काठमाडौं । आगामी निर्वाचनका लागि राजनीतिक वातावरण सिर्जना गर्न प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक सम्पन्न गरेकी छन् । प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनलाई सम्पन्न गराउने र राष्ट्रियसभा निर्वाचनलाई समेत प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति बैठक डाकेकी हुन् ।
बैठकमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपाका नेताहरु सहभागी रहे । यो बैठकले निर्वाचनका निम्ति प्रमुख शक्तिहरुलाई थप सहज स्थिति बनाउने बाटो तय गर्ने विश्वास गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसहित निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका मन्त्रीहरु सहभागी भएका छन् । बैठकमा आगामी निर्वाचनलाई कसरी सम्पन्न गराउने र निष्पक्षतापूर्वक कार्य सम्पादन कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
राजनीतिक दलहरुले समेत निर्वाचनको तयारी गरिरहेको बेला नेकपा एमालेले निर्वाचन नहुने दाबी गर्दै आएको छ । एमालेले यस्तो दाबी गरेपनि सरकारले डाकेको बैठकमा पुगेर एमाले निर्वाचनको विरोधि नभएको भन्ने गरेको छ ।
यसरी हेर्दा प्रधानमन्त्री कार्कीले लिएको अग्रसरताले निर्वाचनतर्फ दलहरुलाई बाध्य पार्ने स्थिति बन्न थालेको चर्चा हुन थालेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकार भएका पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।
निर्वाचनका लागि आयोगले कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारीसहित कांग्रेसबाट महामन्त्री गगन थापा र नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरुको उपस्थिति रहेको छ भने सरकारको तर्फबाट छलफलमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल, अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिल सिन्हालगायत सहभागी भएका छन् ।
वालुवाटारमा सर्वपक्षीय चल्दा महाराजगञ्जमा ओली–देउवाको भेट
पूर्वप्रधानमन्त्री द्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रवार अपरान्ह महाराजगञ्जस्थित निवासमा पुगेर ओलीले देउवासँग भेटवार्ता गरेका हुन् ।
जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेट भएको थिएन । नेपाली कांग्रेस र नेकपा एमालेको तत्कालीन सरकार रहेका बेलामा जेनजी आन्दोलन भएको थियो ।
जसका कारण ओलीले सत्ता छाड्नु परेको थियो भने देउवाले मुखमै आउन लागेको सत्ता नेतृत्व गुमाउनु परेको थियो । ओलीले देउवालाई भेट्न पत्नी राधिका शाक्यलाई संगै लिएर पुगेका थिए भने देउवाले पनि पत्नी आरजु राणा देउवालाई साथमै राखेका देखिन्छन् । यसले एमालेले भन्दै आएको संसद पुनस्र्थापना र त्यसपछिको राजनीतिबारे समेत छलफल भएको हुनसक्ने दाबीहरु गरिएका छन् ।
