कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता सन्देश सभा गरेको छ । सुदूरपश्चिम र लुम्बिनीपछि निरन्तर चलिरहेको एकता अभियान पोखरामा आइपुगेको हो । तर दलहरुको प्रदर्शन तथा सभा सम्मेलनलाई अनुमति दिँदा आफूहरु समस्यामा परेको भन्दै नेकपाको कार्यक्रम भइरहँदा ब्यवसायीहरु विरोधमा उत्रिए । चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्म राजनीतिक दलहरुको कार्यक्रम गर्न रोक लगाउनुपर्ने भन्दै पोखराका ब्यवसायीहरु केही समयदेखि आन्दोलनमा छन् ।
नेपाली कम्युनिष्ट पार्टीले पोखरामा आइतबार एकता सन्देश सभा गरेको छ । शुक्रबार सुदूरपश्चिमको धनगढी र शनिबार लुम्बिनी प्रदेशको देउखुरीमा एकता सन्देश सभा गरेको नेपाली कम्युनिस्ट पार्टीले आइतबार गण्डकी प्रदेशको पोखरामा एकता सन्देशसभा आयोजना गरेको हो । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका नेताहरूले सम्बोधन गरे ।
सम्बोधनका क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले १५ पार्टीको एकता सन्देशमात्र नभई आफूहरूले गरेको गल्तीको आत्माआलोचना सभा पनि भएको बताए ।
राजनीतिक दलको कार्यक्रमप्रति ब्यवसायीको विरोध
सडकमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा चलिरहँदा यहाँका स्थानीय व्यवसायीहरू भने विरोधमा उत्रिए । पोखराको मानवअधिकार चोक राजनीतिक दलहरुको कार्यक्रम तथा आन्दोलनस्थल जस्तै बनेको छ ।
सबै जसो दलहरुले यो ठाउँमा कार्यक्रम गर्दै आएका छन् । आइतबार पनि नेपाली कम्युनिस्ट पार्टीले सभा आयोजना गर्दा ब्यवसाय प्रभावित हुन पुगेको भन्दै ब्यवसायीहरु सांकेतिक विरोधमा उत्रिए । उनीहरूले गरि खान देऊ, व्यवसाय चल्न देऊ लगायतका प्लेकार्डसहित नाराबाजी गर्दै विरोध जनाएका थिए ।
एकतापछिको प्रदेश स्तरीय सभा भएकाले पार्टी कार्यकर्ताको सामु ब्यवसायीको केही चलेन । उनीहरु ब्यवसायीहरु निरिह सावित भए । त्यसपछि ब्यवसायीहरुले पसल बन्द गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र समेत बुझाउन पुगे ।
चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्मको सडकमा विभिन्न राजनितिक दल, संघसंगठनलाई सभा सम्मेलन गर्न पोखरा महानगरले अनुमति दिने गरेको भन्दै ब्यवसायीहरुले असन्तुष्टी जनाउँदै आएका छन् ।
यस क्षेत्रमा व्यवसाय ठप्प पार्ने किसिमका राजनीतिक कार्यक्रम रोक्नुपर्ने व्यवसायीको आवाज वर्षौंदेखि उठ्दै आएको हो । तर ब्यवसायीको आवाज न त स्थानीय प्रशासनले सुनेको छ, न त राजनीतिक दलहरुले नै । ब्यवसायीहरुको गुनासो राजनीतिक दलहरुले पनि सुन्न जरुरी छ ।
त्यसैले स्थानीय ब्यवसायलाई प्रभावित नगर्ने ठाउँमा राजनीतिक दलका गतिविधिहरु गर्नेबारेमा छलफल गरि निकास निकाल्न जरुरी छ ।
अन्यथा राजनीतिक दलका कार्यकर्ता र ब्यवसायीहरुबीच आगामी दिनमा प्रतिरोधको अवस्थामा बनेमा कुनै दिन अप्रिय घटना नहोला भन्न सकिदैन ।
