News 24 Television
एमालेमा केपी–ईश्वरको सिङ्गो प्यानल भिड्ने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट केपी ओली तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्ने योजना विफल हुने निश्चित छ । 

बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार घोषणा गर्दै प्यानल घोषणाकै तयारीमा छन् । अझ ओलीविरुद्ध धावा बोल्दै पोखरेलले अवधारणापत्र नै केन्द्रीय कार्यालयमा बुझाएका छन् । ओलीको राजनीतिक प्रतिवेदनमा उक्त अवधारणा नमेटिएमा फरक दस्तावेज प्रस्तुत गर्ने चेतावनी पोखरेल समूहले दिइसकेको छ । पोखरेलले आफ्नो सिङ्गो प्यानल नै खडा गरेमा ओली पक्षको पनि सिङ्गो प्यानल बन्नेछ । यद्यपी पदाधिकारीमा नै चार दर्जन बढी आकांक्षी हुँदा प्यानल बनाउन दुवै पक्षलाई मुश्किल देखिएको छ । 

एमाले भित्र प्रतिनिधि देखि माथिल्लो कमिटिकै नेताहरु समेत केपी शर्मा ओली र इश्वर पोखरेल भन्दै धुव्रीकृत भइरहेका छन् । एक पक्षले अर्कोलाई कमजोर देखाउनुका साथै आरोप प्रत्यारोप नै लगाउन शुरु गरिसकेका छन् । 

ओली पक्ष भने अहिलेको संकटको अवस्थामा नेतृत्वमाथि प्रहार गलत भएको बताइरहेका छन् । पार्टीका पदाधिकारी तहकै नेताहरु विभाजित छन् । पदाधिकारीबाट केपी ओली तर्फ खुलेरै उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’, गुरु बराल खुलि सकेका छन् । ओली पक्षमै खुलेका अर्का उपाध्यक्ष बिष्णु पौडेल आफ्नो पोजिसन के हुने प्रतिक्षामा छन् । 

महासचिव शंकर पोखरेलसंगै उपमहासचिवहरु पृथ्वी सुब्बा गुरुङ, प्रदिप ज्ञवाली र विष्णु रिमाल ओली पक्षमा खुलेरै लागेका छन् । यद्यपी गुरुङ सर्वसम्मत नभएमा महासचिव लड्ने घोषणा गरिसकेका छन् । 

गोकर्ण बिष्ट र योगेश भट्टराई ईश्वर पक्षमा खुलेका छन् । उनीहरु पनि पोखरेल समुहबाट महासचिव लड्ने तयारीमा छन् । लेखराज भट्ट, पद्मा आर्याल र छविलाल विश्वकर्मा र रघुवीर महासेठ केपी ओली पक्षमा खुलेका छन् । 

निलम्बित सचिव टोपबहादुर रायमाझी भने भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा छन् । पदाधिकारी तहमै धुव्रीकृत हुँदा त्यसको असर स्थायी, पोलिटब्यूरो, केन्द्रीय हुँदै जिल्ला कमिटिसम्म नै पुगेको छ । ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन गर्ने भनिएता पनि नेताहरु देखिएको गुटगत प्रतिस्पर्धाका कारण आगामी महाधिवेशनमा सबै पदमा सर्वसम्मत नहुने निश्चित छ । 

ओली पक्षका नेताहरुले ईश्वर पक्षका नेता र इश्वर पक्षका नेताहरुले ओली पक्षलाई आरोप प्रत्यारोप गरिरहेका छन् । 

ईश्वर समूहले महाधिवेशनको सन्दर्भमा नियमित अन्तरसंवाद कार्यक्रम नै शुरु गरिसकेको छ । यो समूहले उक्त अन्तरसंवादमार्फत ओलीको आलोचना गरिरहेका छन् । 

मंगलबार आयोजित अन्तरसंवादमा उस्थित ईश्वर पक्षमा खुलेका महिला नेतृहरुले ओलीको चर्को आलोचना गरे । ओलीले नेतृत्वमा बसेर नेताहरुकै अपमान गर्ने देखि मनलाग्दी गरेर पार्टी चलाउने काम गरेको उनहरुले आरोप लगाए । 

ओली पक्षका नेताहरुले भने पोखरेल समुहलाई लक्षित गर्दै मुलुक र पार्टी माथि संकट परेका बेला पार्टी भित्रकै नेताहरुले अध्यक्षमाथि विभिन्न आरोप लगाउनु गलत हुने बताइरहेका छन् । 

मुलुकमा देखिएको राजनीतिक संकटको समाधान गर्नका लागि पनि ओलीलाई नेतृत्वमा ल्याउनु पर्ने उनीहरुको भनाइ छ । 

महाधिवेनमा पार्टी अध्यक्षमा दुई जना नेताहरुले मात्रै दाबी गरेता पनि त्यसभन्दा तलका पदाधिकारीमा दाबी गर्नेको संख्या ६० भन्दा बढी छ । यहि कारण महाधिवेशनको हलमा विधान संशोधन गरेर विद्यानमा व्यवस्था भएको तीन उपाध्यक्षलाई ५ र ७ सचिवलाई १० बनाउने तयारीमा पार्टी अध्यक्ष ओली लागेका छन् । आफ्नो स्वार्थ हेरेर पार्टीको विद्यान संशोधन गर्ने प्रस्ताव आएमा त्यसलाई महाधिवेशनको हलबाटै फेल बनाइने इश्वर पोखरेल पक्षका नेताहरुको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update