News 24 Television
ओलीको एकलौटीमा ईश्वरको च्यालेन्ज, प्रतिनिधि चयनमा किन भयो हानामार ?

काठमाडौं । आगामी महाधिवेशनका एमालेले मंसिर १३ गते प्रतिनिधि चयन ग¥यो । तर, अझै पनि केहि जिल्ला र केही जनवर्गीय संगठनको प्रतिनिधि चयनको विषयलाई लिएर पार्टी भित्र विवाद भने कायमै छ । केही दिन अगाडि एमालेले गठन गरेको नेश्नल भोलियन्टियर्स फोर्सबाट प्रतिनिधि चयन हुदाँ एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट भने प्रतिनिधि चयन भएन । यसै बिषयमा बिहीबार एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगाएतका नेताहरुले एमाले अध्यक्ष केपी ओलीलाई नै भेटेर आपत्ति जनाएका छन् । 

मंसिर २७ देखि २९ गतेसम्मका लागि तय भएको नेकपा एमालेको ११ औं महाधिवेशनका लागि गत १३ गते देशभर प्रतिनिधि चयन गरिएको थियो । अधिकांश जिल्लामा प्रतिनिधि चयन भै सकेपनि धनुकुटा र ओखलढुङ्गामा भने विवाद कायमै छ । यसैगरी जनवर्गीय संगठनतर्फ लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा पनि प्रतिनिधि चयन गर्दा संस्थापन पक्षले मनलाग्दी गरेको भन्दै अर्काे समुह रुष्ट बनेको छ । 

शुक्रबार नेकपा एमालेको मुख्यालय च्यासलमा जनजाति महासंघका असन्तुष्ट पक्षले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीसंग महासंघ अध्यक्षले बिधि मिचेर प्रतिनिधि चयन गरेको भन्दै गुनासो गरिरहेका थिए । सोही बेला युवा संघका केहि नेताहरु उनीहरुले गुनासो राखेकै ठाउँमा पुगेर हात हालाहालकै स्थिती सिर्जना गरिदिए । तनावग्रस्त स्थिति बनेपछि महासंघकी सचिव मन्दिरा श्रेष्ठले दुखेसो पोखिन् । 

एमालेमा धनकुटा र ओखलढुङ्गाका प्रतिनिधि चयनको समेत विवाद छ । विवाद भएपछि संगठन विभागले ५ दिन भित्र पुनः निर्वाचन गरेर पठाउन भन्दै निर्देशन दिएको छ । तर, विभागले पुनः निर्वाचन गर्न भनेपनि निर्वाचन गर्नु पर्ने खालको विवाद नभएको धनकुटा एमालेका सचिव पर्शु नेपालले बताए । 

केही दिन अगाडि मात्रै गठन गरिएको नेश्नल भोलियन्टर्स् फोर्सबाट प्रतिनिधि चयन गरिएपनि ईश्वर पोखरेल प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट प्रतिनिधि चयन गर्नु पर्नेमा रोकिएको भन्दै प्रश्न उठाइएको छ । 

नीति तथा अनुसन्धान प्रतिष्ठानबाट प्रतिनिधि किन चयन नगरेको भन्ने प्रश्नमा एमाले संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले सचिवालयको निर्णय अनुसार प्रतिनिधि चयन भएको जवाफ दिए । 

बिहिबारको भेटमा ईश्वर पोखरेल पक्षीय नेताहरुले महाधिवेशनमा मनोनीत गर्ने भनिएको पाँच प्रतिशत प्रतिनिधिलाई मनोनिति गर्ने भए सचिवालयको बैठक डाकेर विधि बनाउनु पर्ने नत्र जिल्ला जिल्लाबाट प्रतिनिधि छानेर आइसकेको अवस्थामा भोट बढाउनका निम्ति मात्रै मनोनित गर्न आवश्यक नरहेको ओलीलाई जानकारी दिएको बताएका छन् । 

महाधिवेशनको मिति नजिकिदैं जाँदा समेत केहि जिल्लामा देखिएको विवादका कारण एमालेले छानिएका महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली सार्वजनिक गरी सकेको छैन । प्रतिनिधिहरुको नामावलि धेरै संकलन भै सकेपनि अन्तिम रुप दिन अझै केही दिन लाग्ने संगठन विभागका सचिव माधव ढुङ्गेल बताउँछन् । 

महाधिवेशनको समय नजिकिएसंगै एमालेको आन्तरिक विवाद चुलिन थालेको छ । अध्यक्षमा ओली र पोखरेलबीच प्रतिष्पर्धा हुने देखिएपनि अन्य पदाधिकारीमा ५० बढि आकांक्षी रहेका छन् । जसकारण १५ सदस्यीय पदाधिकारी बनाउने एमाले विधान  महाधिवेशनको निर्णयलाई समेत ओलीले संशोधनको प्रयास गर्ने शंकाहरु उब्जिएका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update