News 24 Television
गाउँमै डरलाग्दो तस्करी ! एकसाथ १६४ रुख गायव, मिलेमतोमा सबै चुप !

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट अवैध रूपमा कटान गरि गायब पारिएका एक सय ६४ रुखको अनुन्धान थालिएको छ ।  यहि मंसिर ११ गते विहीबार दिउँसो २ घण्टाको बीचमा रुख कटान गरेर चोरी भएका थिए । दिउँसै यति ठुलो परिमाणमा रुख तस्करी भएपछि तस्करको कनेक्शन कता–कता छ त्यसतर्फ अनुसन्धान केन्द्रित गरिएको छ । 

कञ्चनपुरमा दिउँसोकै समयमा त्यो पनि दुई घण्टाभित्रै एक सय ६४ वटा रुख तस्करले गायव बनाएसँगै यस क्षेत्रमा तस्करको जालो कतिसम्म बलियो रहेछ भन्ने प्रमाणित गरिदिएको छ । 

यतिमात्रै होइन, रुख तस्करीमा कसको कसको मिलेमतो छ भन्नेतर्फ अनुसन्धान तीव्र बनाइएको छ । यो घटना, कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनको हो । यहि मंसिर ११ गते दिउँसो २ बजेदेखि ४ बजे भित्रै जम्मा २ घण्टामा नै एक सय ६४ रुख गायव बनाइएको थियो । यस घटनामा अहिले अनुसन्धान तीव्र बनाइएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरले सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत खटाइ विस्तृत अनुसन्धान थालेको हो । अवैध रूपमा कटान गरिएका रुखहरूको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर, कञ्चनपुरले समेत अनुसन्धान अगाडि बढाएको जनाएको हो ।

अनुसन्धानको क्रममा अंधिकास रुखहरु गायब गरिएको र केही छुटफुट रुखहरु बनमा नै छोडेर गएको पाईएको छ ।तर गौरीघाट सामुदायिक वनले भने रुखहरू कटानको विषयमा चाल समेत नपाएको दाबी गरेको छ । रुखहरू कटान भएपश्चात मात्रै घटनाबारे जानकारी पाएको गौरीघाट सामुदायिक वनका अध्यक्ष कुमारी बोहरा बताउँछिन् । 

अनुसन्धानका क्रममा हाल १ सय ३० खयर, ३३ सिसम र एक कन्जुको गरि १६४ रुखका ठुटा फेला परेका छन् । मङ्सिर ११ गते दिउँसो २ देखि ४ बजेको बिचमा गौरीघाट सामुदायिक वन क्षेत्रबाट झन्डै ६०–७० जनाको समूहले अवैध रूपमा रुखहरू कटान गरेको भनिन्छ तर, रुखहरू कटान गरेको विषयमा नजिकै रहेको शव डिभिजन वन कार्यालय पिपरैयाले समेत कुनै चाल नपाएको जिकिर गरेको छ । 

कृष्णपुरमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा अध्ययनका लागि कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको छ । उक्त कलेज स्थापना गर्नका लागि अनुमानित १० बिगा जमिन आवश्यक पर्ने बताइएको छ । 

कोरियाली संस्थाले सुदूरपश्चिम र कणाली प्रदेशलाई मध्यनजर गर्दै यस क्षेत्रमा कलेज स्थापनाको काम अगाडि बढाउने अन्तिम तयारी थालेको जनाइएको छ । तर पालिकाको वडा नम्बर ७ मा भने हाल ४ बिगा जमिन मात्रै उपलब्ध रहेको छ । त्यसैले पनि यो काम मिलेमतोमै भएको आशंका पिपरैया सवडिभिजन कार्यालयका प्रमुख मोहनदत्त भट्टको छ । 

यता, कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष घुम्मन राना भने रुख कटानको विषयमा आफूलाई जानकारी समेत नभएको जिकिर गरिरहेका छन् । रुखहरु किन कसरी कटान गरिए अनुसन्धानबाट खुल्ने उनको भनाई छ । 

अहिले आशंका लागेका व्यक्तिलाई निगरानी गर्ने, पत्राचार गरी बयान लिने कार्य भइरहेको छ । सब डिभिजन वन कार्यालय वाणीका प्रमुख तथा अनुसन्धान अधिकृत भरत शाहका अनुसार पहिलो चरणको अनुसन्धान प्रक्रिया अगाडि बढेको छ ।

दिनदाहडै खुलेआम सयौं रुख तस्करी हुँदा पनि संरक्षकत्वमा रहेका कुनै पनि निकायले थाहै नपाउनु पूर्णरुपमा शंकास्पद छ । आपसी मिलेमतोविना यति ठुलो घटना २ घण्टामै हुनु कसैगरि समेत सम्भव देखिदैन । यो तस्करी मिलेमतोमै भएकाले सुष्म अनुसन्धान गरि तत्काल कारबाहीको दायरामा ल्याउन स्थानीयको माग छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update