News 24 Television
राजनीतिक दलहरुका प्रिय प्रदिप अधिकारी, भ्रष्टाचार आरोपमा पक्राउ

काठमाडौं । नागरिक उडड्यन प्राधिकरणका विवादित पृष्ठभूमिका महानिर्देशक प्रदिप अधिकारीविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकारी सहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार र अनियमितताको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । भक्तपुरको नलिनचोकमा हेलिपोर्ट निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा नागरिक उडड्यण प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीसहित ६ जना र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

भक्तपुरको नलिनचोकमा हेलिपोर्ट निर्माणको क्रममा अनियमितता गरि भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधवार उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

क्यानका महानिर्देशक प्रदिप अधिकारी, निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सेल्टिङ प्रालिका म्यानेजिङ डाईरेक्टर विजय थापा, प्राईभेट ईन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सेल्टिङ प्रालि, नयाँ बानेश्वर विरुद्ध मुदा दायर गरिएको विशेष अदालतका उपरजिष्टार कृष्णसरण लामिछानेले जानकारी दिए । 

आरोपीहरुलाई जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो कायम गरि सोही अनुसारको कैद जरिवानाको मागदाबी गरि आयोगले मुद्दा दायर गरेको लामिछानेको भनाइ छ । क्यानका महानिर्देशक अधिकारी विरुद्ध थप ३ वर्ष सजाय मागदावी समेत गरिएको छ । आयोगले आरोपत्रका साथ क्यानका महानिर्देशक अधिकारी र निर्देशक मुरारी भण्डारीलाई अदालतमा उपस्थिति समेत गराएको छ । बुधवार समय अभावको कारणले उनीहरुको बयान तथा थुनछेक शुक्रवार मात्रै हुने भएको छ ।  
    
शक्तिशाली अधिकारी कसरी अख्तियारको फन्दामा ?  

अख्तियारले मुद्दा दायर गरेसँगै प्राधिकरणका महानिर्देशक अधिकारी निलम्बनमा परेका छन् । अख्तियारले हेलिपोर्टबाहेक पोखरा विमानस्थल निर्माण, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन निर्माण र गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमाथि समेत अधिकारीमाथि अनुसन्धान गरिरहेको थियो । 

अधिकारी राजनीतिक शक्तिलाई हातमा लिन चतुर खेलाडी मानिन्थे । सरकारमा जो आएप्नि उनी निकट सम्बन्ध बनाउँदै आफुलाई सधैँ सुरक्षित राख्थे । अघिल्ला सरकारहरुको पालामा आफुमाथि अख्तियारले अनुसन्धान गर्ने सूइको पाउने बित्तिकै उनले अनुसन्धान नै प्रभावित बनाउने गरेको आरोप लाग्दै आएको छ । तर यसपटक दलविहिन सरकार भएको अवस्थामा अख्तियारले उनलाई पक्राउ गर्दै मुद्दा समेत दायर गरेको छ । 

हेलिपोर्टमा निर्माणमा गडबडी 

अधिकारीलाई अख्तियारको फन्दामा पु¥याउने काम भक्तपुरको नलिनचोकमा निर्माण भएको हेलिपोर्टले गरेको हो । चार वर्ष अघि प्राधिकरणले त्रिभूवन विमानस्थलमा विमानहरुको चाप अत्याधिक बढेको भन्दै भक्तपुरमा हेलिपोर्ट बनाएको थियो । 

त्यतिबेलाका महानिर्देशक राजकुमार क्षेत्रीले जोखिमपूर्ण र सम्भावना देखिएमा मात्रै निर्माण प्रक्रिया अघि बढाउनु पर्ने भन्दै राय दिएका थिए । तर उक्त राय विपरित विना अध्ययन हेलिपोर्ट निर्माण गरेर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । 

उक्त हेलिपोर्ट निर्माण गर्दा निर्देशक मुरारी भण्डारी र इन्जिनियर समृद्धि श्रेष्ठ संलग्न भएको आरोप अख्तियारको छ । हेलिपोर्ट जस्तो सम्बेदनशील संरचना निर्माणमा गरिनु पर्ने अध्ययन अनुसन्धान, सरोकारवाला र विज्ञसँगको परामर्श समेत नगरी निर्माण कार्य गरिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । 

नेपालमा हेलिपोर्ट सम्बन्धी संरचना नभएकाले यस्ता संरचना निर्माणमा परामर्श दिने कम्पनीहरु छैनन् । यस्तो अवस्थामा अन्तराष्ट्रिय स्तरको परामर्शदाता छान्दै काम गर्नु पर्नेमा नियतवस अनुभव नै नभएको कम्पनीलाई छनोट गरेको आरोप अख्तियारको छ । 

यसरी बदनियतपूर्वक थालिएको हेलिपोर्ट निर्माणका लागि प्रदिप अधिकारीले २०७८ साल चैत २८ गते फाइल स्वीकृत गरेका थिए भने बजेट स्वीकृत र अनुमोदन नहुँदै खरिद प्रक्रिया बघि बढाएका थिए ।

यसबाहेक विमानस्थल निर्माण, विकास र विस्तार लगायतका काममा सरकारको पूर्वस्वीकृति लिनुपर्ने नागरिक उडड्यन प्राधिकरण ऐन २०५३ को दफा ६ मा उल्लेख भएपनि अधिकारीले यसलाई पालना नगरेको आरोपत्रमा उल्लेख छ । 

यी बाहेक हेलिपोर्ट आसपासमा रहेका विद्यालय, अव्यवस्थिति घरहरु, हाइटेन्सन लाइन, रुखहरु रहेको जस्ता कारणले समेत उडान र अवतरण जोखिमपूर्ण रहेको भन्दै पाइलटहरुले उतिबेलै ज्ञापनपत्र बुझाएका थिए । यद्यपी यी र यस्ता कुराहरुलाई वेवास्ता गर्दै महानिर्देशक अधिकारीले हेलिपोर्ट निर्माण प्रक्रिया अघि बढाएका थिए । हेलिपोर्टको उद्घाटन २०८१ असार ७ गते तत्कालिन पर्यटन मन्त्री हितबहादुर तामाङ र अधिकारी स्वयमले गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update