काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्यूनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लामो पृष्ठभूमि भएका नेपाली शीर्ष नेताहरु हुन् । करिब ३ दशक यता यी तीन नेताहरुकै वरिपरि देशको राजनीति फनफनी घुमिरहेको छ । लामो समयदेखि नेपाली राजनीतिको मियो बनिरहेको यी तीन नेता फरक फरक रुपमा परिचित छन् ।
तीन शीर्ष नेताहरुमध्ये शेरबहादुर देउवा सबैभन्दा धेरै पटक र लामो समय प्रधानमन्त्री बनेका व्यक्ति हुन् । उनी पाँचपटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । यदि जेनजी आन्दोलन हुँदैन थियो र सत्तापलट हुँदैन थियो भने देउवा वेटिङ प्रधानमन्त्री थिए । पून प्रधानमन्त्री बन्न पाएका भए उनी छैटो पटक नेपालको प्रधानमन्त्री बन्ने थिए । देउवा प्रजातान्त्रिक आन्दोलनका योद्धा हुन् । उनले २०४६ को जनआन्दोलनदेखि २०६२÷६३ को दोस्रो जनआन्दोलनसम्म महत्वपूर्ण भूमिका खेले ।
देउवा पार्टीभित्र कुशल संगठनकर्ता र समझदारी बनाउने सक्ने क्षमता भएका नेता हुन् । यति हुँदाहुँदै पनि परिवाद, नातावाद र भ्रष्टाचारको आरोपले भने चोखो नरहेका नेता हुन् देउवा । गठबन्धन राजनीतिमा माहिर र इमानदार मानिने देउवा नीतिगत दृष्टिकोण र दुरदर्शिताको अभाव र निर्णय गर्नमा ढिलासुस्ती गर्ने नेता मानिन्छन् । पटक पटक प्रधानमन्त्री भएपनि उनले देशमा स्थिरता दिन नसकेको आरोप लाग्ने गर्छ भने राजतन्त्र भएको बेला उनलाई असक्षम प्रधानमन्त्री भन्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले बर्खास्त समेत गरेका थिए ।
केपी शर्मा ओली नेपालका सबैभन्दा प्रभावशाली तर विवादास्पद कम्युनिस्ट नेता हुन् । तीन पटक प्रधानमन्त्री बनेका ओलीले पहिलो प्रधानमन्त्रीकालमा राष्ट्रवादी छवि बनाए । भारतले लगाएको अघोषित नाकाबन्दीको उनले डटेर प्रतिरोध गरेपछि उनको राष्ट्रवादी छबि बनेको थियो । भारतसँगको सीमा विवादमा लिम्पियाधुरा–लिपुलेक समेटेर नक्सा जारी गर्नु र संविधान संशोधन गर्नु उनको राजनीतिक जीवनकै सबैभन्दा ठूलो उपलव्धि मान्न सकिन्छ । उनी वाकपटु, हास्यरस र रणनीतिक रूपमा चतुर छन् । तर अहंकारी शैली, पार्टीभित्र गुटबन्दी, असहमतिलाई दमन गर्ने प्रवृत्ति र दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई कमजोर बनाएको आरोपले भने ओलीलाई कहिल्यै छोड्ने छैन ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ विद्रोह र युद्धबाट उदाएका नेता हुन् । उनी आफुलाई नेपालको सबैभन्दा चमत्कारिक नेता मान्छन् । १० वर्ष शसस्त्र द्वन्द्वपछि शान्ति प्रक्रिया पश्चात नेपाली राजनीतिको केन्द्रमा रहेका उनी अहिले पनि त्यहि पोजिसनमै छन् । प्रचण्ड ३ पटक प्रधानमन्त्री बनिसकेका छन् । उनी असाध्यै लचिलो, गठबन्धन जोड्न माहिर र अवसरवादी छन् । तर, बारम्बार सत्ता स्वार्थका लागि सिद्धान्त त्याग्ने, अस्थिरता निम्त्याउने र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिका कारण प्रचण्डले विस्तारै आफ्नो विश्वसनीयता गुमाउँदै गइरहेका छन् । युद्धकालीन मुद्दा, भ्रष्टाचार र परिवारवादको आरोपले प्रचण्डलाई पनि सधै घेर्ने गरेको छ । क्रान्तिकारी पृष्ठभूमिका प्रचण्ड अहिले सत्ताको चक्रव्यूहमा फसेका सर्वाइभल आर्टिस्ट जस्तो मात्रै बनेका छन् ।
जेनजी आन्दोलनपछि ३ नेता
यी तीनहरु फरक फरक स्वभावले परिचित छन् । जसमध्ये शेरबहादुर देउवा केही सोझो, इमानदार, कम बोल्ने तर बोलेको कुरामा अडानमा रहिरहने नेताका रुपमा चिनिन्छन् । नबोलेर नै उनले पार्टी वा देशकै राजनीति र सत्ताका लागि धेरै काम गरेका छन् । सुशिल कोइरालापछि नेत्तृत्वमा रहेका देउवाको पार्टीभित्र मजवुत पकड छ ।
बुढ्यौली उमेरमा पनि उनी राजनीतिमा सक्रिय नै थिए । एमाले कांग्रेस गठबन्धनको सरकारमा ओलीपछि प्रधानमन्त्री बन्ने पालो उनकै थियो । तर भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले यस्तो अवस्था आयो, उनको पुनः प्रधानमन्त्री बन्ने सपना त तुहियो नै कांग्रेसकै राजनीतिबाट समेत ओझेल पर्ने अवस्थामा देउवा पुगे । कार्यवाहक सभापति पुर्णबहादुर खड्कालाई दिएर देउवा अहिले निष्क्रिय जस्तै छन् । विशेष कि नियमित महाधिवेशन भन्ने डेढ महिना लामो किचलोका बीच कांग्रेसले पुस २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसको जटिल विवादलाई वीन वीनको अवस्थामा देउवाको सक्रियताले नै अन्त्य ग¥यो ।
जेनजी आन्दोलनपछि सत्ता गुमाउँदै गुण्डुमा सिमित ओली उपत्यका छोड्न नपाउने अवस्थामा छन् । तर सत्तामा हुँदाको जुन अहमता र अरुप्रति प्रहार गर्ने ओलीको बोली अझै पूर्ववत् अवस्थामै छ । अन्तरिम सरकारविरुद्ध बोल्नु, पार्टीभित्र आफ्नो पकड बनाउने ध्यानमा अहिले ओली केन्द्रीत छन् । तर जेनजी आन्दोलनपछि भने उनी पार्टीभित्र पहिलेकै जस्तो शक्तिशाली छैनन् । एघारौ महाधिवेशन प्रतिनिधि छनोटकै क्रममा देखिएको दृश्यहरुले एमालेभित्र ओलीराज कमजोर बन्दै गएको देखिन्छ । शान्ति प्रक्रियामा आएदेखि नै कहिले के कहिले के बोलेमा आफुलाई केन्द्रमा राख्न सफल प्रचण्ड जेनजी आन्दोलनपछि पनि त्यस्तै देखिएका छन् ।
आफुलाई लचक र समय अनुसार परिवर्तन गर्न माहिर प्रचण्डले यसपटक पनि त्यस्तै गरे । जेनजी आन्दोलनकारीको भावना अनुसार चलेको भन्दै उनले माओवादी केन्द्रीय कमिटि भंग गर्दै आफुलाई संयोजक तोके । पछि फेरि एक दर्जनभन्दा बढि वाम पृष्ठभूमिका पार्टीलाई जम्मा गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी गठन गरे । अहिले प्रचण्ड एकताको सन्देश भन्दै देश दौडाहामा छन् । प्रचण्ड आफुलाई पदको कुनै लोभ नभएको बाराम्बार बताउँछन् । तर अनेक प्रपञ्च रच्दै कहिले अध्यक्ष कहिले संयोजक भन्दै आफ्नै बोलीको खण्डन हुनेगरी शक्तिको केन्द्रमा आउन खोजिरहेका छन् । त्यसैले यी तीन शीर्ष नेताहरुमध्ये ओली अहंकारी, देउवा स्थिर र केही इमानदार, प्रचण्ड समय अनुसार रुपरंग र बोली फेर्न माहिर नेताका रुपमा नेपाली राजनीतिमा स्थापित छन् ।
