कैलाली । आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरि सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा प्रदेशको सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षाको विषयमा पनि प्रदेशको सुरक्षा निकायसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको तयारी तीब्र छ । निर्वाचन आयोगले निर्वाचन प्रणाली अन्तर्गत पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि छुट्टै काम थालिसकेको छ ।
सरकारले सुरक्षाका ब्यवस्थाका बारेमा पनि त्यही किसिमले काम अघि बढाएको छ । आसन्न निर्वाचनमा नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भइसकेका छ ।
निर्वाचनलाई लक्षित गरि सुरक्षा गोष्ठीहरु थालिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा सदूरपश्चिमको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई गरिएको हो ।
गोष्ठीमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले तोकिएकै मितिमा निष्पक्ष रुपमा निर्वाचन हुने स्पष्ट गरेका छन् । सरकारको मुख्य जिम्मेवारी शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्नु र निर्वाचन गर्नु रहेको गृहमन्त्री अर्यालले बताए ।
गृहमन्त्री भन्छन्– निर्वाचन हुन्न भन्ने भ्रम नछरौं
जेनजी आन्दोलनका क्रममा कागारारबाट भागेका कैदीबन्दीहरु मध्ये ४ हजार ५५२ कैदीबन्दी अझै फरार छन् । तर ती फरार कैदीबन्दीहरु मध्ये कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको गृहमन्त्री अर्यालको भनाई छ ।
जेनजी आन्दोलनमा हराएका हतियार मध्ये ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको गृहमन्त्री अर्यालले बताए । केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा निर्वाचन हुन्न कि भन्ने शंका र भ्रम नछर्न उनले अनुरोध गरेका छन् ।
कुशासन र बेथितिविरुद्ध जेन–जी युवाहरूले उठाएका माग र भदौ २३ र २४ को घटनापश्चात् सरकार र गृह प्रशासनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाहको प्रभाकारिता र समन्वयात्मक कार्यमा निष्ठापूर्वक कार्य गरिरहेको उनको भनाइ छ ।
निर्वाचनमा सघाउन सुदूरपश्चिम सरकार तत्पर
आगामी फागून २१ को निर्वाचनमा सघाउन सुदूरपश्चिम सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधन–स्रोत सम्पन्न तथा मनोबल उच्च बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउनेतर्फ सरकार लाग्नु पर्नेमा जोड दिए ।
नेपाल सरकार, गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा संघीय सरकारसँग सहकार्य गर्दै काम गर्न प्रदेश सरकार सधैं तत्पर रहेको जनाइएको छ ।
संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुनेछ । गृहमन्त्रीको उपस्थितिमा बसेको सुरक्षा गोष्ठीमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाह, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सार्की, त्यस्तै, गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
