News 24 Television
पुराना दलको नयाँ चटक, नयाँको अन्धाधुन्ध बाटोः जनतालाई नतिजा के ?

काठमाडौं । राजनीतिक मञ्चमा फेरि तीव्र प्रतिस्पर्धा र दौडधुपको दृश्य देखिन थालेको छ  । पार्टीहरू आ–आफ्नो अस्तित्व बचाउने र नयाँ नेतृत्वको लागि अंकगणित मिलाउनमा व्यस्त छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीतिक दलहरू महाधिवेशन, एकता र रणनीतिक पुनर्संरचनामा अल्झिएका छन् । तर, यी प्रक्रियाले साँच्चै नयाँ परिवर्तन र सशक्त नेतृत्व ल्याउछन् त ? प्रश्न व्यापक बनिरहेको छ ।

नेपालको राजनीतिक मञ्च फेरि एक पटक सतही प्रतिस्पर्धा र पुरानो खेलकै दोहोरीमा फसेको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दलहरू महाधिवेशन, एकता र नेतृत्व परिवर्तनको मुद्धा लिएर जान जनतासामू आफ्ना दाबी गरिरहेका छन् ।

एमालेदेखि कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीदेखि रास्वपासम्म सबै दलहरू भित्री संघर्ष र कमजोर नेतृत्व व्यवस्थापनकै जालोमा अल्झिएका छन् । पार्टीहरू आफ्नो अस्तित्व र सत्ता कब्जामा व्यस्त देखिएका छन् । 

एमालेको महाधिवेशनः नयाँ नेतृत्व वा पुरानै खेल ?

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिरमा सम्पन्न हुँदैछ  । तर यो ‘महाधिवेशन’ नेतृत्व बदल्ने भन्दा पुरानै झगडा दोहोर्याउने अवसर बनेको छ । भदौमा बनाइएको नीति भर्खर राजनीतिक परिवेशले खण्डित बनाइसकेको एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वको कडा प्रतिस्पर्धा देखिएको छ । 

यो प्रतिस्पर्धा पार्टीको भविष्यलाई नयाँ दिशामा लैजाने कि व्यक्तिगत सत्ता दौडमै सीमित रहने हो भन्ने प्रश्न अझै खुल्ला छ । पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन पाएको भए पनि पार्टीभित्र गहिरो विभाजन छ जसले महाधिवेशनलाई सजिलो पार्ने देखिँदैन ।

कांग्रेसको महाधिवेशनः कुटिल चाल 

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका ‘रकेट’ गतिमा ल्याए पनि कार्यसमिति बैठकले त्यो गतिलाई ‘कछुवा’मा परिणत गर्यो । असोजदेखि मंसिरसम्म चलेको बैठकमा सभापति शेरबहादुर देउवाको विश्राम र कार्यवाहक सभापतिको नियुक्ति पार्टीभित्रको गुटबन्दीलाई मात्र पुष्टि गर्छ । 

असन्तुष्टिहरूले महाधिवेशनलाई चुनौती दिएका छन् र कार्यतालिका लागू गर्न महामन्त्रीहरूको सक्रियता निकै सन्देहपूर्ण छ । चुनाव अघिको महाधिवेशनमा कांग्रेसले पार्टी एकताको झिल्को दिन खोजे पनि भित्री संघर्ष र कमजोर नेतृत्वले शंका उब्जाएको छ । 

गगन थापाजस्ता युवा नेताहरूले चुनाव तयारीमा जुटेको देखिन्छन्, तर पार्टीभित्रको पुरानो संरचनाले नयाँ आवाजलाई दबाउन सक्ने सम्भावना रहेको बताइन्छ । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचन अघि पार्टीको नयाँ नेतृत्व काँग्रेसको ‘टारगेट’ भएपनि महाधिवेशन कार्यतालिकाले शंकाको लाभ भने दिएको छ । 

नेकपाका पुराना अनुहार र बोली

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नाम त नयाँ छ । तर नेतृत्व र कार्यशैलीमा नयाँपन कतै छैन । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १५ घटक मिसाएर बनेको यो पार्टी ‘जेनजी आन्दोलन’को भावनालाई आत्मसात गरेको दाबी गर्दै आएको छ । तर धनगढीदेखि विराटनगरसम्मका सभाहरूमा झन् झन् पुराना नेताहरूको बाहुल्यताबाहेक अन्य केही भएको देखिदैन् । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल जस्ता पुराना अनुहारहरू यथावत् छन् भने भाषण शैलीमा नयाँ विचारको कमी स्पष्ट छ । 

यही पुरानो नेतृत्वको पुनरावृत्तिको पार्टीले नयाँ पुस्ताको आशा पुरा गर्न सक्ने हो वा होइन ? राजनीतिक वृतमा यहि नै ठूलो प्रश्न बनेको छ । चुनावी केन्द्रित हुँदै नेकपाले गरिरहको सन्देश सभाहरूले मात्र नेतृत्वको परिवर्तनको प्रतिबिम्ब नगर्ने भन्दौ आलोचना पनि तिब्र बनिरहेको छ ।
 
रास्वपाः वैकल्पिक दल कि संकटमै फसेको संगठन ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझासँगको एकताले पनि राजनीतिक ात्साह भने थप्न सकेन् । पार्टीभित्रको असन्तुष्टि र नेतृत्तव कमजोर भएका कारण यसको वैकल्पिक पहिचान कमजोर देखिन्छ । 

युवा तथा विदेशबाट फर्कने युवालाई आरक्षण दिने नीति उल्लेखनीय भए पनि केही प्रभावकारी नेता–कार्यकर्ताहरूको पार्टी छाड्नुले नेतृत्व व्यवस्थापनमा गम्भीर समस्या उजागर गरेको छ । १३ वर्ष पुरानो अभियानलाई दलमा परिणत गर्न खोज्दा रास्वपाले अझै संगठनात्मक चुनौतीहरू झेलिरहेको छ । 

कुलमान घिसिङसँग सहकार्यको तयारीले भविष्यमा केही आशा दिन सक्ने भएपनि तत्कालीन आन्तरिक द्वन्द्वले वैकल्पिक दलको रूपमा आफूलाई स्थापित गर्न सक्ने सम्भावना घटाएको छ ।

यसरी दलहरूले चुनाव र महाधिवेशनको नाममा पुरानै सत्ता संरचना र राजनीतिक संस्कृतिलाई निरन्तरता दिइरहेकाले राजनीतिक भविष्यमा नयाँ परिवर्तनको सम्भावना न्यून देखिएको टिप्पणी पनि शुरु भएको छ । 

परिवर्तनका नारा पछाडि सत्ता र व्यक्तिगत स्वार्थ मात्र देखिनुले जनतामा निराशा थपिरहेको छ । यथार्थमा नेतृत्व र दलहरू पुनःसंगठन गरेर लोकतन्त्रलाई सशक्त बनाउने जिम्मेवारी उनीहरूकै काँधमा छ । तर जबसम्म दलभित्रै सुधार र नयाँ नेतृत्व नआउँदासम्म राजनीतिमा स्थिरता टाढै रहने चिन्ता बढाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update