News 24 Television
उज्यालो नेपाल पार्टीको आलोचनामा एमाले, कुलमानमाथि खनिँदै शंकर !

काठमाडौँ । कुलमान घिसिङको संरक्षकत्व रहेको उज्यालो पार्टी नेपालको घोषणा भइसकेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा दुई कार्यकाल काम गरेपछि राजनीतिमा होमिएका कुलमानले हालै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । उनी हालको अन्तरिम सरकारमा सामेल भएका कारण स्वार्थ बाझिने भएकाले पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहनेगरी कुलमानले पार्टी दर्ता गराएका हुन् । उक्त पार्टीको घोषणासभा बुधबार सम्पन्न भएको छ । यो पार्टी घोषणासभाको प्रमुख अथिति कुलमान घिसिङ नै थिए ।

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमन्त्रीसमेत रहेका कुलमान घिसिङले पार्टी घोषणासभालाई सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसकेमात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने दावी गरे । उनले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको उल्लेख गरेका छन् । 

तर कुलमान घिसिङको योजनामा दल स्थापना भएसँगै उनीमाथि केही प्रश्न र आलोचना भने बढ्दो छ । उनी सत्तामा रहँदारहँदै उनकै अवधारणामा दल खोलिँदा स्वार्थ बाझिने भन्दै कुलमानमाथि बाहिरी आलोचना बढेको देखिन्छ । 

कुलमानमाथि शंकरको चरणबद्ध हमला 

उज्यालो नेपाल पार्टी दर्ता भएपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले नै सबैभन्दा पहिले कुलमानमाथि नैतिकताको प्रश्न उठएका थिए । गत कात्तिकमा उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटि बैठकमा कुलमान सहभागी भएको भन्दै शंकरले उनको राजीनामा माग गरेका थिए । प्रधानमन्त्री सुशिला कार्कीले चुनावका लागि गैरदलिय सरकार बनाएको दाबी गरिएको तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको भन्दै कुलमानलाई मन्त्री पदमा राखिराख्नु उचित नहुने  पोखरेलले तर्क गरेका थिए ।  महासचिव पोखरेलले भनेका थिए, ‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासंग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?’

यस्तै बिहीबार मन्त्री कुलमान घिसिङ उज्याले नेपाल पार्टीको घोषणासभामा प्रमुख अथिति भएर गएपछि पनि शंकर पोखरेलले दोस्रो पटक कटाक्ष गरेका छन् । उनले सामाजिक संजालमै स्टाटस लेखेर उज्यालो नेपाल पार्टीसँगै कुलमानको आलोचना गरेका हुन् । पोखरेलले स्टाटसमार्फत लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एमालेले बनाएको तर कुलमान घिसिङले यसको जस पाएको र अहिले त्यही नाममा तेस्रो व्यक्तिले पार्टी खोलेको भनेर आलोचना गरेका छन् । उनले यसैप्रति संकेत गर्दै फेसबुकमा भनेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

यो आधारले पनि नेकपा एमाले नयाँ दल उज्यालो पार्टी नेपाल र कुलमान घिसिङको लगातार आलोचनामा उत्रिएको देखिन्छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री रहेका बेला कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको थियो । नेपालमा लोडसेडिङ हटाउन तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्रेय दिइँदै आएको छ । तर नेकपा एमाले भने आफूहरुले अबलम्बन गरेको नीति अनुसार मुलुकमा लोडसेडिङ हटेको दावी गर्दै आएको छ । कुलमान र एमालेको अहिलेको द्वन्द्वको प्रमुख कारण पनि यही नै हो । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update