News 24 Television
विवेकशील–रास्वपा एकता, बालेन र कुलमानसँग संवाद, ठुला दललाई चुनौति

काठमाडौं । आइतबार बैकल्पिक भनिएका दुई नयाँ राजनीतिक दलहरुबीच एकता भएको छ । राष्ट्रिय सभागृहमा रास्वपा र विवेकशिल सझा पार्टी एकताको सुत्रमा बाँधिएका हुन् ।

जेनजी आन्दोलनपछि पुराना राजनीतिक दलहरुबीच एकता र ध्रुवीकरण तीब्र भइरहँदा उदीयमान दलहरु पनि एकता र ध्रुवीकरणमा होमिएका हुन् । वैकल्पिक राजनीतिको सुत्रधार मानिने विवेकशील र ७९ सालको निर्वाचनबाट उदाएको रास्वपाबीचको एकताले ठूला दलहरुलाई झस्काइदिएको छ ।

पार्टीको चुनाव चिन्ह, नाम, चलअचल सम्पत्ति सबै रास्वपामा समाहित हुँदा विवेकशील साझाकी तत्कालिन अध्यक्ष समिक्षा बास्कोटा भने केहि भावुक बनेकी थिइन् ।
पज 

नेपाली राजनीतिमा बैकल्पिक विचारको विजारोपण गर्ने स्वर्गीय उज्वल थापालाई दुबै पार्टीका नेताहरुले मुक्तकण्ठले सम्झिए । स्वर्गीय थापाकै बलमा नेपालमा बैकल्पिक धारको विउ रोपीएको उनीहरुको तर्क थियो । नेताहरुले थापालाई बैकल्पिक धारको पिता समेत भनेका छन् । 

विवेकशिल साझाका अधिकांश नेताहरु रास्वपामा समाहित भए पनि चर्चित अनुहार मिलन पाण्डे भने देखिएनन् । बरु सामाजिक संजालमा स्टाटस लेख्दै आफु एकतामा सहभागी नभएको घोषणा गरे । विवेकशील पनि स्वतन्त्र भयो भनेर व्यङ्यात्मक अभिब्यक्ति दिएका पाण्डेले पार्टी एकिकरण भएकोमा शुभकामना दिएका छन् । तर रास्वपामा समाहित भएका नेताहरुले विवेकशीललाई रास्वपामा  बुझाएको रुपमा लिन नहुने भन्दै पाण्डेको काउन्टर गरेका छन् ।  

२०७९ मंसिर ४ को आमचुनावमा २० सिट सहित नेपाली राजनीतिमा जबरदस्त रुपमा उदाएको रास्वपाले ११ लाख बढि समानुपातिक मत पाएको थियो । त्यसपछिको उपचुनावमा राष्ट्रपति रामचन्द्र पौडेलले जितेको क्षेत्रसमेत रास्वपाकै पोल्टामा आयो । 

ठुला तथा परम्परागत राजनीतिक दललाई किनारा लगाउने गरी रास्वपाको उदयले सम्भावना थप बढाएको थियो । भदौ २३ र २४ को जनेजी आन्दोलनपछि नयाँ पुराना दलहरुमा पुर्नगठन र रुपान्तरणको बहस तीब्र छ । 

दलहरुबीच एकता र ध्रुवीकरण तीब्र बनेको छ । पुराना दलहरुबीच एकता र ध्रुवीकरण तीब्र हुँदा नयाँ तथा वैकल्पिक भनिएका शक्तिहरु पनि एकता र ध्रुवीकरणकै प्रक्रियामा छन् ।

तत्कालिन अवस्थामा लोडसेडिङमुक्त बनाएर चर्चामा आएका वर्तमान अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङको दल तथा जेनजी आन्दोलनका एक स्टेकहोल्डर मानिएका काठमाडौं महानगरका मेयर बालेन साह लगायतसँग पनि संवाद जारी नै रहेको रास्वपा नेताहरुको भनाई छ ।    

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update