News 24 Television
सत्ताबाहिर हुँदा नेताहरूलाई देशको चिन्ता, सत्तामा हुँदा भ्रष्टाचार र भागबण्डामै मस्ती

काठमाडौँ । नेपालमा प्रायः ठूला दलका शीर्ष नेताहरू सत्ताबाहिर हुँदा देशको खुबै चिन्ता रहेको देखाउँदै आफूले नै देशको मुहार फेर्नसक्ने  दाबी गर्छन् । केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् कि माधवकुमार नेपाल, यिनीहरुको भाषणको लय उस्तै हुन्छ । सत्ताबाहिर हुँदा राष्ट्रियता, सुशासन र विकासका चर्का भाषणहरू गर्ने तर सत्तामा पुगेपछि उल्लेख्य काम गर्न नसक्ने, उल्टै भ्रष्टाचारमा लिप्त हुनेगरेको भन्ने आम बुझाइ र आलोचना निकै बलियो छ ।

 विगतका सरकारहरूलाई ‘भ्रष्टाचारी’को आरोप लगाउने र आफू सत्तामा आए सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्ने गरेका उनीहरु पटकपटक सत्तामा पुग्दा पनि उल्लेख्य जनमुखी काम गर्न सकेनन् । विकासका ठूला परियोजनाहरूलाई तीव्रता दिने, विदेशी लगानी आकर्षित गर्ने र रोजगारी सिर्जना गर्ने आकर्षक योजनाहरू प्रस्तुत गर्ने, तर कार्यान्वयनमा सधैँ पछाडि हुने । यसरी नेताहरूले जनताको उच्च अपेक्षा सिर्जना गर्छन्, जसले गर्दा सत्तामा पुगेपछि सामान्य कामलाई पनि अपर्याप्त ठान्ने गरिन्छ । 

पछिल्लो जेनजी आन्दोलनपछि प्रायः सबै नेताहरु बहिस्कृत र सत्ताच्युत भइसक्दा पनि उनीहरुको जनता ठग्ने शैली र आधारभूत चरित्र फेरिएको छैन । आइतबार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले अन्तरिम सरकारलाई ‘बुख्याँचा’को संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गरे । देश अफ्ठ्यारो परिस्थितिमा रहेकोले संवैधानिक बाटोमा देशलाई फर्काउन सबै लाग्नुपर्ने उनको भनाइ थियो । असंवैधानिक ढङ्गले विघटित संसद् पुनःस्थापना हुनु आवश्यक रहेको जिकिर गर्दै उनले बुख्याँचाहरू सिंहदरबारमा हैन, तरकारी बारीमा नै ठिक रहेको टिप्पणी गरे । उनले एमालेको आधारभुत निष्ठा देश, जनताप्रति र विकासप्रति रहेको जिकिर गर्दै वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई ‘टेरर’ (अपराध/आतंक)बाट बनेको सरकार भन्दै ललकारे । लोकतन्त्र मासेर अलोकतान्त्रिक सरकार जडान गरिएको भन्दै उनले अपराधबाट सिर्जना भएको सरकारले अपराधकै माध्यमबाट शासन चलाइरहेको आरोप लगाए ।

शुक्रबार नेकपाका संयोजक प्रचण्डले देशको स्वाधीनता, भू-अखण्डता र जनसत्ता संकटमा रहेको चिन्ता व्यक्त गर्दै त्यो सब जोगाउनका वामपन्थी शक्तिहरू ध्रुविकृत हुनुपर्ने धारणा राखे । एमालेका नेताहरुलाई समेत मुलुक र जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान गरे । उनले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ति ल्याउनका लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरुलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको दाबी गरे । आइतबार सोही पार्टीका सहसंयोजक माधव नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा नै केन्द्रित रहेको दाबी गरे । आफूहरु देशभक्त नेपाली रहेको भन्दै उनले देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशी चाकडी गरेर र उनीहरुसँग लड्न गएर नहुने बताए ।

सत्तामा हुँदा किन गर्न सकेनन् ?

नेताहरूले सत्तामा पुगेपछि ‘देश विकासका उल्लेख्य काम’गर्न नसक्नुका पछाडि व्यक्तिगत प्रतिबद्धताको कमी मात्र नभई संरचनागत र प्रणालीगत जटिलताहरू पनि जिम्मेवार रहेका छन् । नेपालमा विगत लामो समयदेखि कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्न सकेको छैन । गठबन्धनको सरकार हुँदा प्रधानमन्त्रीले गठबन्धन टिकाउनमै समय खर्चनुपर्ने र महत्त्वपूर्ण निर्णयहरूमा साझेदार दलको स्वार्थ बाझिने हुँदा उल्लेख्य काममा बाधा पुग्छ । एक सरकारले ल्याएको दीर्घकालीन विकास योजना (जस्तैः राष्ट्रिय गौरवका आयोजनाहरू) लाई अर्को सरकारले प्राथमिकता नदिने वा परिवर्तन गर्ने प्रवृत्तिले गर्दा विकासमा निरन्तरताको अभाव हुन्छ ।

नेपालको प्रशासन संयन्त्रमा जटिल कार्यशैली, निर्णय लिन ढिलाइ हुने प्रवृत्ति र काम गर्नेभन्दा ‘टारिदिने’ मानसिकता हाबी हुनुले पनि नेताहरूले ल्याएका राम्रा योजना पनि कार्यान्वयन तहमा पुग्न सक्दैनन् । यसका साथै नीतिगत भ्रष्टाचार र कमिसनको जालो प्रमुख बाधक हा । विकास परियोजनाहरूमा नीतिगत भ्रष्टाचार र कमिसनको जालोले गर्दा परियोजना लागत बढ्ने, गुणस्तर खस्किने र समयमा काम सम्पन्न नहुने समस्या व्याप्त छ । यसले गर्दा सरकारको समग्र कार्यसम्पादनमा नकारात्मक असर पुग्छ । सत्तामा पुगेपछि नेताहरूको ध्यान देश विकासभन्दा बढी आफ्नो दलभित्रको शक्ति सन्तुलन मिलाउने र आफ्नो गुटलाई फाइदा पुग्ने, दलको आम्दानी बढाउने खेलतिर केन्द्रित हुने गरेको समेत पाइन्छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update