काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले देशको स्वाधीनता, भू-अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुनुपर्ने बताएका छन् ।
शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेकपा (एमाले)का नेताहरुलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान समेत गरे । उनले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनलाई आफूले शुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरुका जायज मागहरु सम्बोधन गर्न वाम एकता गरेको बताए ।
उनले केहीले निर्वाचन जित्नको लागि मात्र एकता गरेको भन्ने टिप्पणी गर्ने गरेको भन्दै त्यो कुरामा कुनै सत्यता नरहेको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ती ल्याउनको लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरुलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको बताए ।
उनले भने, ‘म नेकपा एमालेभित्र रहेका सबै क्रान्तीकारी नेताहरुलाई पनि गहिरो गरी विचार गर्न, चिन्तन गर्न र वृहत शक्ति निर्माण गरेर यो राष्ट्रको रक्षा गर्ने, यसको स्वाधिनताको रक्षा गर्ने, भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौम सत्ताको रक्षा गर्ने कुरामा गम्भीर भएर धुव्रिकृत हुनको लागि हामी विषेश रुपले अपिल गर्न चाहान्छौं । यो सभामार्फत देशभरीका अन्य वामपन्थी क्रान्तीकारीहरुलाई पनि अब बिना कुनै पूर्वाग्रह एउटा बृहत् शक्ति निर्माण गरेर नयाँ समाजवाद निर्माणको संकल्पमा अगाडि आउन म अपिल गर्न चाहन्छु । म देशभरका देशभक्त जनतालाई पनि अपिल गर्न चाहान्छु । २३ गतेको जेनजी आन्दोलन र त्यसका मुद्दाहरु हामीहरुले उठाउँदै आएका माग मुद्दाहरु थिए । हामीले युवाहरुको त्यो आन्दोलन जायज छ भनेर शुरुमै समर्थन गरेका थियौं । हामीले युवाहरुको आन्दोलनमा सरकारले बल प्रयोग नगरोस् भनेर खबरदारी समेत गरेका थियौं । तर दुर्भाग्य २३ गते ठूलो नसंहार भयो ।’
उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गरे । आफूले संसद विघटन गर्दा ठिक भन्ने अहिले संसद पुनःस्थापनाको माग माग गर्दै ओली बेतुकको तर्क गर्दै हिँडेको उनको आरोप छ ।
