News 24 Television
पुराना पार्टीको रवाफ ! नयाँको धमाकेदार दबाब, पावर कसको कति ?

काठमाडौं । निर्वाचन नजिकिएसँगै राजनीतिक ध्रुविकरण तीव्र बन्न पुगेको छ । नयाँ दल खुल्ने, नयाँ नेता पर्दामा आउनेदेखि पुराना दल र नेताहरुमाथि आक्रोश पोख्नेक्रम चलिरहेको छ । राजनीतिक रुपमा किन यति धेरै दलहरु आउने अवस्था बन्छ ? के पुराना दलहरुलाई दुत्कार्दै नयाँ दल खोल्दैमा सबै समाधान हुने हो ? वा पुरानाले नयाँको अस्थित्व स्वीकार गर्नै नसक्ने अवस्था बन्नुको पछाडीका कारण के छन् ? सर्वसाधारणमा अलमल देखिन्छ ।

भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछि नागरिक सरकार बनेको छ । नागरिक सरकारले फागुन २१ का लागि निर्वाचनको मिति नै तय गरिसकेको छ, भने निर्वाचनको प्रक्रिया अघि बढनेक्रम जारी छ । यस्तोमा राजनीतिक अंकगणित कस्तो होला ? कसको पल्लाभारी बन्ला ? तमाम प्रश्न र चासोहरु देखिन्छन् । 

यतिमात्रै होइन, अहिले पार्टी राजनीतिमा नयाँ भर्सेस पुरानाको अवस्था पनि बढ्न थालेको छ । नयाँ दल, नेता र उनीहरु समर्थकले भनिरहेका छन्, अब उनीहरुबाट परिवर्तन सम्भव छैन्, हामी नै हिस्सेदार हौं । के यो सत्य हो ? लेखाजोखा गर्नु पहिले उनीहरुले गर्ने गरेका केहि दाबीहरुलाई हेर्न सकिन्छ । 

उनीहरुको एउटै मत छ, अबको नेतृत्व हामीले गर्नुपर्छ । वैकल्पिक शक्तिहरुको एकता आवश्यक छ । तर, किन यसरी राजनीतिक ध्रुबिकरण तीब्र बन्न पुग्यो ? यो भने चासोमा रहेको विषय हो । हुनत पुराना दलका नेताहरुले समेत नयाँलाई खिसिट्यूरी भने असाध्यै गर्ने गर्छन् ।

ओलीले कुलमान घिसिङ लक्षित टिप्पणी गर्दै हिप्पोक्रेसीको जमाना चलेको भन्दै फ्युज गएको चिम भनेका थिए ।

नयाँ–पुरानाको भाष्य निर्माण सामाजिक सञ्जालदेखि अन्य विषयले गराइरहेको छ । नयाँ पुराना दल भन्दै चलिरहेको राजनीतिक ध्रुबिकरणले संकट निम्त्याउने त होइन ? शंकाहरु उब्जिएका छन् । राजनीतिक दलहरु केको आधारमा बन्छन् ? 

विचार सिद्धान्त वा लोकप्रियतावादमा ? प्रश्न पेचिलो भएपनि पछिल्लो समय खुलेका दलहरुसंग विचारभन्दा पनि लोकप्रियतावादको चर्चा भने धेरै देखिन्छ । यस्तोमा दलीय रुपमा नयाँ पुरानाभन्दा पनि देशलाई नेतृत्व दिने गरि विचारको नेतृत्वसहित अघि बढ्न नसक्दा लोकप्रियतावादले अर्को संकट ल्याउनेमा भने शंका देखिन्न ।

देखिदैन आत्मालोचना

पुराना दलका शीर्ष नेताहरुमा जेनजी आन्दोलनलाई लिएर फरक–फरक धारणा आइरहेका छन् । उनीहरुले २३ गतेको आन्दोलन र त्यसपछि २४ गतेको आन्दोलनलाई हेर्ने दृष्टीकोण फरक बनाउनुपर्छ भनेपनि एमालेले भने यसलाई स्वीकार गरिसकेको देखिन्न । एमाले अहिले पनि नागरिक सरकारलाई टेररको सरकार भन्नेमै केन्द्रित देखिन्छ । 

ओली आफै प्रधानमन्त्री भएको बेला चलेको आन्दोलनलाई सहज अवतरण गराउन नसकेको, आन्दोलन हुनुको कारण खोज्नुको सट्टा उनी आफैले सक्रिय रुपमा विषयान्तर गर्न चाहेका छन् ।

यता, अन्य दलहरुले भने नागरिक सरकारले निर्वाचन गराउनुपर्ने भन्दै निर्वाचन केन्द्रित हुन अपिल गरेपनि शंकाहरु उनीहरुमा पनि देखिन्छ । तर, पुराना दलका शीर्ष तीन नेताहरु केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाले प्रधानमन्त्री पदलाई म्यूजिकल चियर जसरी घुमाउदाको परिणाम हो भन्ने स्वीकार गर्दै पुस्तान्तरणसहित नयाँ किसिमले जनतामा माग सम्बोधनमा ध्यान दिन नसक्ने हो भने उनीहरु पुनः पुरानै ढर्रामा फस्ने खतरा देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update