सिन्ध्ुापाल्चोक । सिन्धुपाल्चोकको चौतारामा निर्माणधीन मिनी रंगशाला २०७६ सालमा सुरु गरेर २०७९ सालभित्र पूरा हुने लक्ष्य राखिएको थियो । निर्माण कम्पनी र सरकार एक–अर्कामा दोषारोपण गर्दै चौतारा रंगशालाको काम वर्षौदेखि अलपत्र पारिरहँदा सबैभन्दा ठूलो प्रश्न अब खेलाडीहरूको भविष्यमा उब्जिएको छ ।
पछिल्लो समय कामले गती लिएको चौतारा मिनी रंगशालाको भुक्तानी एक वर्षदेखि रोकिएको छ । एक वर्षदेखिको झण्डै ३ करोड बराबरको भुक्तानी रोकिएपछि निर्माण कार्यक्रम प्रभावित हुने स्थानीयमा आशंका छ ।
लामो समयदेखि अधुरो बनेको चौतारा मिनी रंगशालाको निर्माण कार्य फेरि अघि बढेको भएपनि भुक्तानी नपाएपछि पुनः रोकिने स्थिति आएको निर्माण कम्पनीले जनाएको छ । २०७६ सालदेखि सुरु भएको रंगशालाको निर्माण कार्यको सुरुवाती ठेक्का सुनकोशी गिरी जेभी कन्स्ट्रक्सन सातदोबाटो, ललितपुरले पाएको थियो ।
तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा दुई पटक म्याद थपिएको भए पनि प्रगतिमा उल्लेख्य सुधार नदेखिएपछि मुख्य कम्पनी सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले २०८१ साल जेठ महिनादेखि काम ‘टेक ओभर’ गरेको हो । तर, मन्त्रीपरिषद्को १३ औं संशोधनपछि म्याद थप नहुँदा असोज महिनादेखि काम पुनः बन्द भएको थियो ।
पछि सार्वजनिक खरिद नियमावलीको १४औं संशोधनमार्फत विशेष व्यवस्था गरि म्याद थपेपछि पुनः काम अघि बढाइएको हो । तर गत वर्षदेखि हालसम्मको ३ करोड भुक्तानी नआएपछि काम अघि बढाउन नसक्ने अवस्थामा पुगेको ठेकेदार कम्पनीले जनाएको छ ।
चौतारा सदरमुकाममा निर्माणाधीन यो रंगशाला तेस्रो पटक म्याद थपेर अघि बढाइएका परियोजनामध्ये एक हो । अधुरो संरचना पूरा हुन केही समय लाग्ने भएपनि आवश्यक बजेट नआए परियोजना पुनः अनिश्चिततामा धकेलिन सक्ने स्थानीयमा चिन्ता बढिरहेको छ ।
बाँकी संरचनाहरू निर्धारित समयभित्र सम्पन्न गर्ने गरि खेल गतिविधि बनाउन सरकारले प्राथमिकता दिनुपर्ने जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगाल बताउछन् ।
छ हजार दर्शक क्षमताको प्यारापिटको बाहिरी निर्माण कार्य अन्तिम अवस्थामा छ । प्यारापिट भित्रको रङरोगन, कोठा निर्माण र विद्युत् जडान कार्यसमेत भइरहेको छ । अहिले निर्माणस्थलमा दैनिक ८० जना मजदुर खटिएका छन् । कुल ४१ करोड ६२ लाख २७ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यो रगंशालाको काम २०८३ असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने र खर्चको अख्तियारी आउना साथ भुक्तानी प्रक्रिया अघि बढ्ने सामाजिक विकास कार्यालयले जनाएको छ ।
अब रंगशालाको मैदान, लाइट, र पार्किङको काम बाँकीे छ । बागमती प्रदेश खेलकुद मन्त्रालयबाट आवश्यक स्वीकृति आउने प्रक्रिया अन्तिम चरणमा रहेको र केहीदिनभित्र अख्तियारी प्राप्त हुने अपेक्षा गरिएको छ । संघीयतापछि सुस्ताएको जिल्लाको सदरमुकाम चौतारा रंगशालासँगै चलायमान बन्ने स्थानीयको अपेक्षा छ ।
