काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेको छ । संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपालले हस्ताक्षर गरेको अपानीमा निर्वाचनको तयारी, पार्टी एकताको पृष्ठभूमि र राजनीतिक विचारधाराबारे विस्तृत व्याख्या गरिएको छ भने जेनजी आन्दोलनलाई आत्मसाथ गर्ने संकल्प समेत गरिएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एकता र अन्य घटक, व्यक्ति, समूहलाई संयोजन गर्दै बनेको नेपाली कम्युनिस्ट पार्टीले अन्तरपार्टी निर्देशन (अपानी) जारी गरेको छ ।
पार्टी एकताको क्रममा नै एकताको राष्ट्रिय महाधिवेशन आगामी ६ महिनामा गर्ने भनेको नेकपाले अपानीमा पार्टी एकता किन आवश्यक प¥यो ?
कस्तो विचार अंगाल्ने जस्ता तमाम विषयमा सार्वजनिक रुपमा जानकारी दिएको छ । अपानीमार्फत देशभरका नेता कार्यकर्तालाई निर्देशित गरेको नेकपाले फागुन २१ को निर्वाचनमा जुट्न अपिल गर्दै जेनजी आन्दोलनलाई आत्मसाथ गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
२३ गतेको आन्दोलन शान्तिपूर्ण रहेपनि सकारले नरसंहार मच्चाएको आरोप लगाइएको अपानीमा २४ गतेको आन्दोलन भने स्वीकार गर्न नसकिने भनिएको छ ।
अपानीमा भनिएको छ, ’भदौ २३ गते शान्तिपूर्णरूपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रूपान्तरित हुन पुग्यो । भदौं २४ गते देशका प्रमुख ऐतिहासिक सम्पदाहरू सहित सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरूको निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यवसायहरूमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिक आक्रमण समेत गरियो ।
जुन नियोजित र योजनावद्ध थियो । त्यसका वावजूद जेनजी आन्दोलन वस्तुतः राजनीतिक दलहरूलाई खबरदारी, सुशासन, सामाजिक न्याय र अझ उन्नत लोकतन्त्रप्रति नयाँ पुस्ताको चाहना र आकांक्षाको अभिव्यक्ति थियो ।’ उसोतः जेनजी आन्दोलनको कारण भने एमाले नेतृत्वको सरकारको काम नै भएको ठहर नेकपाको छ ।
चुनावको तयारीमा जुट्न अपिल
अपानीमार्फत नेकपाले देशभरका सबै नेता कार्यकर्तालाई चुनावमा जुट्न अपिल गरेको छ । फागुन २१ का लागि तय भएको निर्वाचनलाई सफल पार्न सबै किसिमको तयारी गर्ने, प्रचारका कामलाई तीव्र पार्ने, पार्टी कार्यालयलाई व्यवस्थित पार्दै पेरिसडाँडाबाट सबै काम सञ्चालन गर्ने अपानीमा उल्लेख गरिएको छ ।
छलफल, अन्तरक्रियादेखि विभिन्न काममा खटिन निर्देशन दिइएको अपानीले नेकपाको कार्यभार पुरा गर्ने समेत दाबी गरिएको छ । नेकपाले अपानीमा विभिन्न पार्टीसंगको एकता, एकता हुँदा भएका सहमतिदेखि विभिन्न कुरामा उल्लेख गर्दै माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्तको रुपमा लिने समेत भनेको छ । साथै, अहिले विभिन्न प्रदेशमा चलिरहेको एकता सन्देश सभाले समेत जागरण पैदा गर्ने अपानीमा भनिएको छ ।
