News 24 Television
एमालेको कुन पदमा को आकांक्षी ? ‘ दुई किङ मेकर’ मौन

काठमाडौं । नेकपा एमालेमा महाधिवेशनको नजिकिदै जाँदा पदाधिकारीमा को को आउने भन्ने बिषयमा चर्काे हानथाप शुरु भएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि त्यसभन्दा तलको पदमा को को हुने भन्ने बिषयमा हानाथाप चर्काे देखिएको छ । महाधिवेशन प्रतिनिधि छनोटमै ओली पक्षले गडबडी गरेको भन्दै ईश्वर पोखरेल समूह असन्तुष्ट बनेको छ । 

गत भदौं २० देखि २३ गते सम्म भएको नेकपा एमालेको विधान महाधिवेशनले १९ पदाधिकारीको संख्यालाई घटाएर १५ कायम राख्यो । त्यस भन्दा अगाडिको व्यवस्थामा बरिष्ठ उपाध्यक्ष सहित ७ उपाध्यक्षको ब्यवस्था थियो । 

जसमध्ये अब ३ उपाध्यक्ष मात्रै कायम रहन्छ । यहि ब्यवस्थाका कारण बरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेललाई एक पद घटुवा हुनुपर्ने वा कुनै पनि पदमा नरहने बाध्यता भएको छ । एमालेमा अध्यक्ष ओली र पोखरेल आगामी महाधिवेशनका लागि अध्यक्षमा निर्वाचन लड्ने पक्का पक्कि नै छ । अध्यक्ष बाहेकका बाँकी १४ पदाधिकारीमा भने चर्काे रुपमा नेताहरुको दाबी देखिएको छ । 

३ उपाध्यक्षमा कति छन् दाबी  ? 

उपाध्यक्ष पदमा हालका उपाध्यक्ष रामबहादुर थापा बादल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गुरु बरालको दाबी छ । यो बाहेक महासचिवमा दाबी गर्ने नेताहरु महासचिव नभएको खण्डमा स्वतः उपाध्यक्षमा दाबी रहने देखिन्छ ।  

एक महासचिवमा कतिको दाबी ? 

अहिलेको महाधिवेशनमा सबै भन्दा बढी नेता व्यवस्थापन गर्न समस्या देखिएको पद हो महासचिव, उप–महासचिव र सचिव । महासचिव पदमा मात्रै आधा दर्जन नेताहरुको दाबी छ । महासचिवमा अहिले उप–महासचिव रहेका पृथ्वी सुब्बा गुरुङले आफ्नो उम्मेद्वारी रहेको घोषणा गरी नै सकेका छन् । गुरुङ बाहेक हालका महासचिव शंकर पोखरेल, उपाध्यक्ष रहेका सुरेन्द्र पाण्डे, उपमहासचिव रहेका प्रदिप ज्ञवाली, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराईको दाबी छ । यी मध्ये पाण्डे, विष्ट र भट्टराई पोखरेल समूहमा खुलेका छन् । 

उप महासचिवमा को को ? 

आगामी महाधिवेशनबाट ३ वटै उप–महासचिव पद कायम रहने छ । अहिले उपमहासचिव रहेका मध्ये अरु उप–महासचिवले महासचिव दाबी गरेता पनि बिष्णु रिमालले भने अहिलेसम्म दाबी गरेका छैनन् । 

अहिले सचिव रहेका पद्मा अर्याल, लेखराज भट्ट, छविलाल बिश्वकर्मा, रघुवीर महासेठ सहित स्थायी कमिटिबाट, शेरधन राई, कर्णबहादुर थापा, खगराज अधिकारी, किरण गुरुङ, शेरबहादुर तामाङ, भानुभक्त ढकाल र डा. राजन भट्टराई लगाएतका नेताहरुले उप महासचिव पदमा दाबी रहने आफू निकटका नेताहरुलाई बताएका छन् । अहिले स्थायी कमिटि सदस्य रहेका भट्टराईले आफू ओलीसँगको छलफलमै रहेको बताएका छन् ।  

७ सचिव पदमा झण्डै ४ दर्जन आकांक्षी  

एमालेको विधानले ७ वटा सचिव पद हुने व्यवस्था गरेको छ । तर ७ सचिवका लागि झण्डै ४ दर्जन आकांक्षी छन् । अहिले स्थायी कमिटिमा रहेकाहरु भीमप्रसाद आचार्य, रघुजी पन्त, कृष्ण गोपाल श्रेष्ठ, यामलाल कँडेल, अग्निप्रसाद खरेल, डा. विन्दा पाण्डे, गोरखबहादुर बोगटी, राजेन्द्र गौतम, थममाया थापा, हिक्मतकुमार कार्कीले सचिवमा दावी गरेका छन् । 

यस्तै, पोलिटब्यूरो सदस्यहरु आनन्दप्रसाद पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, बिशाल भट्टराई, खिमलाल भट्टराई, देवेन्द्र दाहाल, रामेश्वर फुयाल, ठाकुरप्रसाद गैरे, जुलीकुमारी महतो, पार्वत गुरुङ लगायतको दाबी पनि सचिवमै छ । 

यसैगरी, केन्द्रीय सदस्यहरु उषाकिरण तिम्सिना, माधव ढुङ्गेल, ऐन महर, झपटबहादुर रावल, नविना लामा, निरज आचार्य, पदम गिरी, पासाङ शेर्पा, बलराम अधिकारी, रमेशकुमार पौडेल, राजेन्द्रकुमार राई, विद्या भट्टराई, दामोदर भण्डारीको दाबी पनि सचिवमै छ । 

यसका साथै पदाधिकारीमा युवा पुस्ताको प्रतिनिधित्व हुने गरी एमाले प्रमुख सचेतक महेश बर्तौंला र सुनिता बरालका साथै विनोद ढकाललाई सचिव बनाउनु पर्ने एमाले भित्र क्याप्पेन चलिरहेको छ । यो त केन्द्रीय समितमा भएकाहरु मात्रै हुन् । 

यो बाहेक उपत्यका बिशेष कमिटि सहित ७ वटै प्रदेश कमिटि अध्यक्ष रहेकाहरुले पनि महाधिवेशनमा स्वतः सचिव पदमा दाबी गर्ने एमाले नेताहरु बताउँछन् । एमाले महाधिवेशनमा पदाधिकारी हुन चाहने अरु अधिकांश तीन कार्यकाल भन्दा बढी केन्द्रीय समितिमा बसेकाहरु छन् । उनीहरुले पुरा अनुहारलाई सम्मानजनक विदाई गरेर पदाधिकारी सहित नेतृत्वमा नयाँ अनुहार आउनु पर्ने बताइ रहेका छन् । जसलाई युवाहरुले जेनजी आन्दोलनको मागसमेत भनिरहेका छन् । 

खुलेका छैनन् ‘किङ्ग मेकर’ दुई विष्णु 

एमाले भित्र ओलीका ‘किङ्ग मेकर’ भनेर चिनिने एमाले उपाध्यक्ष बिष्णु पौडेल र उप–महासचिव रहेको बिष्णु रिमालले अझै कुन पदमा उम्मेद्वारी दिने खुलाएका छैनन् । उनीहरुले अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्ने जनाए पनि आफुहरु कुन पदमा उम्मेद्वार हुने भन्ने बिषयमा केही बोलेका छैनन् । यद्यपी विष्णु पौडेलले भने पार्टीको पाँचौ महाधिवेशनको स्मरण गरेर ओलीलाई झड्का दिइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update