काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादले नयाँ मोड लिने स्थिति बन्दै गएको छ । कांग्रेसमा संस्थापन इतरपक्षले पार्टी महाधिवेशनबारे निर्णायक धक्काको तयारी थालेपछि अब कांग्रेसमा एकता कायम रहला ? प्रश्नहरु छरपष्ट छन् । संस्थापन पक्ष महाधिवेश सार्ने अडानमा अनि कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशनको विकल्प नभएको दाबी गर्ने सुरमा देखिएपछि कांग्रेसको आन्तरिक राजनीति थप गिजोलिने देखिएको हो । तर, प्रतिनिधिसभा निर्वाचनमा जाने विषयमा भने कांग्रेस संस्थापन र इतर दुवै पक्षको मत एक देखिएको छ ।
कांग्रेसभित्र एउटा संसय थियो, निर्वाचनमा होमिने वा संसद पुनस्र्थापनाको पक्षमा उभिने । तर, कांग्रेसले निर्णय ग¥यो– निर्वाचनमा जाने । कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपछि संसद पुनस्र्थापनाको पक्षमा उभिनेमा नेकपा एमाले एक्लै बनेको छ । एमालेले अहिलेको अन्तरिम सरकारलाई संविधानले नचिन्नेदेखि अनेकौं आरोप लगाइरहेको छ ।
दोस्रो ठुलो दल एमालेले संसद पुनस्र्थापनाको पक्षमा आवाज उठाइरहँदा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले भने प्रतिनिधिसभाको निर्वाचनमा जाने निर्णय गरेको छ ।
कांग्रेसमा संसद पुनस्र्थापनाका लागि उभिने भन्दै हस्ताक्षर समेत संकलन भएको स्थिति थियो, तर जेनजी आन्दोलनको स्पिरिट र जनताको मनोभावनालाई केन्द्रमा कांग्रेसले चुनावमै जाने निर्णय ग¥यो ।
कांग्रेसमा परेको दबाबपछि निर्वाचनमा जाने निर्णयले सरकारलाई अब धेरै सहज हुने स्थिति भने बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निरन्तर निर्वाचनको वकालत गरिरहनु र निर्वाचनको माहोल निर्माण गर्नुपर्नेमा कांग्रेसले समेत भूमिका खेल्नुपर्ने दबाबकाबीच कांग्रेसले निर्वाचनमा जाने निर्णयमा पुगेको बताइन्छ । तर, कांग्रेसले निर्वाचनमा जाने निर्णय एकमतले गरेपनि महाधिवेशनको अड्को भने फुकाउन सकेन् ।
कांग्रेसले नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विवादलाई सुल्झाउन नसकेपछि महाधिवेशन निर्वाचन अघि नै हुनुपर्ने माग राख्दै आएका महामन्त्री गगन थापाले भने अब विशेष महाधिवेशनको विकल्प नभएको दाबी गरेका छन् ।
कांग्रेसलाई एकढिक्का राख्न भन्दै पार्टी सभापति शेरबहादुर देउवाले समेत पहल थालेका छन् । पार्टीका नेताहरुलाई बोलाएर छलफल गरिरहेका देउवाले महाधिवेशनको निर्णय सार्वभौम केन्द्रीय समितिले गर्ने भन्दै आएपनि उनले नियमित महाधिवेशन निर्वाचनपछि गर्नुपर्नेमै जोड दिइरहेको बताइन्छ । तर, यता, संस्थापन इतर पक्षले भने महाधिवेशनलाई निर्वाचन अघि गर्नुपर्ने बटम लाइनको रुपमा अघि सार्दै आएको छ।
के होला कांग्रेस ?
कांग्रेसमा महाधिवेशनको रस्ससाकस्सीमा चलिरहेको विवादले कतै पार्टी विभाजनमा जाने त होइन ? भन्ने केहीले चर्चा गरिरहेका छन् । तर, कांग्रेसमा फुटसम्मकै अवस्था आउने कुनै संकेत छैन । असन्तुष्टि चरम भएपनि बहुमतको निर्णय स्वीकार गर्ने परिपाटी कांग्रेसमा छ । यद्दपि, शक्ति संर्घष उच्च चलिरहेको छ, अहिले ।
कांग्रेसमा महाधिवेशन निर्वाचन अघि सम्पन्न गर्दै निर्वाचनमा टिकट बाँड्ने रन्को समेत देखिन्छ । यस्तोमा संस्थापन पक्षले महाधिवेशनलाई नियमित गर्ने र मिति निर्वाचनपछि तोक्ने भनिरहेको छ । तर, यहि विवाद बल्झिदा कांग्रेस विभाजनमा जाने त होइन भन्ने खतरा बारे चर्चा भएको देखिन्छ ।
विशेष महाधिवेशन बोलाउन भन्दै हस्ताक्षर संकलन गरि कार्यबाहक सभापतिलाई बुझाइ सकिएको समेत छ । तरपनि, महाधिवेशनको मिति तोक्ने अपेक्षा गरिएको कांग्रेस केन्द्रीय समिति बैठकले यस पटक महाधिवेशनबारे ठोस निर्णय गरेन ।
यस्तो अवस्थाका बीच विशेष महाधिवेशन मंसिर २७–२८ गते हुनुपर्ने महामन्त्री थापाले राखेका छन् । तर, यस विषयमा सहमति जुट्ने सम्भावना न्यून देखिन्छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशतले हस्ताक्षर गरेको भनिएपनि संस्थापन पक्षले हस्ताक्षर सनाखतदेखि अन्य कुराहरुमा समेत अघि बढ्ने देखिएमा समेत यो विषय लम्बेतान बन्नेमा शंका छैन् ।
जसकारण विशेष महाधिवेशनको विषय थप जटिल बन्ने देखिन्छ । यसकारण पनि कांग्रेसको आन्तरिक राजनीति थप गिजोलोने खतरा भने बढ्न थालेको छ । कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको यो अन्योलता असहज परिस्थिति भएपनि सर्वसम्मतिमा महाधिवेशनको विषय टुंगिने दाबी भने चलिरहेकै छ ।
कांग्रेसले निर्वाचनमा जाने निर्णयले सरकारलाई सहजता देखिएको छ भने अहिले दल विभाजनको कानून समेत सक्रिय नभएकाले कांग्रेसको आन्तरिक राजनीति अझं दाउपेचपूर्ण बन्ने स्थिति भने कायम छ ।
