काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको अडान कायमै राखेको महामन्त्री गगन थापा समुहले बुधबार विशेष भेला आयोजना गरेर विशेष महाधिवेशन गर्न पार्टी भित्र दबाब बढाएको छ ।
पार्टी भित्र तत्काल नियमित महाधिवेशनको मिति घोषणा गर्न संस्थापन पक्षले अटेर गरेपछि गगन समुहले विशेष महाधिवेशनको मुद्धालाई बटमलाइन नै बनाएको छ । पार्टीका करीब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले राखेको मागलाई पार्टीले अन्देखा गरेर जान नहुने भन्दै थापा समुहले दबाब बढाएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा समुहले बुधबार काठमडौंमा एक भेला आयोजना गरेर विशेष महाधिवेशनको लागि दबाब दिएको छ । पार्टीका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षमा भएको भेलामा देशभरका गगन पक्षका महाधिवेशन प्रतिनिधिहरुको सहभागीता थियो । यद्यपि गगन थापा आफू भने भेलामा सहभागी भएनन् ।
उक्त समूहको भेलालाई स्वागत गर्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको लागि कुनै चासो नदेखाएको र महाधिवेशनलाई डेढ बर्षपछि धकेल्ने खेलतर्फ लागेकाले विशेष महाधिवेशनमा लैजान दबाब दिनुपर्ने बताए ।
उनले जेनजी आन्दोलनपछि कांग्रेसको नीतिमा सुधार, नयाँ पुस्तालाई पार्टीमा स्थान दिनु पर्ने माग राख्दा पार्टीको बैठक लम्ब्याउने रणनीतिमा संस्थापन पक्ष लागेकाले विशेष महाधिवेशनको बिकल्प नरहेको घिमिरेको तर्क छ ।
कांग्रेसमा विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिबाटै पास गर्नुपर्ने ब्यवस्था विधानमा छ । तर गगन समुह केन्द्रीय समितिमा संस्थापन समुह भन्दा कमजोर छ ।
यस्तो अवस्थामा विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिबाट पारित हुन निकै कठिन देखिन्छ । तर गगन समुहका नेताहरु देउवा समुहमा समेत फुट आइसकेको हुनाले नियमित महाधिवेशनको मिति तोकेर अगाडि नबढे बिशेष महाधिवेशनको पक्षमा केन्द्रीय समितिमा समेत बहुमत पुग्ने दाबी गर्छन् ।
संस्थापन समुहले नियमित महाधिवेशन गर्ने समयमा विशेष महाधिवेशनको माग राख्नुको कुनै अर्थ नहुने भन्दै फागुनको निर्वाचन अगाडी नियमित महाधिवेशन हुने समय अवधिका कारण असम्भव भएको बताउने गरेको छ ।
अहिलेसम्म कांग्रेस क्रियाशिल सदस्यताको टुङ्गो लागेको छैन । क्रियाशिल सदस्यता समेत टुङ्गो नलागेको भन्दै नियमित महाधिवेशन हुन नसक्ने र निर्वाचन अगाडी विशेष महाधिवेशन गर्दा त्यसले पार्टीलाई निर्वाचनमा ठुलो असर गर्ने दाबी संस्थापन समुहको छ ।
नियमित महाधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि नगर्ने भए देउवाकै नेतृत्वमा निर्वाचनमा होमिनु पर्ने बाध्यता कांग्रेसमा हुन्छ ।
नेतृत्व परिर्वतन नगरी निर्वाचनमा कांग्रेस गए त्यसले जनतामा निराशा उत्पादन गर्ने र त्यसको असर मतदानमा पर्ने भन्दै जनताले चाहेको नेतृत्व परिर्वतन गरेर मात्रै निर्वाचनमा जानुपर्ने भएकाले पनि विशेष महाधिवेशन आवश्यक रहेको गगन समुहका केन्द्रीय सदस्यहरु बताउँछन् ।
निर्वाचनमा होमिदाँ कांग्रेसले आफुलाई परिर्वतन गरेको महसुश जनताले गर्नु पर्ने बाध्यता छ । तत्काल महाधिवेशन नभए विशेष महाधिवेशनबाट भए पनि कांग्रेसले आफुलाई परिर्वतन गरेको सन्देश दिनुपर्छ । महाधिवेशन प्रतिनिधिहरुले ग्राउण्डको भावना बुझेर पार्टीमा विशेष महाधिवेशन हुनुपर्ने भन्दै हस्ताक्षर संकलन गरेर पार्टीमा पेश गरेका थिए ।
विशेष परिस्थितीमा पेश भएको महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरलाई नकारेर केन्द्रीय समिति अगाडि बढ्न नहुने भेलामा आएका प्रतिनिधि र महासमिति सदस्यहरुको बताउँछन् ।
विशेष महाधिवेशन पक्षले गरेको बुधबारको भेलामा कांग्रेसका २ वटा प्रदेशका सभापति, ४ केन्द्रीय सदस्यसहित जिल्ला स्तरका नेताहरुको समेत उपस्थिति थियो ।
भुगोलमा बसेर काम गर्नुपर्ने कांग्रेस कार्यकर्ताहरु अहिलेकै अवस्थामा जनतामाझ जान अप्ठेरो हुने बताइरहेका छन् । जनतामा कांग्रेस रुपान्तरण र पुर्नगठन भएको सन्देश जानुपर्ने उनीहरुको भनाई छ । त्यसैले महाधिवेशनको मिति तत्काल तोक्न सक्ने अवस्था नभए विशेष महाधिवेशन भए पनि गर्नुपर्ने सन्देश बोकेर आफुहरु काठमाडौं आएको कांग्रेसका जिल्ला पक्षका नेताहरुको समेत भनाइ छ ।
केन्द्रदेखि जिल्ला र वडा तहसम्म नै गगन समुहले पार्टी भित्र विशेष महाधिवेशन हुनुपर्ने भन्दै दबाब बढाई रहेको छ । तर संस्थापन पक्षले भने गगन समुहले पार्टी संकटको बेलामा पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नु पर्नेमा पार्टी भित्र गुटगत राजनीति गरेर अगाडि बढेको आरोप लागाइ रहेको छ ।
संस्थापन र गगन समुह एकले अर्काे पक्षको संग नझुक्ने भन्दै आ–आफ्नो अडान कायमै राखेर अगाडी बढिरहेका छन् । जसले गर्दा पार्टी गुटलाई झनै बलियो बनाएको छ । जसले गर्दा विगतमा जस्तो आगामी निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारमाथि अन्तरघात हुने सम्भावना उत्तिकै छ ।
