News 24 Television
एमाले पदाधिकारीमा युवा आकांक्षी धेरै

काठमाडौं । नेकपा एमालेलेको महाधिवेशन नजिकिदैं गर्दा एमाले भित्र युवा पुस्ताहरु पनि यो पटकको महाधिवेशनमा पदाधिकारीमा आउनु पर्ने माग चर्काे स्वरमा उठिरहेको छ । 

पार्टीको नेतृत्वमा नै युवा हुनु पर्ने आवज मुलुक भित्र चर्काे स्वरमा उठिरहेको बेला पदाधिकारीमा युवाहरु जसरी पनि आउनु पर्ने माग एमाले भित्र चर्काे स्वरमा उठिरहेको छ । एमालेको पदाधिकारीमा समेट्नु पर्ने माग उठेका युवा र नयाँ अनुहारमा को को छन ? 

एमाले भित्र अहिले चर्काे स्वरमा पार्टी विद्यानमा रहेको सचिव पदमा युवाहरुलाई स्थान दिनु पर्ने माग चर्काे स्वरमा उठिरहेको छ । १० औं महाधिवेशनमा अध्यक्षमा भिम रावल र महासचिमा घनश्याम भुसालले प्रतिस्पर्धा गरेता पनि अरु पदमा सर्वसहमति भएको थियो । 

२०७१ सालमा पार्टीको ९ औं महाधिवेशन भएपछि नेकपा एकिकरण र फुटका कारण २०७८ सालमा मात्रै दशौं महाविधेशन भयो । यसले गर्दा पार्टी भित्रका सबै पदहरुमा पुस्तान्तरण र हस्तान्तरणको पाटो जाम हुनु पुग्यो । जेनजी आन्दोलनका कारण पनि पुस्तान्तरणको बहस झनै चर्किएको हो । ११ औं महाधिवेशनमा सचिव सहित पदाधिकारीमा ठूलो संख्यामा युवाहरु आकांक्षी देखिएका छन् । 

सचिवको चर्चामा रहेका नयाँ र युवा अनुहारमा को को ? 

१. ठाकुर गैरे 

२०६३ सालमा अनेरास्ववियुको अध्यक्ष बनेका ठाकुर गैरे पार्टी भित्र सबै भन्दा बढी पेलान्मा परेका नेता हुन् । संकटको बेलामा अनेरास्ववियुको नेतृत्व गरेका गैरे नेतृत्वमा हुदाँ अनेरास्ववियु मार्फत धेरै विद्यार्थीलाई पार्टी संग जोड्ने काम गरेका थिए । तर गैरेले अनेरास्ववियुको अध्यक्षपद हस्तान्तरण गरेपछि भने पार्टीमा गुटकै कारण सधैं पछि परिरहे । 

एमालेमा क्षमता हुदाँ हुँदै गुटगत राजनीति हावि हुँदा गैरे पछिका नेताहरुको बताउँछन् । पाल्पाका गैरेलाई सोमप्रसाद पाण्डे हुदाँसम्म कहिल्यै प्रतिनिधिसभाको टिकट पाएनन् । दुई पटक सम्म अन्तिम समयमा उनको टिकट खोसेर पाण्डे चुनाव लडेका थिए । एमालेमा आएको विभाजनपछि पाण्डे समाजवादीमा जाँदा गैरे एमालेमै रहे । 

२०७९  को निर्वाचनमा पाण्डे समाजवादीबाट निर्वाचन लडे भने गैरे एमालेबाट । पहिलोपटक मैदानमा उत्रीएका गैरे निर्वाचन जिते प्रतिनिधिसभा सदस्य बनेका थिए । तर दुई दुई पटक उनी भन्दा पार्टी राजनीतिमा जुनियर रहेका नेताहरुलाई मन्त्री बनाउँदा गैरेले भने अवसर पाएनन् । राजनीतिमा सोझो र युवा अनुहारलाई पदाधिकारीमा जसरी पनि ल्याउनु पर्ने भन्दै गैरेको पक्षमा अहिले पार्टी भित्र दबाब बढी रहेको छ । 

२. गोकुल बास्कोटा

एमाले भित्र हक्कि स्वभावका मानिने बास्कोटाले पछिल्लो समय पार्टी नेतृत्वको खुलेरै आलोचना गरिरहेका छन् । काभ्रेमा उनी एक अरु एक हुदाँ बस्कोटा एमाले भित्रै एक्लै भारी छन् । 

बास्कोटाले अहिलेको महाधिवेशनमा अध्यक्षमा नेतृत्व परिर्वतन गर्नु पर्ने भन्दै ईश्वर पोखरेलाई साथ दिईरहेका छन् । हक्कि स्वभावका बास्कोटालाई इश्वर पोखरेल समुहले जसरी पनि सचिव बनाउने भन्दै अगाडी बढेको छ । पत्रकारीता पछि एमालेको राजनीतिमा हाम फालेका बास्कोटाले पनि यसपटक आफ्नो सचिव पदमा दाबी रहने आफु निकटका नेताहरुलाई बताइसकेका छन् । 

३. महेश बस्नेत 

तत्कालिन माओवादी पार्टी शान्ति प्रक्रियामा आउँदा पनि देशभर वाइसीएलको दबदबा थियो । तर बस्नेत वाइसीएलसँग पनि डराएनन् । प्रतिरोधमै उत्रिए । 

त्यसपछि पार्टी भित्र चर्चामा आएका बस्नेत पछिल्लो समय पनि चर्चाकै शिखरमा छन् । खासगरी जेनजी आन्दोलनका कारण नेताहरु बाहिर निस्किन नसकेको बेला बस्नेतले जेनजीमाथि धाबा बोल्दै आफ्ना नेताहरुमाथि भौतिक रुपमा आक्रमण गरे त्यसको प्रतिकार हुने भन्दे अगाडी बढे ।

सेनाको सुरक्षामा रहेका ओलीलाई गुण्डुमा राख्नेदेखि नेश्नल भोलिन्टीयर्स् फोर्स गठन गर्न पार्टीमा भुमिका खेले । अहिले पनि ओलीलाई सुरक्षा दिने काममा बस्नेत अगाडि छन् । पार्टी भित्र यहि कारण बस्नेतलाई सचिव वा पदाधिकारीमा जसरी पनि समेट्नु पर्ने दबाब छ ।
 
४.पदम गिरी  

अनेरास्ववियुको उपाध्यक्ष सम्म पुगेका गिरी पर्वतबाट २०७४ साल र २०७९ सालमा गरि दुई पटक प्रतिनिधि सभामा निर्वाचित भए । गीरि २०७९ सालमा निर्वाचित भएपछि केही समय पार्टीको प्रमुख सचेतक रहे । 

त्यसपछि उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइयो । कानुन मन्त्रालयको जिम्मेवारी पाएपनि लामो समय उनले मन्त्रिका रुपमा काम गर्ने मौका भने पाएनन् । गीरिलाई गण्डकीको उदाँउदो नेताका रुपमा लिइन्छ । अहिले पार्टी अध्यक्ष ओलीको पक्षमा खुलेरै लागेका गिरी पनि सचिवको आकांक्षी छन् । 
 
५. माधव ढुङ्गेल

माधव ढुङ्गेल पनि अनेरास्ववियुका पुर्व अध्यक्ष हुन् । २०७४ सालमा ओली प्रधानमन्त्री भएका बेला ढुङ्गेललाई युवापरिषद्को उपाध्यक्षमा नियुत्ति भएका थिए । त्यसपछि ढुङ्गेल पार्टी काममै सक्रिय छन् । दुई पटक केन्द्रीय कमिटिमा बसिसकेका ढुङ्गेललाई पार्टीले उनी भन्दा पछाडिका विद्यार्थी आन्दोलनका नेताहरुलाई संसदीय फाँटको अवसर दिदाँ उनी बन्चित छन् । तथ्यांङ्क संकलनदेखि युवाहरुलाई परिचालन गर्न सफल मानिने ढुङ्गेललाई पनि पार्टीमा पदाधिकारी ल्याउनु पर्ने माग छ । 

६. ऐन महर

नेकपा विभाजन हुने बेलामा अनेरास्ववियुका संयोजकका रुपमा महर थिए । पार्टी भित्र ओलीलाई घेरा बन्दी गरिदाँ महर विद्यार्थी नेताहरुलाइ ओलीको पक्षमा जागरुक बनाउन देश दौडाहामा निस्केका थिए । गत निर्वाचनमा बझाङबाट महर प्रतिनिधिसभा निर्वाचन लडेका थिए । तर उनी एमाले फुटेर बनेको समाजवादीका उम्मेद्वार भानुभक्त जोशी संग करिब एक हजार मतले पराजित भएका थिए । 

बझाङमा एमालेबाट मन्त्री सांसद बनेका र विगतमा जिल्लाको नेतृत्व सम्हालिसकेका अधिकांश नेताहरुले एमाले छाडेर समाजवादी रोजेका थिए । यहिकारण बझाङमा एमालेले लज्जास्पद मत ल्याउने भन्दै खिस्सिटियूरी गरिएको थियो । तर महरले सम्मानजनक मत ल्याउँदै जिल्लामा पार्टी उठाउने काम गरे । 

महर अनेरास्ववियुको अध्यक्ष हुदाँ उनको केन्द्रीय कमिटिमा बसेर काम गरेका अधिकांश नेताहरु अहिले प्रतिनिधि चयन भएर आएका छन् । महरले पार्टीमा युवापुस्तालाई जिम्मेवारी दिनबाट पछि हट्न नहुने बताउँछन् । 

७.  महेश बर्तौला

कानुनका विद्यार्थी रहेका महेश बतौंला अनेरास्ववियुको उपाध्यक्ष सम्म पुगेका थिए । गएको निर्वाचनमा मकवानपुरमा बतौंला र नेकपा समाजवादीका नेता विरोध खतिवडा बिच प्रतिस्पर्धा भयो । 

विरोधलाई निर्वाचनमा पराजीत गराईपछि पार्टीले उनलाई सचेतकको जिम्मेवारी दिएको थियो । प्रमुख सचेतक रहेका पदम गीरिलाई मन्त्री बनाएपछि उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिईयो । 

प्रमुख सचेतक हुदाँ बतौंलाले गरेको समन्वयकारी भुमिकालाई लिएर पार्टी भित्रको नयाँ सुवास नेम्वाङ्ग भन्दै उनको चर्चा हुने गरेको छ । बतौंलालाई सचिव वा पदाधिकारीमा ल्याउँदा नेकपा एमालेमा युवाहरुले हेर्ने दृष्टिकोण नै फरक हुने भन्दै अहिले उनलाई सचिव बनाउन लबिङ्ग शुरु गरेका छन् । बतौंलाले पनि पार्टी र नेतृत्वले योग्य ठानेर जिम्मेवारी दिएमा पछि हट्ने बताएका छन् । 

८. झपडबहादुर रावल

पार्टीमा पुराना पुस्तालाई सम्मान दिंदै नयाँ अनुहारलाई पार्टीमा स्थान दिनु पर्ने भन्दै अहिले बहस छाडिरहेका अर्का नेताहुन् झपड बहादुर रावल । रावलले युवा पुस्तालाई लामो समय पार्टीको पदाधिकारीमा नलैजाँदा पार्टीमा जनताले चाहे जस्तो नयाँ अनुहारले स्थान नपाउने भन्दै उनले अहिले युवा पुस्तालाई समेट्नु पर्ने बहस छेडेर अगाडि बढी रहेका छन् । नेतृत्व परिर्वतनको पक्षमा रहेका रावल पनि सचिवमा दाबी गरेर अगाडि बढीरहेका छन् । 

यी अनुहार बाहेक पूर्व मन्त्री समेत रहेका दामोदर भण्डारी, भगवती न्यौपाने युवा संघका इन्चार्ज रहेका राजीव पहारी, नविना लामा, विष्णु रिजाल, निरज आचार्य, विद्या भट्टराई उषाकिरण तिम्सेना लगायतका नेताहरुले पनि सचिव पदमा दाबी गरेका छन् । उनीहरु पनि युवा पुस्तालाई पदाधिकारीमा समेट्नु पर्ने पक्षमा छन् । 

महाधिवेशनको मुखमै आइ पुग्दा ओलीलाई आफ्ना पक्षका नेताहरुलाई मिलाएर लैजान धौधौ भैरहेका बेला युवा अनुहार पनि पदाधिकारीमा समेटीनु पर्ने आवाज पार्टी भित्र बलियो बन्दै गएपछि अहिले टाउको दुखाइको बिषय बनेको छ । 

यता, इश्वर पोखरेल भने ओली संग असन्तुष्ट बनेकाहरुलाई मिलाएर निर्वाचनमा होमिने दाउमा छन् । अहिले जिल्ला जिल्लाबाट चुनिएर आएका प्रतिनिधिहरुमा पनि अधिकांश युवाहरु नै रहेका छन् । त्यस्सैले आगामी महाधिवेशनबाट पदाधिकारीमा युवाहरुको सशक्त उपस्थिति रहने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update