News 24 Television
मधेशमा नेकपाको शक्ति सभा ! गीत गाउँदै प्रचण्ड, एमालेप्रति कटाक्ष

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा मधेश पुगेको छ । शीर्ष नेताहरुले सम्बोधन गरिरहेको सभामा उनीहरुले आ–आफ्नै दाबी गरेका छन् । असली वामपन्थी आफुलाई दाबी गर्दै आएका नेताहरुले अन्य प्रदेशमा समेत हलचल आउने भन्न थालेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले मधेश प्रदेशमा एकता सन्देश सभा सम्पन्न गरेको छ । एकता सन्देश सभामा नेताहरुले जनताको साथ पाउने दाबी गर्दै आएका छन् भने उनीहरुले विभिन्न दाबी गर्दै निर्वाचन केन्द्रित बन्नुपर्नेमा जोड दिइरहेका छन् । मधेस पुगेका नेकपाका संयोजक प्रचण्डले सन्देशसभामै गीत गाउँदै जनतालाई प्रभावमा पार्न खोजेका थिए, भने प्रचण्डले मधेसबाट एमाले सत्ताबाहिर पुगेको भन्दै अब अन्य प्रदेशमा समेत यो देखिने दाबीसम्म गरे । 

यता, सह–संयोजक माधव नेपालले समाजवाद आउने भन्दै समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराशा छाएको जिकिर गरे । युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरुको अधिकारका लागि बोल्ने आफूहरु नै रहेको दाबी गर्दै नेपालले नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान पनि गरे । 

माधवसंगै सभालाई सम्बोधन गरेका नेता झलनाथ खनालले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शीरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको दाबी गरे । भ्रष्टाचारीहरुले देशलाई नराम्रोसँग डसिरहेको भन्दै त्यसको अन्त्य गर्ने समाजवाद नै एक मात्र विकल्प रहेको र देशमा रोजगारी सिर्जना नहुँदा ठूलो संख्यामा युवाहरु विदेश पलायन भइरहेको उनको भनाई छ । 

यता, नेकपाका नेता नारायणकाजी श्रेष्ठ पनि अबको भविष्यका लागि जनताले आफुहरुलाई साथ दिने विश्वास व्यक्त गरिरहेका छन् । 

तीन पूर्वप्रधानमन्त्रीहरुले गरेको सम्बोधनले मधेस प्रदेशको जनकपुरमा सर्वसाधारणहरुले ध्यानपूर्वक सभामा सहभागीता भने जनाएका थिए । यस्तै, मधेस प्रदेशमा भएको सन्देश सभामा वर्षौदेखि मिटरब्याजविरुद्ध आन्दोलन गर्दै आएका सन्तोष दाहाल ‘संघर्ष’सहितका नेताहरुले पार्टी प्रवेश गरे । प्रचण्डसहितका नेताहरुले धेरै युवाहरुलाई पार्टीमा भित्र्याएको बताएका छन् । एकता सन्देश सभा अब बागमती प्रदेशमा हुने कार्यक्रम तय भएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update