News 24 Television
विद्यार्थीबाट ‘आउट’ भएकाहरु पार्टी केन्द्रीय सदस्यको दाबेदार

काठमाडौं । नेकपा एमालेको मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा पदाधिकारीमा मात्रै होइन, केन्द्रीय सदस्यमा पनि युवाको उम्मेदवार बढी हुने देखिएको छ । वर्तमान कमिटीमा केन्द्रीय सदस्यहरु पदाधिकारीमा दावी गरिरहँदा जनवर्गीय संगठनमा रहेका युवाहरु पार्टी केन्द्रीय सदस्यमा आंकाक्षी छन् । जसले गर्दा एमालेको आगामी महाधिवेशन युवा भर्सेस पुराना पुस्ताको भिडन्त हुने देखिएको छ । 

महाधिवेशन प्रतिनिधि चयन गर्ने बेलामा नै एमालेले १६५ निर्वाचन क्षेत्रबाट नै अनिर्वाय युवा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गर्याे । एमालेको यहि व्यवस्थाकै कारण आगामी महाधिवेशनमा युवाहरुले केन्द्रीय कमिटिमा पुराना पुस्ताको बिरुद्ध उमेद्वारी दिने देखिएको छ । 

अर्थात् एमालेको आगामी महाधिवेशन युवा भर्सेश पुराना पुस्ताका नेताहरु हुने देखिएको छ । पटक पटक केन्द्रीय कमिटिमा बसेका पुराना अनुहारलाई सम्मानका साथ विदाई गरेर नयाँ अनुहारलाई पार्टीमा स्थान दिनुपर्ने भन्दै पार्टी भित्र दबाब बढाएका छन् । अहिलेको महाधिवेशनमा युवा संघका साथै विद्यार्थी संगठनबाट उमेर हदका कारण विदा लिएकाहरु र जनवर्गीय संगठनका रहेका युवाहरु पार्टी केन्द्रमा प्रतिष्पर्धामा उत्रिने भएका छन् ।  

केन्द्रीय सदस्यमा अगाडि बढेका युवा अनुहार हेरौं । 

१. सुहाङ नेम्वाङ

संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले अहिले केन्द्रीय समिति उम्मेद्वार हुने भन्दै अगाडि बढेका छन् । बुवाकै स्थानमा उम्मेद्वार बनेर सांसद जितेका नेम्बाङले केन्द्रीय सदस्य पदमा उम्मेद्वार हुन तयारी समेत शुरु गरीसकेका छन् । उनी इलाम २ बाट खुल्लाबाटै सर्वसहमत महाधिवेशन प्रतिनिधिमा चयन भएका थिए । 

२. प्रकाश पौडेल 

एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको २४ औं महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बनेर पराजित भएका प्रकाश पौडेल पनि एमालेको महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेद्वार हुने भएका छन् । 

अनेरास्ववियुको निर्वाचनमा संस्थापन पक्षले कडरीयालाई बोकेपछि पौडेल सात मतले पराजित भएका थिए । म्याग्दीबाट निर्वीरोध युवा प्रतिनिधि चुनिएर आएका पौडेलले केन्द्रीय सदस्य उम्मेद्वार दिने भन्दै तयारी थालिसकेका छन् । 

महाधिवेशनबाट एमालेले युवा पूस्तालाई अगाडि सारेर पार्टी परिर्वतन भएको सन्देश दिनु पर्ने आजको आवश्यकता भएको पौडेलको भनाइ छ । पदाधिकारीसहित केन्द्रीय कमिटीमा पनि युवाको प्रतिनिधित्व हुनुपर्ने उनको तर्क छ ।  

३. समिक बडाल 

अनेरास्ववियुको २३ औं महाधिवेशनमा अध्यक्ष बनेका समिक बडालले पनि अगामी महाधिवेशनमा केन्द्रीय सदस्य दाबी गरेका छन् । विद्यार्थी आन्दोलनको सफलता पूर्व नेतृत्व गरीसकेको भन्दै अहिलेको महाधिवेशनबाट पार्टीको राजनीतिमा सक्रिय हुनेगरी केन्द्रीय सदस्यमा उम्मेद्वार हुने बडालको भनाइ छ ।

जेनजी आन्दोलनपछि नयाँ तथा पुराना राजनीतिक दलहरुमा युवाले हस्तक्षेपकारी उपस्थिति जनाईरहेको सन्दर्भमा एमालेमा पनि केन्द्रीय कमिटिमा युवाहरु उम्मेद्वारी हुने उनको भनाइ छ । 

४. नारायण घर्ती 

अनेरास्ववियुका उपाध्यक्षबाट बिदा भएका नारायण घर्ती जाजरकोटका हुन् । जाजरकोटबाट खुल्लामा नै निर्विरोध प्रतिनिधि चयन भएर आएका घर्ती पनि यसपटक केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी हुने बताउँछन् । 
अनेरास्ववियुबाट उमेर हद लगाएर पार्टीको राजनीतिमा सक्रिय हुन पार्टीले नै गरेको आह्वानलाई मान्दै केन्द्रीय सदस्यमा स्वभाविक रुपमा आफ्नो उम्मेद्वारी हुने घर्तीको भनाइ छ । 

५. आरसी लामिछाने

अनेरास्ववियुको २३ औं महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका आरसी लामिछाने सम्पर्क समन्वय कमिटि मार्फत प्रतिनिधि चुनिएर आएका छन् । आफु भन्दा तल्लो तहका कमिटिमा रहेका नेताहरु पार्टीको केन्द्रीय सदस्य भइसकेको भन्दै लामिछानेले यसपटकको निर्वाचन आफ्नो उम्मेद्वारी हुने बताएका छन् । 

६. धर्म गिरी

प्युठान घर भएका धर्म गिरी युवा विद्यार्थी बिशेष जिल्ला कमिटिबाट प्रतिनिधि चयन भएका छन् । गिरीले पनि अनेरास्ववियुमा लागेको उमेर हदका कारण उपाध्यक्षबाटै हात धुनु पर्याे । अहिलेको महाधिवेशनमा चुनिएर आएका अधिकांश प्रतिनिधिहरुसंग आफुले संगै काम गरेको र उनीहरुले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन आग्रह गरेकोले केन्द्रीय सदस्यमा अघि बढ्ने गिरीको भनाइ छ । 

७. नरेश रोकाया

उमेर हदकै कारण अध्यक्षमा जित निश्चित हुदाँ हुँदै पनि अनेरास्ववियुको महासचिवबाटै विदा लिएका अर्का विद्यार्थी नेता हुन् नरेश रोकाया । रोकाया सानै उमेरबाटै विद्यार्थी आन्दोलनमा थिए । 

पोखरालाई बेस बनाएर अनेरास्ववियुको राजनीति गर्दा रोकायालाई तत्कालिन वाईसीएल र क्रान्तिकारीले मरणासन्न हुनेगरी पिटेका थिए । त्यसपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार गरिएको थियो । विद्यार्थी आन्दोलनका बेला आक्रमणमा परि शरिर भरि टाटैटाटा छन् । 

आन्दोलनको नेतृत्व गर्ने बेलामा संगठन भित्र उमेर हद लाग्यो । अहिले जिल्लाबाटै प्रतिनिधि चुनिएर आएका उनी केन्द्रीय सदस्यको स्वभाविक उम्मेद्वार रहेको बताउँछन् । 

८. अब्दुस मियाँ 

गोर्खामा प्रचण्ड संग चुनाव लढेका अब्दुस मियाँ अहिले नेकपा एमालेको विपद् ब्यवस्थापन विभागबाट प्रतिनिधि छन् । प्रचण्डसंग चुनाव लडेपछि पार्टी भित्र उनलाई सेलिबेट्रि उम्मेद्वारका रुपमा समेत लिइन्छ । एमालेमा जोडिएपछि विभागमा रहेर आफुलाई दिईएको जिम्मेवारी सफलतापुर्वक पालना गरेको दाबी गरेका मियाँ पनि केन्द्रीय सदस्य लड्ने तयारीमा छन् ।  

९. क्षितिज थेवे 

राष्ट्रिय युवा संघको अध्यक्ष हुदाँ नै क्षितिज थेवेले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा आफु उम्मेद्वार हुने र अध्यक्ष पद उपाध्यक्ष महाराज गुरुङलाई सुम्पिने भद्र सहमति गरेका थिए । 

सोही सहमति अनुसार आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने थेवेको तयारी छ ।  

१०. सुनिता डंगोल

काठमाडौं महानगरपालिकाको उप–प्रमुख रहेकी सुनिता डंङ्गोललाइ पनि आगामी केन्द्रीय सदस्यका रुपमा पार्टी भित्र चर्चा गर्ने गरीन्छ । तर डंगोल पनि हालसम्म प्रतिनिधि चयन भएकी छैनन् । 

डंगोललाई भने प्रतिनिधि मनोनित गरेर केन्द्रीय कमिटिमा राख्ने नेताहरु बताउँछन् । डंगोललाई एमाले विरोधी काठमाडौं महानगरका मेयर बालेनविरुद्ध लड्ने एमालेको खम्बा मानिएको छ । 

अघिल्लो महधिवेशनमा ओलीकै निगाहमा केन्द्रीय सदस्यहरु बनाएका थिए । डंगोल पनि सोही क्याटगोरीमा पर्ने देखिन्छ । एमालेमा युवा पुस्तालाई स्थान दिएरै आगामी महाधिवेशन सम्पन्न हुने सचिवका उम्मेद्धार रहेका खिमलाल भट्टराई बताउँछन् । 

यस भन्दा अगाडि एमालेको जिल्ला कमिटिमा करिब ६० प्रतिशत ४५ बर्ष भन्दा कम उमेर समुहका नेताहरुले नेतृत्व छन् । अहिलेको महाधिवेशनमा उनीहरु पनि केन्द्रीय सदस्यको उम्मेद्वार हुनेछन् । यसले गर्दा एमालेको आगामी महाधिवेशन युवा भर्सेज पुराना नेताहरु बीच हुने देखिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update