काठमाडौं । नेपाली कांग्रेसको विवाद सभापति शेरबहादुर देउवा एक्लैले चाहेर समाधान नहुने अवस्थामा पुगेको छ । धेरैले देउवाले नै रोकेको ठानेको बेला देउवालाई उनी पक्षकै नेताहरुले मात दिएपछि कांग्रेसको विवाद लम्बेतान मात्रै बनेको छैन्, कतै विभाजनको विजारोपण नै हुने त होइन भन्ने चर्चा शुरु भएको छ ।
उसोतः देउवा भने निर्वाचनअघि नै पार्टी महाधिवेशन गर्न सहमत छन् । तर, उनीमाथिको दबाबके कस्तो प्रभाव पार्ला रु चासो बढेको छ ।
नेपाली कांग्रेसमा महाधिवेशन कहिले र कस्तो गर्ने भन्ने विषयको विवाद दिनप्रति दिन पेचिलो बन्दै गएको छ । नियमित महाधिवेशन कि विशेष भन्ने विवादकाबीच सभापति शेरबहादुर देउवाले देखाएको लचकताले उनी पक्षमै तनाव सिर्जना भएको देखिन्छ ।
यतिबेला देउवा पक्षका नेताहरु नै दुई धार बनेपछि कांग्रेस विवाद नयाँ मोडमा पुगेको हो । कांग्रेसमा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू पुसभित्र नियमित महाधिवेशनको पक्षमा छन् भने, पूर्वपदाधिकारी रहेका नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा छन् ।
सभापति देउवाले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका ल्याउन निर्देशन दिइसकेका छन् । पुसभित्र महाधिवेशन गर्नका लागि केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेस गर्ने तयारी देखिन्छ । यद्दपि, निधि र सिटौलाले चुनावअघि महाधिवेशन गर्नु नपर्ने अडान राखिरहेकाले पार्टीभित्र असहमति बल्झिरहेको छ ।
देउवा गुटमै विवाद किन ?
निधि र सिटौलाले चुनावअघिको महाधिवेशनले पार्टीमा बिग्रह ल्याउने, जसले गर्दा चुनावपछि महाधिवेशन गर्नुपर्ने र त्योभन्दा अघि पार्टीलाई चुनावमा होम्याउनुपर्ने मत राखिरहेका छन् । देउवाले भने पुसमै नियमित महाधिवेशन गर्ने र समय नथप्ने बताउन थालेका छन् ।
यहि पेरिफेरिमा महाधिवेशनको कार्यतालिका ल्याउन देउवाले निर्देशन नै दिएपनि सहज रुपमा पुसभित्र नियमित महाधिवेशन हुनेमा शंका बढ्दै गएको छ । यता, नियमित महाधिवेशनका पक्षधरहरूको दबाब जारी छ । यसरी हेर्दा देउवाले आफू पक्षकै नेताहरुलाई विश्वासमा लिन नसक्ने स्थिति सिर्जना भएमा महाधिवेशन भएपनि देउवा गुटले नोक्सानी ब्यहोर्ने खतरा बढ्नेछ ।
देउवाको सक्रियतामा चासो
कांग्रेस सभापति शेरबहादुर देउवाले आफू उपचारमा सिंगापुर जानुअघि नै नियमित महाधिवेशन गर्न निर्देशन दिएको दाबी गरिरेहका छन्। तर, आन्तरिक विवादमा अल्झिएर किन कार्यतालिकामा काम नभएको भन्दै उनले प्रश्न गरेपनि नेताहरु उचित मौकाको खोजीमा रहेकै कारण महाधिवेशनको विवाद लम्बिन पुगेको देखिन्छ ।
उसोतः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमितबाट पर सरेर विशेष महाधिवेशनमा जानैपर्ने भन्न थालेपछि देउवा पक्षका नेताहरु तर्सिएको देखिन्छ । तर, देउवाले महाधिवेशन सम्पन्न गर्दै नेतृत्व हस्तान्तरण गर्ने र आफू आनन्दले बस्ने मानसिकता बनाइसकेका कारण पनि धेरेै विषयको प्रवाह नगरी अघि बढ्ने मनशाय राखेको देखिन्छ । यस्तोमा देउवाले सक्रियता बढाएकै कारण कांग्रेस बैठक सर्दै आएको छ ।
गएको शुक्रबारबाट सारेर आइतबारका लागि बोलाइएको बैठक पुनः सोमबारसम्मका लागि सारिएको छ, भने सोमबार समेत बैठक बस्नेमा शंका छ । तर, कांग्रेसले अब धेरै समय विवाद बल्झाएर नराख्ने र निर्णयक मोडमा पुग्ने कदम चाल्यो भने फेरि असन्तुष्ट पक्षबाट विभाजनसम्मको कदम चाल्नसक्ने खतराको चर्चा पनि देखिन्छ ।
राजनीतिक गतिविधिमा शून्यता
कांग्रेस महाधिवेशनको विवादमा अल्झिएपछि राजनीतिक गतिविधिमा भने ठप्पप्राय देखिएको छ । प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा भन्दै राजनीतिक गतिविधि गरिरहेको बेला एमालेले महाधिवेशन गर्दैछ ।
उनीहरु चलायमान बनिरहेका छन । यता, राष्ट्रिय स्वतन्त्र पार्टीदेखि अन्य पार्टीहरुले पनि एकतादेखि विभिन्न विषयमा गतिविधि गरिरहेको बेला कांग्रेस महाधिवेशनको विवादमा अल्झिएकै कारण गतिविधि गर्न सकेको छैन् ।
जसकारण निर्वाचनको पूर्वसन्ध्यामा समेत चलायमान बन्न नसकेको कांग्रेसले आफूलाई कसरी अघि बढाउला रु यो प्रश्न पेचिलो बनेको छ।
