काठमाडौं । नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा छ । पार्टीको ११ औं महाधिवेशनबाट पुनः तेस्रो कार्यकालका लागि नेतृत्व हत्याउन विधान नै संशोधन गरेर अघि बढे पनि ईश्वर पोखरेल खुला प्रतिष्पर्धामा उत्रिएका छन् । यो अवस्थामा ओली र पोखरेल दुवै सिंगो प्यानलसहित नै प्रतिष्पर्धामा उत्रिने भएपछि आसन्न महाधिवेशन निकै रोचक बन्ने देखिएको छ ।
दुई प्यानलमा कसले के पद पाउने चासो बढिरहँदा ओलीकै समर्थन गरेका उपाध्यक्ष विष्णु पौडेलले एग्रज नेताहरुको पाँचौं महाधिवेशनमा खेलेको भूमिका स्मरण गर्नुले ओली समूहलाई नै तरंगित बनाएको छ ।
तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा महासचिव बनेका बिष्णु पौडेल नेकपा विभाजनपछि भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष बनेका थिए । ओली पक्षका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले महासचिव दाबी गरिरहँदा उपाध्यक्ष विष्णु पौडेलले आफू कुन पदमा जाने अन्योलमा छन् ।
एमालेको भदौमा गोदावरीमा भएको विधान महाधिवेशनले बरिष्ठ उपाध्यक्ष पद हटाएकोले पौडेल उपाध्यक्षमै दोहोरिनुको विकल्प देखिदैन । उनले अध्यक्षमा ओलीलाई समर्थन गर्ने र महासचिव नहुने स्पष्ट गरेका छन् । आफू महासचिव र उपाध्यक्ष भइसकेको अवस्थामा बरिष्ठ उपाध्यक्ष पद नहुदाँ कुन पदमा उम्मेद्वारी दिने भन्ने पौडेल दोधारमा छन् ।
आसन्न महाधिवेशनमा ओलीको निर्विल्प नुहने बताएका पौडेलले बुधबार काठमाडौंमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेल गम्भीर मुद्रामा देखिए । बरिष्ठ उपाध्यक्ष पद नै नरहेपछि अन्योलमा परेका पौडेलले पाँचौं महाधिवेशनमा भएको नेतृत्व चयन प्रक्रियाको स्मरण गर्दै अग्रजहरुलाई सम्झिएका छन् ।
के भएको थियो पाँचौं महाधिवेशनमा ?
एमालेको पाँचौ महाधिवेशनमा निर्वाचन हुने भनेपछि मनमोहन लगायतका अग्रज नेताहरुले मनोनयन दर्ता अस्वीकार गरेका थए । मनमोहनले मनोनयन दर्ता नगरेपछि मदन भण्डारीले पनि महासचिवमा उम्मेदवारी दिएका थिए ।
पौडेलले त्यही पाँचौ महाधिवेशनको प्रसंग स्मरण गरेका हुन् । त्यतिबेला मदन भण्डारीले पनि मनोनयन नगरेपछि हलबाट नै फेरी नेताहरुलाई छलफल गर्न समय दिएर नेतृत्व चयन भएको पौडेलले स्मरण गरे । यसको अर्थ पौडेलले आफुले पनि महाधिवेशनमा यहि विधान कायम रहेमा कुनै पनि पदमा मनोनयन नगर्नेतर्फ इंकित गरेका छन् ।
एमालेका जानकारवालाहरु पनि अहिले पार्टीमा इतिहास र विरासत बोकेका नेताहरु ईश्वर पोखरेललाई बोकेर अगाडि बढिरहेको बताउँछन् ।
पार्टीमा बिरासत र कम्युनिष्ट आन्दोलनको इतिहास बोकेका झलनाथ खनाल, बेदुराम भुषाल, राजेन्द्र पाण्डे, भिम रावल लगायतका अधिकांश नेताहरु माधव नेपालसंगै नेकपा एकीकृत समाजवादी हुँदै अहिले नेपाली कम्युनिष्ट पार्टीमा पुगेका छन् । भने घनश्याम भुषाल सहितका केही नेताहरु छुट्टै बाम समूह बनाएर अघि बढेका छन् ।
ओलीकै पक्षमा देखिएका पौडेलले पाँचौं महाधिवेशनको स्मरण गरेर पूर्व राष्ट्रपति विद्या भण्डारीसहित एमालेमा बाँकी रहेका सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण बिष्ट जस्ता नेताहरुलाई बाहिर राखेर पार्टी अगाडि बढ्न नसक्ने संकेत गरेको हुन सक्ने एमालेका जानकारवालाहरु बताउँछन् ।
विभाजनबाट क्षती ब्यहोरेको एमालेले शंकर पोखरेललाई महासचिवमा बनाएपछि संगठन कमजोरीका कारण थप क्षती ब्यहोर्नु परेको बहस पनि एमाले भित्र छ । महाधिवेशनमा सहमतिको पहल गरिने तर सर्वसहमति नभए निर्वाचन हुने ओली र इश्वर दुवै पक्षले बताइरहेका छन् । तर यी दुवै पक्षले अध्यक्षमा आफुलाई केन्द्रमा राखेर सहमति हुनुपर्ने भनिरहेका छन् ।
यस्तो अवस्थामा पनि पौडेलले मध्यमार्गी बाटो अपनाएर एमालेलाई निर्वाचन हुनेतर्फ भन्दा पनि सर्वसहमतिको बाटोमा लैजानु पर्ने भनिरहेका छन् । बुधबार सञ्चारकर्मीसंगको कुराकानीमा पनि पौडेलले सहमतिबाटै नेतृत्व टुङ्गो लाग्ने दाबी गरे ।
एकतर्फ पार्टी अध्यक्षमा ओलीलाई नै समर्थन गर्ने तथा अर्कोतर्फ आफू कुन पदमा उठ्ने अन्योल भएको बताएका पौडेलको सर्बसहमतिको प्रस्ताव अघि सार्दै पुराना नेताहरुलाई पनि समेट्नुपर्ने रणनीतिक चाल मान्न सकिन्छ ।
