News 24 Television
नेताका गतिविधि अस्वभाविक ! ध्रुवीकरण गतिले भयानक खतराको सम्भावना !

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा पुराना दलहरू आफ्नो अस्तित्व बचाउन संघर्ष गरिरहेका छन् । जसका लागि नयाँ दलहरू एकजुट भएर प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् ।

जेनजी आन्दोलनपछि राजनीतिमा आएको नयाँ चेतना र विचारले आगामी चुनावलाई एक निर्णायक घडी बनाउने देखिन्छ भने पुराना र नयाँ शक्तिहरू बीचको संघर्षले आगामी निर्वाचनलाई रोचक बनाउँदैछ । 

प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुका अनेक गतिविधि बढ्न थालेका छन् । आगामी निर्वाचनले नेपाली राजनीतिको नक्सा एकाएक भूकम्पीय धक्काको गतिमा पुनर्संरचना समेत हुँदैछ । 

त्यसैले पनि अहिले दृष्य यस्ता देखिन्छन् कि, मानौँ दशकौँदेखि जमेका दलहरू अस्तित्व जोगाउने अन्तिम प्रयत्नमा छन् भने नयाँ शक्तिहरू विखण्डनको डरले एकजुट हुँदैछन् । 

जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक चेतनाले पुराना राजनीतिक समीकरणहरूलाई हल्लाएको अनुभूति दलहरूलाई तीव्र रूपमा भइरहेको छ । यसैले आजको राजनीति विकल्प नभई विकल्पहरूको प्रतिस्पर्धी ध्रुवीकरणतर्फ धकेलिँदै छ ।

निर्वाचन : नयाँ पुराना सबैको एउटै नजर

निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाको भीड हेर्दा सबै दल, चाहे पुराना हुन् वा नव–उदीयमान, चुनावी खेलमा होमिएका छन् । केही दलले त दर्ताको प्रमाणपत्र हातमा पर्नासाथ नै विचार मिल्दो मिल्दोजस्तो दलहरूसँग बिना समय खेर फाल्दै सहकार्य घोषणा गरिसके । 

अशोक राईको जनता समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल तीनै दलले जाँतोलाई साझा चुनावचिह्न बनाउँदै निर्वाचन आयोगमा औपचारिक प्रस्ताव बुझाएका छन् । 

यो कदमलाई धेरैले मधेश केन्द्रित राजनीति पुनःसंयोजनको संकेत मात्र नभई आफ्नो आधार खस्कँदै गएको ठम्याएका दलहरूको राजनीतिक ‘सेफ मोड’ पनि मानिरहेको देखिन्छ ।

त्यस्तै, जेनजी आन्दोलनपछिका युवा केन्द्रित दलहरू उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी एकै चुनावचिह्न ‘चिम’ मा एकीकृत भएर उत्रनुले नयाँ पुस्ताको राजनीतिमा सामाजिक ऊर्जा छ, तर बिखण्डनको जोखिम अझै ठूलो भन्ने तथ्य पुनः पुष्टि गर्छ । कुलमान घिसिङको प्रभाव देखि नयाँ अनुहारहरूको आकांक्षासम्म, यी दलहरूको सहकार्यले युवा राजनीतिको दिशाबोध देखाए पनि यसको निरन्तरतामा भने प्रश्न कायमै छ । 

अर्कोतर्फ वैकल्पिक राजनीति निर्माणका दुई प्रमुख दल रास्वपा र विवेकशील साझा अन्ततः एकीकरण प्रक्रियामा उत्रिएका छन् । 

२०७९ को चुनावमा चौथो शक्ति बनेको रास्वपा र पुरानैदेखि वैकल्पिक मार्ग खोजिरहेको विवेकशील साझाको यो सहकार्य नयाँ पुस्ताको मतलाई संस्थागत गर्ने ठूलो जुवारी मानिएको छ । तर, यो एकता विचार मिलेरभन्दा पनि प्रभाव बढाउन गरिएको ‘राजनीतिक फ्रेन्चाइज’ मात्र भएको भन्दै आलोचना भैरहेको छ ।  

पुराना कम्युनिस्टहरूः अस्तित्व जोगाउने अन्तिम मोर्चा

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ कम्युनिस्ट समूह मिलेर गरिएको एकता विचारधाराको पुनर्जागरणभन्दा पनि अस्तित्व बचाउको सामूहिक प्रयत्नका रूपमा हेरिएको छ । दशकौँदेखि सत्ताका मुख्य खेलाडी रहेकाहरू अहिले संकुचित आधार, कमजोर संगठन र अविश्वसनीय नेतृत्वका कारण नयाँ खतराहरू महसुस गरिरहेका छन् । 

यसैले यो ठूलो एकता भन्दा पनि  अन्तिम एकता त होइन ? भन्ने प्रश्न उठ्न थालेको छ । त्यस्तै बिहिबार मात्रै जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा (माओवादी) विद्रोही समूह पनि नेकपामा समाहित भएको छ । 

मधेश मोर्चामा ध्रुवीकरण

सिके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर र रञ्जिता श्रेष्ठबीचको चुनावी तालमेल प्रयासले मधेश राजनीति एकैसाथ एकता र प्रतिस्पर्धाबीच अलमलिएको चित्र देखाएको छ । मधेशमा सिग्नल एकता हुन्छ कि कडा प्रतिस्पर्धा यसले त्यहाँको निर्वाचन निस्कर्ष मात्र होइन संघीय राजनीति नै कता मोडिनेछ भन्ने निर्धारण गर्ने देखिन्छ । 

किन यति तीव्र ध्रुवीकरण ?

जेनजी आन्दोलनले ल्याएको नयाँ राजनीतिक चेतनाले पुराना दललाई आफ्नो आधार खस्किने प्रबल डर दिएको छ भने  नयाँ दललाई विभाजनले पुरानै दललाई जिताइदिने जोखिम देखाइदिएको छ । यसैले सबै समूहहरू अहिले एकै दिशामा दौडिरहेका छन्, ध्रुवीकरण । 

पुराना शक्तिको अस्तित्व युद्ध र नयाँ शक्तिको उदय संघर्षबीचको ध्रुवीकरणले आगामी चुनावलाई पछिल्ला वर्षकै सबैभन्दा नाटकीय राजनीतिक अध्याय बनाउने संकेत दिइसकेको छ । निर्वाचन आयोगले दर्ता समय मंसिर १४ सम्म बढाएको छ र अहिलेसम्म १ सय ६ दल दर्ता भइसकेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update