रित दलहरु के गर्लान ? उनीहरु छिन्नभिन्न स्थितिमा रहेकै कारण समेत संसय देखिन्छ । 

मधेस केन्द्रित दलहरु लोसपा, जसपा, जनमत जस्ता पार्टीहरु आन्तरिक विवाद र टुटफुटमा गएका कारण पनि अलमल देखिन्छ ।

नयाँ दलको संख्या उच्च

प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखि नयाँ–नयाँ दलहरु दर्ता भइरहेका छन् । कुलमान घिसिङंको प्रोक्सी दलदेखि खगेन्द्र सुनार, हर्क साम्पाङसम्मले दल दर्ता गराएर निर्वाचनमा होमिने निर्णय गरेका छन् । अझं, रोचक पक्ष त बन्दुकको नालबाट सत्ता प्राप्त गर्ने भन्दै हिडेका नेत्रविक्रम चन्द विप्लवले निर्वाचन  आयोगमा नेकपा माओवादी नामको दल दर्ता गराएका छन् ।

केहि पहिले नेकपा भन्दै समग्र वामपन्थी दलको नेतृत्व गर्ने भनेका विप्लवले प्रचण्डको नाममा माओवादी ब्राण्ड नरहेको बेला गुलाबको फूललाई निर्वाचन चिन्ह लिएर चुनावमा आउने भएका छन् । 

दलहरुका साथै यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुका साथै जेनजी पुस्ताको उम्मेदवारी समेत बढ्न सक्ने परिदृष्य देखिन्छ । उनीहरुले पनि निर्वाचनको तयारीमा आफ्ना गतिविधि केन्द्रित गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update