News 24 Television
टुंगिएन महाधिवेशन विवाद, गुटगत भेला जारी

काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक द्वन्द्व चर्किदै जाँदा पार्टी नै अनिर्णयको बन्दी बनेको छ । कांग्रेसमा संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन भनिरहेको छ भने गगन समुहले विशेष महाधिवेशन हुनुपर्ने अडान कायमै राखेको छ । यसले गर्दा कांग्रेस भित्र थप विभाजन भएको छ । गगन र संस्थापन समुहमा नरहेका केही नेताहरुले मध्यस्थता गर्न खोजेता पनि दुवै पक्षले आ–आफ्नो अडान कायम राख्दा पार्टी नै फुटको संघारमा पुग्ने त होइन ? भन्ने आमरुपमा चासो बढेको छ । 

नेपाली कांग्रेस भित्र नियमित महाधिवेशन कि विशेष भन्ने विवादकै कारण केन्द्रीय समिति बैठक एक महिना भन्दा बढि लम्बियो । तर संस्थापन पक्षले निर्वाचनअघि कुनै पनि महाधिवेशन हुन नसक्ने अडान राख्दा सहमति जुट्न सकेन । 

यहि विवादका कारण लम्बिएको केन्द्रीय समिति बैठक महाधिवेशनको विवाद थाती नै राखेर गरियो । आगामी राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने एक मात्र निर्णय गरेर केन्द्रीय समिति बैठक सम्पन्न गरिएको थियो । यो विवाद अहिले पनि कायमै छ । संस्थापन पक्ष पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने भएकाले कुनै पनि महाधिवेशन हुन नसक्ने अडानमा छ भने महामन्त्री गगन थापा अब विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।  

महामन्त्री थापासहित डा. शेखर कोइरालाले तत्काल महाधिवेशनको मिति तय गर्नुपर्ने अडान कायमै राखेका छन् । महाधिवेशनको विषयमा कांग्रेसका तल्लो कमिटीका नेता÷ कार्यकर्ताहरु समेत पक्ष र विपक्षमा छन् । अहिले कांग्रेसमा विभिन्न समूहको गुटगत भेलाहरु भइ नै रहेका छन् । 

गत कार्तिक १८ गते गगन समुहले विशेष महाधिवेशनको माग राख्दै बानेश्वरमा एक भेला आयोजना गरेको थियो । त्यसलगत्तै संस्थापन पक्षले पनि कार्तिक २० गते भेला गरेर नियमित महाधिवेशनमै जाने भन्दै गगन समूहलाई काउण्टर दिएको थियो । त्यसपछि कांग्रेस बैठकमा महाधिवेशन र विशेष महाधिवेशनको बिषय झनै चर्काे बन्दै गयो । अहिले फेरि गगन÷शेखर समुहले मंसिर १० गते महाधिवेशन प्रतिनिधिहरुको भेला डोकेको छ । 

गगन र शेखर समुहका नेताहरुले विशेष महाधिवेशनको माग राखेर अगाडि बढेपछि कांग्रेस संस्थापन समुह पनि उक्त समुहलाई काउण्टर दिने गरि भेलाको तयारीमा छ । नियमित महाधिवेशन पक्षधरले भ्रातृ संगठनहरुलाई अगाडि सारेर १२ गते भेला गरि गगन समूहलाई  काउण्टर दिने तयारीमा छ । 

विशेष महाधिवेशनको वकालत गरेर हिड्ने नेताहरुलाई संस्थापन पक्षले जेनजीले उठाएको माग सम्बोधन गर्न विशेष महाधिवेशन भन्ने तर पुरानै महाधिवेशन प्रतिनिधिबाट हुने विशेष महाधिवेशनले कसरी जेनजीका माग सम्बोधन गर्छ भनेर प्रश्न गर्ने गरेका छन् । 

जेनजीका नाममा ‘सके पार्टी सत्ता कब्जा गर्ने, नसके पार्टीलाई कमजोर बनाउने’ तर्फ विशेष महाधिवेशनको माग राख्नेहरु लागेको उनीहरुको आरोप छ । पार्टी रुपान्तरणका लागि पनि नियमित महाधिवेशन गनुपर्ने तरुण दल अध्यक्ष विद्वान गुरुङ तर्क गर्छन् । नियमित महाधिवेशन गर्दा वडा तहबाटै छानिएर महाधिवेशन प्रतिनिधि आउँने तर विशेष गर्दा पुरानै महाधिवेशन प्रतिनिधि हुने गुरुङको भनाई छ । 

विशेष महाधिवेशन पक्षधरहरु भने संस्थापन पक्षले महाधिवेशन साढे १ बर्ष भन्दा बढी समय पछाडि धकेल्न खोजेका कारण विशेष महाधिवेशन हुनुपर्ने माग राखेको बताउँछन् । विशेष महाधिवेशन गरेर कांग्रेसको विधान संशोधन गर्ने र जेनजीको प्रतिनिधित्व सुनिश्चित गरेर १५ औं महाधिवेशन गर्ने आफुहरुको भनाइ रहेको कांग्रेस नेता गुरु घिमिरे बताउँछन् । 

यता देउवा पक्षकै २८ केन्द्रीय सदस्यहरुले पनि निर्वाचन अगाडि नै महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नेगरि तत्काल महाधिवेशनको मिति तोकिनुपर्ने बताएका छन् । 

महाधिवेशनको बिषयलाई लिएर विशेष महाधिवेशन पक्षले विशेष महाधिवेनको मिति तोकेर अगाडि नबढे बहुमत महाधिवेशन प्रतिनिधिहरु भेला भएर विशेष महाधिवेशन गर्ने  चेतावनी नै दिएका छन् । यता, संस्थापन समुह भने क्रियाशिल सदस्यता समेत टुङ्गो नलाइ सकेको अवस्थामा विशेष महाधिवेशनको माग राख्दा पार्टीलाई क्षती हुने भन्दै निर्वाचनपछि नै महाधिवेशन गर्नु पर्ने बताइ रहेका छन् । कांग्रेस भित्रको यो द्वन्द्व अझै चर्कीदैं गएमा कांग्रेस फुटको बाटोमा नजाला भन्न सकिदैन ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update