News 24 Television
पुराना दल र जेनजीको तुष हटाउने प्रधानमन्त्रीको प्रयास

काठमाडौं । आगामी फागुन २१ गते का लागि तय गरिएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको तयारी तीब्र छ । राजनीतिक दलहरुले नै निर्वाचन नहुने आशंका ब्यक्त गरिरहँदा अहिले पनि निर्वाचन उन्मुख वातावरण बनेको छ । 

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको एमालेले समेत निर्वाचनका लागि दल दर्ता गरेर अघि बढेको छ भने अन्य दलहरु निर्वाचनको तयारीमा छन् । प्रधानमन्त्री सुशीला कार्कीले पनि राजनीतिक दलहरुसँगको भेटघाट र संवाद गरेर आफ्नो सक्रियता बढाइरहेकी छन् । 

जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको गैरराजनीतिक दलहरुको सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति तय गरे पनि ठूलो राजनीतिक दलहरु नै निर्वाचनप्रति विश्वस्त हुन सकेका थिएनन् । 

जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएको नेकपा एमालेले त संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गरि कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन नै घोषणा गर्यो । आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत पालिका र जिल्ला स्तरमा प्रदर्शनहरुसमेत गर्यो । तर तत्कालिन ओली सरकारको सहयात्री दल नेपाली कांग्रेसले निर्वाचनको विकल्प नभएको भन्दै निर्वाचनमा जाने निर्णय गरेपछि मात्रै एमाले हच्किएको हो । 

ओलीले दुई दुई पटक संसद विघटन गर्दा अदालतले संसद ब्यूताएको नजिरका कारण एमाले अझै पनि संसद पुर्नस्थापना हुनेमा आशावादी छ । तर अदालतको फैसला नआएको कारण एमालेले फागुनको निर्वाचनमा सहभागी हुन लागि दल दर्ता गरेर बाटो खुला राखेको हो । 

जेनजी आन्दोलनपछि संसद विघटनलाई संविधान विपरित भनेको नेपाली कांग्रेसले पछिल्लो राजनीतिक परिस्थितिकाबीच मधेस प्रदेशमा एमालेलाई साथ नदिएपछि परिस्थिति फरक ढंगले अघि बढेको छ ।  

राजनीतिक दलहरुको ‘आन्तरिक कोर्ष’ 

जेनजी आन्दोलनपछि पुराना भनिएका प्रमुख दलहरु निर्वाचनकै मुखमा महाधिवेशनको दौडाहामा छन् । भ्रष्टाचार अन्त्य र सुशासनको प्रमुख मुद्दामा अघि बढेको जेनजीको मात्र २ दिनको आन्दोलनले लोकतान्त्रिक गणतन्त्रको सच्चा पहरेदार भनिएका राजनीतिक दलहरु हायलकायल भए । 

कांग्रेसको साथले आफूलाई कसैले डग्मगाउन नसक्ने भन्दै मिशन ८४ को नारा लगाइरहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ज्यान जोगाउन प्रधानमन्त्री निवास बालुवाटरबाटै सेनाको हेलिकोप्टेर चढेर भाग्नुपर्ने अवस्था आयो । त्यसैले पुर्नगठन र रुपान्तरण जरुरी भएको पुराना राजनीतिक दलहरुको निश्कर्ष छ । एकता र ध्रुवीकरण गर्दै अघि बढेका उनीहरु पार्टी पुनर्गठनका लागि महाधिवेशनको बाटोमा छन् । 

पुराना रुपान्तरणतर्फ, नयाँ अवसरको खोजीमा 

जेनजी आन्दोलनपछिको नयाँ परिस्थितिमा ठूला साना तथा नयाँ पुराना सबै राजनीतिक दलहरुबीच ध्रुवीकरण पनि तीब्र छ । जेनजी आन्दोलनका अगुवादेखि विभिन्न दलहरुमा समाहित हुन थालिरहेका छन् भने विभिन्न समयका चर्चित अनुहारहरु नयाँ राजनीतिक अवसरको खोजीमा छन् । यहि मेसोमा आगामी निर्वाचनको जिम्मेवारीका साथ सुशीला क्याबिनेटमा रहेका कुलमान घिसिङ समेत राजनीतितर्फ अघि बढेका छन् । 

निर्वाचनबारे कांग्रेसको निर्णय र एमालेको दल दर्ता र पछिल्लो पटक नयाँ राजनीतिक दलहरुको सक्रियतापछि निर्वाचन उन्मुख वातावरण बनेको भन्दै सरकार हौसिएको छ । घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको प्रधानमन्त्री कार्कीको भनाई छ । 

जेनजी आन्दोलनले एकाएक चर्चामा आएका युवाहरु पनि विभिन्न दल तथा समूहमा बाँडिएका छन् । ती युवा शक्तिहरुलाई पनि राजनीतिक स्पेश दिँदै प्रधानमन्त्री कार्कीले दलहरुसँगको संवादमा सहभागी गराउने गरेकी छन् । तर पनि जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले पछिल्लो समय जेनजीलाई नै तिरस्कृत गरेको आरोप लागिरहेको छ । 

यहि बीचमा शुक्रबार प्रधानमन्त्री कार्कीले जेनजी अगुवा, राजनीतिक दलहरु लगायतसँग सर्वपक्षीय छलफल आह्वान गरेकी छन् । जसमा राजनीतिक दलहरुमा निर्वाचनका सन्दर्भमा रहेका केही तुषहरु हटाउने प्रयास हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update